बागलुङ, २२ बैशाख – यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । उम्मेदवारी दर्ता पछि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ बागलुङमा क्रियाशिल राजनीति दले अभियान तिव्र बनाएका हुन् । नेपाली कांग्रेसले बागलुङ नगरपालिका सहित सबै स्थानीय तहमा घरदैलो अभियान शुरु गरेको जनाएको छ । अभियानका क्रममा काँगे्रसका केन्द्रिय सदस्य एवं सांसद रत्ना शेरचनले मुलुकको लोकतान्त्रिक आन्दोलनको अगुवा र हरेक संकटको समाधान गर्ने ऐतिहासिक पार्टी नै नेपाली काँग्रेस रहेको बताए । नेपाली काँग्रेस बागलुङ नगरपालिकाको चुनावी सभालाई बिहिबार बा.न.पा १३ पैयुँपाटामा सम्बोधन गर्दै शेरचनले काँग्रेसले नै राष्ट्रिय एकता र राष्ट्रियताको भावना सुदृढ पारी नेपाली समाजलाई सामन्ती सोच, संस्कार र शासनबाट मुक्त गराएको बताए । अहिलेको स्थानिय तहको निर्वाचनलाई नेपाली जनताको विकास र निकासका लागि काँग्रेसलाई बिजयी बनाउन आम कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर पदका उम्मेदवार बसन्त कुमार श्रेष्ठले समृद्ध बागलुङ निर्माण र गाउँ टोल विकास निकार र स्थायीत्वका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा काँग्रेसका निर्वतमान पार्टी सभापति एव सांसद प्रकाश शर्मा पौडेल, सांसद चम्पादेवी खड्का, बागलुङ नगरपालिकाका काँग्रेसका उपमेयरका उम्मेदवार शकुन्तला शर्मा, महासमिति सदस्य किरणराज पौडेल, कल्पना हमाल पाठक, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, नेपाल तरुणदलका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबु बा.न.पा. १३ का वडा अध्यक्षका उम्मेदवार नारायण शर्मा पौडेल, सदस्यका उम्मेदवारहरु भवानी प्रसाद रिजाल, एकनाथ रेग्मी, मिनाकुमारी रोका, लक्ष्मी सार्की लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस बा.न.पा. १३ का संयोजक चन्द्रबहादुर खत्रीको अध्यक्षता सचिव एकनाथ रिजालको संचालमा सम्पन्न भएको थियो । यसैगरी काँग्रेसको बानपा. १४ नारायणस्थानमा पनि चुनावी भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गदै काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले स्थानिय तहको विकासको लागि नेपाली काँग्रेसलाई विजयी गराउनुपर्ने बताए । कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेल, चम्पादेवी खड्का, बागलुङ नगरपालिकाका मेयर पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठ, उपमेयर पदका उम्मेदवार शकुन्तला शर्मा, महासमिति सदस्य किरणराज पौडेल, वडा नं. १४ का अध्यक्षका उम्मेदवार चक्रबहादुर खत्री, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सागर परियार लगायतले बोलेका थिए । कार्यक्रम वडाका उपसंयोजक र सदस्य पदका उम्मेदवार नारायण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
यस्तै राप्रपा र राष्ट्रिय जनमोर्चा सहित चुनावी तालमेल गरेको नेकपा एमालेले पनि घरदैलो अभियान र चुनावी सभा शुरु गरेको छ ।
चुनावी अभियानका क्रममा बिहिवार बनापा ५ मालिका र बानपा ४ को कुँडुलेमा घरदैलो अभियान तथा गाउ भेला सम्पन्न गरेको छ । गाउँ भेला तथा घरदैलो अभियानका क्रममा बागलुङ नगरपालिकाका मेयरका उमेद्वार जनक पौडेलले बागलुङ नगरको समग्र विकास तथा समृद्धिका लागि प्रष्ट खाका साथ चुनावी मैदानमा उत्रिएकाले एमाले नेतृत्वको टिमलाई बिजयी बनाउन आग्रह गरेका छन् । उनले मोटरवाटो कालोपत्रे, ढल निकास, पञ्चकोटलाई धार्मिक पर्यटकिय गन्तव्य स्थल बनाउन र गाउँमा बिद्यमान खानेपानिको समस्याको समाधान गर्न पहल गर्ने बताए । पौडेलले बानपा ४ कुडुलेमा हाल विद्यमान खानेपानिको समस्यालाई लिफ्ट आयोजना मार्फत समाधान गर्ने योजना आँफु सँग रहेको उद्घोष गरे । पौडेल नेतृत्वको प्यानलका उप–मेयरका उम्मेद्वार, पुर्व जिविस सभापति तथा राप्रपा जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले विकास निर्माणका साथै जनताको जिवनस्तर बृद्धि र समृद्ध नगरपालिका निर्माणका लागि आफ्नो समग्र प्यानललाई नै बिजयी बनाउन आग्रह गरे । बानपा ५ मालिकाका वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद सापकोटा र बानपा ४ का उम्मेदवार धुव्र केसीले आफूले आफ्नोे वडाको विकासमा कुनै कसुर नराख्ने बताए । भेटघाट तथा गाउँ सभामा पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, केन्द्रिय निर्वाचन आयोगका सदस्य ममतादेवी शर्मा लगायतले पनि बोलेका थिए ।
बडिगाडमा जनमोर्चाको चुनावी सभा
राष्ट्रिय जनमोर्चा बागलुङले विहिबार बडिगाड गाउँपालिकामा चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाको तर्फदेखि बडिगाड गाउँपालिका प्रमुखका उम्मेदवार भीमसेन वनले बडिगाड गाउँपालिकालाई नमुना गाउँ पालिका बनाउन सक्ने योजना आफु सँग रहेको बताउँदै गिलास चिन्हमा मतदान गरि राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउन आग्रह गरे । वनले सक्षम युवा नेतृत्वले मात्रै गाउँको मुहार परिवर्तन गर्न सक्ने भएकाले आँफुहरुको विजयले नै गाउँमा विकासको लहर छाउने बताए । कार्यक्रममा बडिगड गाऊँ पालिका वडा न. ४ का अध्यक्षका प्रत्यासी मेघबहादुर पाइजा, सदस्य पदका प्रत्यासी तारा पुनले मंतव्य व्यक्त गरेका थिए । राष्ट्रिय जनमोर्चा बडिगाड गाउँ पालिका रणसिहंकिटेनीका अध्यक्ष शेरबहादुर घर्तिको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन मिनबहादुर बोहोराले गर्नु भएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।
Previous Articleम्याग्दीमा क–कसले उम्मेदवारी फिर्ता लिए
Next Article २०७४ बैशाख २२ गते शुक्रबारको राशिफल