बागलुङ, २१ बैशाख – नेपाललाई भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ । चालु बर्ष भित्रै बागलुङ भित्रको सबै ट्रयाक खोली सक्ने लक्षले काम भैरहेको हो । बिनामारेको निरिङगे भीरको ट्रयाक खोलेपछि जेठ भित्रै जिल्लाको सबै खण्डमा सडक खुल्ने छ । झरी र चर्को घाम नभनीकनै काम गरिरहेकोले समयमै सक्ने तयारी भएको सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराइले बताए । सेनाले मालढुंगादेखि टाकुरी १३ किमी, टाकुरी देखि छिस्ती सम्म ८ गरी २१ किमी खण्डमा ट्रयाक खोल्ने काम गरिरहेको छ । पहिलो खण्ड अघिल्लो बर्षनै खुलेको हो भने दोश्रो खण्डमा यो बर्ष काम भैरहेको छ । गुल्मी तर्फको ट्रयाक सेनाले यस अघिनै खोली सकेको हो । पाल्पाको केही भागमा कोरिडोर आयोजनालेनै काम गरेको छ । गैडाकोट देखि बागलुङ दुइसय २५ र बागलुङ देखि कोरला १ सय ९० किमी सडक बनेपछि कुल चारसय ३५ किमी दुरीमा भारत र चीन जोड्ने सबैभन्दा छोटो दुरीको राजमार्ग बन्नेछ । सेनाले गरेको काम देखेर बिनामारे खण्डका उपभोक्ता र सरोकारवालाले खुसी व्यक्त गरेका छन् । ७९ बर्षका देविदत्त पौडेलले सडकले जीवनकै खुसी दिएको बताए । उनले कालीगण्डकी नदी किनारमा बस्दा जीवनभर पाएको दुःख अव गाडी चढेर सदरमुकाम जान पाएपछि हराएको महसुस गरेको बताए । साथै स्थानीयले केही जग्गा गएपनि व्यवसायिक तरकारी खेती गरेर, आम्दानीको श्रोत बढाउन सकिने बताए । ‘बिरामी पर्दा सजिलै अस्पताल पुग्न सकिने भयो’ जैमीनी १ का गोपाल पौडेलले भने, ‘जनप्रतिनिधिले ग्रामीण सडक मात्र खनेका थियौं, सेनाको सहयोगले कोरिडोर गाउँमा भित्राउन सकियो ।’ दुइ पटक सम्म गाविस अध्यक्ष भएका पौडेलको अगुवाईमा बिनामारेमा केही ग्रामीण सडक भने खुलेको थियो ।
कहाँ कसले काम गर्दैछ ?
बागलुङ, गुल्मी र पाल्पा खण्डमा सेनाले काम गरेको हो भने म्याग्दी र मुस्ताङ खण्डमा सडक डिभिजन कार्यालय बागलुङले काम गरेको छ । मुस्ताङ सम्म कम्तिमा ग्राभेल सडक बनाएर सहज पहुूच बढाउने योजना सरकारले राखेको छ । संसदको विकास समितिले पनि यो सडकलाई प्राथमिकतामा राखेको छ । यो खण्डको कागवेनी देखि कोरला सम्मको आधाभागमा डिपिआर बनाएर केही खण्डमा सेनालाईनै काम गर्न दिइएको छ भने तल्लो खण्डमा डिभिजनले काम थालेको हो । अघिल्ला बर्ष भने काम नभएर करोडौं रकम फ्रिज भएको थियो ।
उत्पादनको संभावना
कोरिडोर खुलेमा आसपासका १० लाख ३० हजार जनसंख्यामा बसाइसराइ कम हुने, एकलाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफूल लगाइ व्यवसाय गर्न सकिने, बार्षिक ४ लाख ४८ हजार मेट्रिकटन खाद्यान्न उत्पाद गर्न सकिने अनुमान कोरिडोर सरोकार समितिले गरेको छ । ‘बागलुङको बलेवा, बिनामारे, जैदी, छिस्तीका फाूट, गुल्मी, पाल्पा र छिमेकी पर्वतका समेत बस्तीले आफ्नो कृषि उपजलाइ नारायणगढ, गैडाकोट सम्म सहज विक्रिका लागि पठाउन सक्छन्’ बरिष्ठ कृषि विकास अधिकृत बिनोद हमालले भने, ‘कृषि विकासको ढोकाले धौलागिरीको आर्थिक समृद्धि पनि संभव छ ।’
धार्मिक पर्यटनको विकास
कोरिडोरले धौलागिरी सहित पाल्पा र गुल्मीका धार्मिक र ऐतिहासिक स्थानलाइ प्रवद्र्धनमा सहयोग पुग्नेछ । यो मार्गमा रिडी, रुद्रवेणी, सेतीवेणी, रानीघाट, राम्दी, मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, गुप्तेश्वर जस्ता धार्मिक स्थान पनि छन् । ‘कोरिडोरको सहयोगले उत्तर दक्षिण दु्रत सेवा दिने, भारतका धार्मिक पर्यटकलाइ सजिलै मुक्तिनाथ लैजान सकिने र चिनिया पर्यटकलाइ लुम्बिनी पठाउन सकिन्छ’ बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले भने, ‘संघ पनि यो अभियानको सफलताका लागि काम गर्नतयार छ ।’ हवाइ सेवाको पहुूच नभएका भारतीले सजिलै मुक्तिनाथ र अन्य धार्मिक स्थलको भ्रमण गर्न समेत कोरिडोर सहयोगी बन्नेछ ।
Previous Article५ वर्षभित्र नगरको आयस्रोत दोब्बर–पौडेल
Next Article रोजगारमूलक तालिममा युवतीहरु आकर्षित