सन्तोष थापा
पर्वत, २७ बैशाख – स्थानीय तहको निर्वाचनमा पर्वतको कुश्मा नगरपालिकाको उप प्रमुख पदमा एकल महिला बीच प्रतिस्पर्धा हुने देखिएको छ । पर्वतको साविकका विभिन्न ११ गाविसलाई पुनःसंरचित गरी बनेको कुश्मा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट सिता काफ्ले लामिछाने र नेकपा एमालेबाट मुवा कुमारी शर्मा बीच प्रतिस्पर्धा हुने देखिएको हो । दुवै जना एकल महिला हुन् । लामिछानेका श्रीमान् डिल्ली लामिछाने नेपाली कांग्रेस पर्वतको सक्रिय राजनीतिमा रहेकै बेला ब्रेन ट्युमरका कारण गत बर्ष मृ्त्यु भएको थियो भने शर्माका श्रीमान् समेत सामाजिक सेवा र राजनीतिमा रहेकै बेला गत बर्ष विरामी परेर मृत्यु भएको थियो । अहिले प्रचारका क्रममा दुवै उपप्रमुख उम्मेदवारले आफु एकल महिला भएको पहिचान दिएर समवेदना बटुल्दै आएका छन् । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा आयोजित एक प्रचार सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लामिछानेले मन्तव्य व्यक्त गर्दै गर्दा अधिकांश उपस्थित सर्वसाधरणहरु भाव विह्वल भएका थिए । उनले आफ्नो व्यथा सँगै श्रीमान्को राजनीतिक जीवन बताइरहँदा सर्वसाधरणहरु भाबुक बनेको स्थानीय ढकबहादुर क्षेत्रीले बताए । त्यस्तै कुश्मा नगरपालिका १३ खौलालाकुँरीमा एमालेको तर्फकी उप प्रमुख उम्मेदवार शर्माले समेत राजनीतिक जीवनका व्यथाहरु सुनाउँदा खौलाबासीहरुले सहानुभुति प्रकट गरेका थिए । शर्माले श्रीमान् नहुँदाको पिडा र सामाजिक क्षेत्रमा एकल महिलाका रुपमा अघि बढ्दा देखिएका समस्या औल्याउँदा आँखामा आशु थाम्न नसकेको स्थानीय बृद्ध जोगमाया उपाध्यायले बताइन् । अन्य माओवादी केन्द्रकी उप प्रमुख पदकी उम्मेदवार तारा रिजाल लगायत फलेवास नगरपालिकाका उम्मेदवार र अन्य गाउँपालिका उम्मेदवारहरुले आफ्नै शैलीमा प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन् ।
Previous Articleवीर अस्पतालमा निःशुल्क मृगौला प्रत्यारोपन सुरु
Next Article लोपहुँदै घाटु नाँच