बालकृष्ण सुवेदी
बागलुङ, २७ बैशाख – गलकोटमा प्रचलित साँस्कृतिक महत्वको घाटु नाँच पछिल्लो समय लोप हुँदै गएको छ । विशेषगरी गलकोटको पाण्डबखानीमा घाटु संरक्षणको प्रयास भएपनि नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । पाण्डबखानी र सिसाखानीका बुढापाकाहरु भने अझैपनि घाटु नाँच्दै आएपनि युवा पिंढीले त्यसको संरक्षणमा खासै चासो नदिएको बुढापाका बताउँछन् । श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाँच पाण्डबखानीमा मातातिर्थ औशीदेखि वैशाख पूर्णिमासम्म नाचिन्छ । वैशाख पूर्णिमाको अघिल्लो दिनदेखि समापन गरिने घाटु संरक्षण समिति पाण्डबखानीका अध्यक्ष गिरीप्रसाद घर्तीले बताए । गलकोट नगरपालिका १० पाण्डबखानीको काप्रे गाउँमा सबै गाउँले जम्मा भएर घाटु नाच्ने चलन बसालेपनि लोपहुने अवस्थामा पुगेको घर्तिको भनाई छ । गलकोटको पाण्डबखानीमा नाँचिने सति घाटु लोप भएमा स्थानीय संस्कृति पनि लोप हुने उनीहरुको चिन्ता छ । प्रत्येक वर्ष बैशाख पुर्णिमाको अबसरमा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले आयोजना गर्ने कार्यक्रममा समेत घाटु नाँच प्रर्दशन गरिनेमा क्रमश घटीरहेको हो । ‘पाण्डवखानीका केही बूढापाकाहरु मात्र घाटुको ज्ञान राख्छन्’ थापाले भने, ‘बुढापाका मरेपछि हराउने त होइन भन्ने चिन्ताले सधै पिरोल्छ ।’ नयाँ पुस्ताले यसको विँडो थामिदिए पुर्खाले चलाएको परम्परा र संस्कृति जोगिने स्थानीय गुरु थापाले बताए । अधिकांश मगर जातीको बसोबास रहेको पाण्डबखानीमा प्रचलित सती घाटुको उचित प्रचार प्रसार र संरक्षणमा ध्यान पु¥याउन सकिएमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने थापाको भनाई छ । पाण्डबखानीका घाटु गुरु गिरीप्रसाद थापाका अनुसार, १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आबश्यक संख्यामा छानिन्छ । उनीहरुलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरुको आँखा बन्द हुने घाटु गुरु थापाले बताए । यसलाई देवी चढेको मानिन्छ । कन्याहरुको आँखा बन्द नभएसम्म देवीहरुको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाँचको सुरुवात मंगल चरणबाट गरिन्छ । इष्टदेवीहरुको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ । तीन चार दिनदेखि तीन महिनासम्म नयाँ सिकारुले घाटुको नृत्यमा प्रशिक्षण लिनुपर्ने थापाले बताए । यो गोप्य रुपले गरिने उनको भनाई छ । मगर र गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । सतीघाटुमा
नाच्ने कन्याहरुमा देवी चढ्ने भएकाले उनीहरु नाच्ने क्रममा बेहोसी अवस्थामा हुन्छन् । यो अवस्थालाई कुुसुण्डा भनिन्छ । घाटु गीतको लय जो कसैलाई बुझ्न गाहे हुन्छ । गैरगुरुङ र मगर समुदायलाई यो बुझ्न कठिन छ । तर, मगर गुरुङ समुदायमा यो अमूल्य संस्कृति र निधिका रुपमा रहेको छ । घाटु एक वियोगान्त कथा भएकाले घाटुको अभिनयले वातावरणलाई पनि त्यस्तै बनाईदिन्छ ।
Previous Articleकुश्मा नगर उपप्रमुखमा एकल महिलाको भिडन्त
Next Article काँग्रेसको घरदैलो अभियान जारी