बागलुङ, २८ वैशाख-निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले सरकार विस्तार आचासंहिता विपरीत नभएको बताएका छन् । स्थानीय तह निर्वाचनको अवस्था बुझ्न बुधबार बाग्लुङ आईपगुेका पौडेलले यहाँ भएको अन्तरक्रियामा बोल्दै सरकार विस्तार हुँदा आचार संहिताको गम्भीर उल्लङ्घन नभएको बताएका हुन् । ‘सरकार गठन गर्दा आचार संहिता के भयो भन्दा पनि सरकारमा गएका मन्त्रीज्यूले आचारसंहिता उल्लङ्घन गर्नुहुन्छ की हुँदैन भन्ने आयोगले हेरिरहेको छ,’ उनले भने,‘२० वर्षपछि हुन लागेको ऐतिहाँसिक निर्वाचन साना तिना कारणले रोकिनु हुँदैन ।’ सरकार सञ्चालनका लागि खाली पदमा मन्त्री बनाउनु समस्या नभएको उनले बताए । ‘‘स्थानीय विकासमन्त्रीज्यूहरु बाहिरिएर खाली भएको ठाउँमा सरकार सञ्चालन गर्नुलाई ठूलो कुरा बनाउनु जरुरी छैन,’ उनले भने । पौडेलले निर्वाचन आयोगले आचार संहिता कार्यान्वयनमा कडाई गरिरहेको समेत बताए । ‘निर्वाचन आचार संहिता कार्यान्वयनमा आयोग कडाईका साथ लागेको छ,’ पौडेलले भने,‘अनुगमनकर्ताहरु जिल्ला जिल्लामा पुगिसक्नुभएको छ ।’ आचारसंहिता विपरीत कार्य गर्नेहरु विरुद्ध आयोग कडा रुपमा प्रस्तुत हुने समेत पौडेलले बताए । ‘आचार संहिता विरुद्ध कार्य गर्ने जो कोहीलाई पनि आयोगले कारबाही गर्छ,’ उनले भने,‘आचार संहिता विपरीत गतिविधि भएको थाहा भए हामीलाई खबर गर्नुस् ।’ निर्वाचनका लागि कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेको उनले बताए । ‘वैशाख ३१ गते निर्वाचन हुने मुलुकभरका ३४ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेका छन्,’ पौडेलले भने,‘निर्वाचनलाई शान्तिपूर्ण वाताबरणमा सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक छ । मुख्य निर्वाचन अधिकारी हिमलाल बेलबासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य र सञ्चालन जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले गरेका थिए ।
Previous Articleमानव अधिकार र निर्वाचन
Next Article सवै निर्वाचन केन्द्रमा मतदान टोली पुग्यो