म्याग्दी, २५ वैशाख- स्थानीय तहको निर्वाचन हुने दिन एक साता बाँकी रहँदा म्याग्दी जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाबकेन्द्रीत गाउँ अभिायनलाई तिब्रता दिएका छन् । यसैक्रममा आइतबार बेनी नगरपालिका र विभिन्न गाउँपालिकामा राजनीतिक दलहरुको कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले बेनी नगरपालिका–१० पात्लेखेतमा चुनाबी आमसभा सम्पन्न गरेको जानकारी दिएको छ । सभालाई सम्बोधन गर्दै मेयरका प्रत्यासी प्रमोद श्रेष्ठले बेनी नगरपालिकालाई रिङरोडका रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरु रहेको बताए । उनले नगरपालिकाको सबै वडामा पक्की सडक, पुल निर्माण, होटल स्थापना, अस्पताल सञ्चालनलगायतका विकासका पूर्वाधारहरु बनाउने आफ्नो योजनाहरु सुनाउँदै मतदाताहरुलाई भोट मागेका छन् ।सोही कार्यक्रममा राप्रपाबाट उपमेयरका प्रत्यासी सञ्जु थापा बरुवालले देशकै नमुना नगरपालिका बनाउने आफ्नो लक्ष्य र योजना रहेको हुँदा महिलाका समस्यालाई प्राथमिकता दिएर आफूले काम गर्ने बताउँदै मतदाताहरुलाई अमुल्य मत दिएर जिताउन अनुरोध गरेकी छिन् । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं भूपू राज्यमन्त्री भीमप्रसाद गौचन, एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख सुरत केसी र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले मन्तव्य राखेका थिए । वडाध्यक्षका प्रत्यासी कृष्णबहादुर मल्लको अध्यक्षता र समिर रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सदस्य डिपी शर्माले स्वागत गरेका थिए । एमालेको ओख्ले र वाखेतमा पनि चुनाबलक्षित कार्यक्रम सम्पन्न भएको छ । यसैगरी शनिबारै अन्नपूर्ण गाउँपालिकाको घराम्दी र हिस्तानमा पनि चुनाबी कार्यक्रम सम्पन्न भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमलाई एमालेका सचिवालय सदस्य सन्तोष रावल, गाउँपालिका प्रत्यासीद्वय नारायण पुन र दुर्गा पूर्जाले सम्बोधन गर्दै मत मागेका छन् ।त्यस्तै धौलागिरि गाउँपालिकाको धारापानीमा चुनाबी आमसभा सम्पन्न भएको छ । सभालाई एमालेका पोलिट व्युरो सदस्य थममाया थापा, गाउँपालिकाका उम्मेदवार थमसरा पुन, रेशम छन्त्याललगायतले सम्बोधन गरेको एमालेले जनाएको छ । त्यसैगरी एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाको प्रमुख आतिथ्यमा ओखरबोटमा चुनाबी कार्यक्रम सम्पन्न भएको बताइएको छ । जिल्लाको रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीमा आयोजित कार्यक्रममा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, युवा संघ म्याग्दीका अध्यक्ष प्रवीन शाही, गाउँपालिका उम्मेदवार खिम शाहीलगायतले मन्तव्य राखेका छन् ।यसैबीच बेनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा तालमेल गरेका नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि आइतबार संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बेनपा–४ वडाको सिङ्गा, सुर्केमेला, थामडाँडा, सोता र ठूलोखोलामा घरदैलो गरी तातोपानीमा चुनाबी सभा गरिएको ती पार्टीले जनाएका छन् । तातोपानीको चुनाबीसभामा बोल्दै नेपाली काँग्रेसको मेयर पदका उम्मेदवार हरिकुमार श्रेष्ठले नगरपालिकालाई सक्षम र आर्थिक रुपमा सम्पन्न बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले काँग्रेसकै नेतृत्वमा देशमा शान्ति र संविधान आएको बताउँदै आगामी चुनाबमा काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए । कार्यक्रममा माओवादी पार्टीको उपमेयरका उम्मेदवार ज्योती लामिछानेले बेनी नगरपालिको समग्र विकाससहित महिलाको उत्थान गर्ने आफ्नो योजना रहेको बताउँदै अमुल्य मत दिएर जिताउन मतदातालाई आग्रह गरेकी छिन् । कार्यक्रममा नेपाली काँग्रेस वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार मिनबहादुर बानियाँ र माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार भगवान खड्काले मन्तव्य राखेका थिए ।
Previous Articleपत्रकारीता दिवस र औचित्य
Next Article राष्ट्रिय पत्रकारीता दिवसमा दिप प्रज्वलन