बागलुङ, २३ बैशाख – स्थानीय तहको निर्वाचनको लागि बागलुङका उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन स्थानमा चुनावी अभियानलाई तिब्रता दिएका छन् । चुनावी प्रचारका लागि एमाले सहितको संयुक्त बाम मोर्चा, बाम मोर्चा सहितको राप्रपा र नेपाली कांग्रेसले शुक्रबार पनि जिल्ला विभिन्न स्थानमा चुनावी प्रचार कार्यक्रम गरेका छन् ।
एमाले बानपाको चुनावी अभियान
स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा नेकपा एमाले बागलुङ नगरकमिटि, राष्ट्रिय जनमोर्चा र राप्रपाको संयुक्त आयोजनामा चुनावी प्रचारप्रसारलाई तिव्रता दिइएको छ । बागलुङ नगरभित्रका विभिन्न वडा तथा टोलहरुमा निर्वाचन लक्षित घरदैलो, कोणसभा तथा मतदाता भेटघाटलाई तिव्र रुपमा अगाडि बढाएको हो । घरदैलो अभियानको सुरुवात कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य मनकुमारी केसिले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा बाग्लुङका मतदाता नेकपा एमालेलाई मतदान गर्न उत्साहित भएको बताइन । उनले लामो समयदेखिको जनप्रतिनिविहीनताको अवस्था अन्त्य गर्दै देशमा विकासको गति लिनको लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेकोमा जोडदिइन । बानपा–१ रामरेखामा सरस्वती शर्मा संयोजकत्व, २ हुमा खड्का, ३ गुठीमा भिमा अधिकारीको संयोजकत्वमा वडा अध्यक्ष, सदस्यहरु सहितको टोली शुक्रवार घरदैलो अभियान सुरु गरेको हो । बानपाको मेयरपदका लागि नेकपा एमालेका जनक पौडेल, उपमयेरमा राप्रपाका सुरेन्द्र खड्का रहेका छन् । त्यस्तै बानपा १ मा वडा अध्यक्ष नेकपा एमालेका दुर्गा बहादुर सार्की, बानपा २ को वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट जीवन शर्मा र ३ को वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटा रहेकी छिन् ।
काँग्रेसको निर्वाचन परिचालन समिति
बागलुङ नगरपालिका १ रामरेखामा नेपाली काँग्रेसको चुनावी अभियान अन्तरर्गत निर्वाचन परिचालनका लागि विभीन्न उपसमितिहरु गठन गरेको छ । शुक्रबार भएको भेलाले महेन्द्र आचार्यको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन सचिवालय समिति गठन गरेको हो । वडा १ का सभापति तेजेन्द्र आचार्यको संयोजकत्वमा १ सय ५१ सदस्यीय चुनाव परिचालन समिति, विदुर शर्माको संयोजकत्वमा ९ सदस्यीय स्वयँसेवक परिचालन उपसमिति, अखिल बहादुर क्षेत्रीको संयोजकत्वमा ११ सदस्यीय आर्थिक परिचालन उपसमिति, कमला आचार्यको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरिएको तेजेन्द्र आचार्यले बताए । बानपा १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी गठबन्धन गरेका छन् । वडा अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश आचार्य र महिला दुई सदस्यमा काँग्रेसका कुमारी क्षेत्री र दलित महिला सदस्य सन्तकमारी सर्किनी, दुई खुला सदस्यमा माओवादी केन्द्रका डिलबहादुर सार्की र राष्ट्रिय जनमुक्ति पार्टीका हिराबहादुर थापा उम्मेदवार छन् ।
काँग्रेसका केन्द्रीय नेता आउँदै
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बागलुङको चुनावी अभियानमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन् । बागलुङका ४ नगरपालिका र ६ गाूउपालिकामा आफ्ना उम्मेदवारहरुलाई जिताउन केन्द्रिय सदस्य एवं पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगाएका नेता आउँदैछन् । काँग्रेसले जिल्लाका बिभिन्न स्थानमा गर्ने चुनावी आमसभामा उनीहरुले सम्बोधन गर्ने भएका हुन् । बैशाख २५ गते कुस्मिसेरा, २६ गते बुर्तिवाङ बजार, २७ गते गल्कोटको हटिया बजार र २८ गते बागलुङ बजारमा हुने सभामा नेताहरुले बोल्ने बताइएको हो । यसैगरी काठेखोला गाूउपालिकामा कांग्रेसले चुनावी प्रचारका लागि वडा नं. १ को कार्यालय स्थापना गरेको छ । कार्यालय स्थापनासँगै स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन मानबहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्य रहेको चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । वडा १ अध्यक्षका उम्मेदवार खड्क थापाकोे टोलीले घरदैलो गरिरहेको बताइएको छ ।