काठमाडौ, २७ बैशाख – सरकारको पूर्वघोषित कार्यक्रम अनुसार ‘वीर अस्पताल’ ले आजदेखि मृगौलाको निः शुुल्क प्रत्यारोपन सेवा सुरु गरेको छ । अस्पतालले सिन्धुपाल्चोक निवासी २७ वर्षीया रश्मिला श्रेष्ठको मृगौलाको निःशुल्क प्रत्यारोपन गरी यो सेवा सुरु गरेको हो । दुवै मृगौला फेल भएकी रश्मिलालाई उनकी दिदी ३१ वर्षीया लक्ष्मी श्रेष्ठले मृगौला दिएकी थिइन् । उनीहरु दुवैको अवस्था सन्तोषजनक रहेको अस्पतालले जनाएको छ । रश्मिला वीर अस्पतालकी नियमित सेवाग्राही हुन् । उनी पहिलेदेखि नै उपचारका लागि वीर अस्पताल आउने जाने गर्थिन् । उनलाई अस्पतालले मृगौलाको निःशुल्क डायलासिस सेवा समेत दिदै आएको थियो । उनी विगत १५ दिनदेखि अस्पतालमा भर्ना भएकी थिइन् । डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ नेतृत्वको टोलीले उनको मृगौलाको सफल प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण गर्ने टोलीमा डा. अनिल बराल, डा. रजनी हाडा, डा.राजेन्द्र, डा. शान्ता सापकोटा, डा.रविराम श्रेष्ठ, डा. विन्दु शाह लगायत रहेका थिए । टोलीलाई नर्सिङ्ग इन्चार्ज अञ्जना ज्ञवाली, मुना श्रेष्ठ, र निभा देवकोटा लगायतको नर्सिङ्ग टिमले सहयोग गरेको थियो । अस्पतालले निशुल्क मृगौलाको प्रत्यारोपनकै लागि दुई जनाको नाम सिफारिस गरेकोमा आज एकजनाको मात्र मृगौला प्रत्यारोपन गरिएको थियो । अर्का विरामीको आउदो हप्ता मृगौला प्रत्यारोपण गरिने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले ‘मृगौला प्रत्यारोपण सम्बन्धि निर्देशिका ०७४’ अन्तर्गत रहेर मृगौलाको निःशुल्क प्रत्यारोपण सुरु गरेको बताएका छन् । वैशाख १ गते देखि मृगौलोको निशुल्क प्रत्यारोपण गर्ने सरकारको योजना अनुसार नै वीरले आजदेखि मृगौलाको निशुल्क प्रत्यारोपण सुरु गरेको उनले बताए । भने,’मृगौलाको निशुल्क प्रत्यारोपण गर्ने सरकारको घोषणा अनुसार नै वीरले आजदेखि निःशुल्क प्रत्यारोपण सुरु गरेको हो । यसको लागि स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई चार लाख रुपैयाँ सहयोग गर्नुका साथै विरामीलाई थप १ लाख ५० हजार रुपैयाँ सहयोग दिनेछ’ । प्रत्यारोपण पश्चात्त विरामीलाई एक वर्षसम्म औषधी उपचारका लागि सरकारले थप १ लाख सहयोग गर्नेछ । मृगौला प्रत्यारोपणकै लागि अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिमा डा.राजेन्द्र कुमार अग्रवाल र टिका पनेरु सदस्य रहेका छन् । यस अघिसम्म अस्पतालले प्रत्येक हप्ताको मंगलबार मृगौलाको प्रत्यारोपण गर्दै आएको थियो । जस अन्तर्गत अस्पतालले हालसम्म १२५ जनाको मृगौलाको प्रत्यारोपण गरिसकेको छ ।
Previous Articleएमाले–माओवादी गठबन्धनको रायखोरमा आमसभा
Next Article कुश्मा नगर उपप्रमुखमा एकल महिलाको भिडन्त