गत बर्षदेखि नेपाल सरकारले पनि पत्रकारिता दिवश मनाउने अभियान शुरु गरेको छ । गोरखापत्र दैनिकको प्रकाशन शुरु भएको दिनको सम्झनामा यो दिवश मनाउन थालिएको हो । तर देशमा निर्वाचनको माहोलले यो बर्षको दिवश ओझेलमा परेको छ । यद्यपी सरकारी तहबाटै पत्रकारिता बारे चासो राखेर दिवश मनाउने अभियान थालिनु भने सकारात्मक हो ।
विशेषगरी पत्रकारिता क्षेत्र राज्यका सबै क्षेत्रबाट उपेक्षित थियो । पत्रकारहरुको व्यवसायिक विकासले केही विश्वास र राज्यको आँखा पनि सकारात्मक बन्न थालेको छ । केहीबर्ष देखि सूचनाको हक सम्बन्धी ऐन आएपछि आम जनतालाई पनि सूचना जान्न पाउने अधिकार प्राप्त भएको छ । राज्यले सबै लुकाउने सूचनाहरु उजागर भएर आउन थालेका छन् । सुशासन बढाउने काममा सूचनाको अधिकार प्रभावकारी भएको छ । संचारमाध्यमको महत्व बारेमा बुझाई सकारात्मक बन्दै गएकोले आम नागरिकले पनि सूचना माग्ने क्रम समेत बढेको छ । तर पनि अझै नेपालका संचारमाध्यम र पत्रकारको आर्थिक अवस्था सुधार हुन सकेको छैन । पत्रकारितामा लागेको भन्ने वित्तिकै उनीहरुको आर्थिक अवस्था कमजोर छ भन्ने बुझाई बनेको छ । पत्रकारितालाई विश्वसनीय र आम नागरिकको बनाउनका लागि सरकारी सूचनालाई सहज बनाउन जरुरी छ । किनकी अधिकांस सूचना लुकाउने प्रवृत्तिले सत्य र तथ्य नजिक नपुगीकनै संचारमाध्यममा समाचार संप्रेषण हुने गरेको थियो । यो क्रम अव विस्तारै परिपक्क वन्ने क्रममा छ । सूचना र तथ्यांक नपाएपछि अनुमानको भरमा लेख्ने चलन थियो । त्यो चलनले सूचना प्रभाव प्रभावकारी बन्न सकेको थिएन । सही सूचनाको अभावमा राज्य पारदर्शी र जवाफदेही बन्न पनि सकेको छैन । राज्यका हरेक निकाय, कर्मचारी र स्वयं पत्रकार पनि जवाफदेही बन्ने अवसरले मात्र सुशासन कायम हुन सक्छ । भ्रष्ट्राचारनै देश विकासको ठूलो शत्रु हो । विश्वका धेरै देशहरुको विकास क्रमलाई हेर्नेहो भने सुशासन र रोजगारीबाटै देशको आर्थिक विकास भएको देखिन्छ ।
नेपालमा पनि आर्थिक पारदर्शीता, कानूनी जटिलताको अन्त्य र सहज सूचनाको पहुँच विकास गर्न जरुरी छ । सही सूचना ल्याउने काममा पत्रकारिताको अग्रणी भूमिका हुन्छ । साथै आएका तथ्य सूचना उपर राज्य उत्तरदायी बन्ने बानी विकास गर्न पनि जरुरी छ । राज्य आम नागरिकको अधिकार र सुरक्षाका लागि जवाफदेही छ भन्ने सन्देश दिन सकेको खण्डमा मात्र राज्यप्रति नागरिकको विश्वास पनि बढेर जान्छ । पछिल्लो समय राज्यले यस बिषयमा मनन् गरेरै पत्रकारिता दिवश मनाउने अभियान थालेको छ । यो दिवश औपचारिक कार्यक्रम गरेर मनाउने काममा मात्र सिमित नहोस् । बरु हरेक बर्ष यो दिवशलाई पारदर्शीता र जवाफदेहीतामा फड्को मारेको उदाहरण दिने दिवशको रुपमा मनाउने अवसर मिलोस् । त्यसका लागि आम नागरिक, राजनीतिक दल, संचारकर्मी र राज्यका अगुवाहरुको ध्यान सही सूचना संप्रेषणमा केन्द्रीत हुन जरुरी छ ।
Previous Articleमाओवादीको राजनीति र अमिलो अंगुर
Next Article म्याग्दीका दलको चुनाव केन्द्रीत अभियान जारी