बागलुङ, २१ बैशाख – रुद्रेपिपलकी गृहीणी पूर्णिमा बोसेलले शिप सिकेर व्यवसायिक बन्ने चाहना राखेको धेरै समय भयो । सोचेजस्तो अवसर नपाएर बसेको समयमा बागलुङ बजारमै तीन महिने केश ऋगारको तालिम खुलेको थाहा पाईन् ।
दुइसाता देखि दिउसोको समयमा तालिम सिक्न जान थालेकी छिन् । बानपा ३ की रोशनी शाक्यको गुञ्जना व्युटिपार्लरमा पुगेर सिकेको सिपलाई व्यवहारमा उतार्ने बोसेलको चाहना छ ।
‘गृहीणी भएर बसेकी छु, तर केही कमाई पनि हुने र व्यस्त पनि हुने पेशा चाहिएको थियो, यो तालिमबाट सफल हुने चाहना राखेकी छु’ उनको चाहनालाई जिल्लामा हालै खुलेको युवा परिषद अन्र्तगत युवा विकास समितिले पुरा गरिदिएको हो । बोसेल जस्तै तंग्रामकी शिलसिला विक, गुठीकै सपना रुचाल, बिनिता बोहोरा लगायतले पनि शाक्यसँग तालिम लिएका छन् । उनीहरु सबैलाई स्वरोजगारमूलक व्यवसाय संचालन गरेर बस्ने चाहना छ ।
‘युवाहरु विदेश पलायन नहुन्, कोही विदेशमा गए भनेपनि शिप नजानेको कारण बेरोजगार बन्न नपरोस् भन्ने उद्धेश्यले यो तालिम अयोजना गरिएको हो’समितिको कार्यालय प्रमुख कुश्मराज उपाध्यायले भने, ‘पहिलो पटक खुलेको कार्यालय भएकोले थोरै तालिम मात्र संचालन गर्न सकियो, आगामी दिनमा धेरै प्रकारका तालिम मार्फत रोजगारीको अवसरको खोजी गर्छौ ।’
यो तालिममा उच्च मावि तह र स्नातक अध्ययनरत युवतीहरु बढी छन् । उनीहरुलाई पढाइ पुरा गरेलगत्तै स्वरोजगारमूलक काम थाल्न सजिलो होस् भनेर यो तालिममा समावेश गरिएको उपाध्यायले बताए । तालिम पाएपछि सहभागिले व्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिईभिटीको ए लेवल र बी लेवलको शिप परिक्षण समेत गर्न पाउनेछन् । पास गरेका विद्यार्थीलाई दिइने प्रमाणपत्रपछि व्यवसाय संचालन गरेर बस्न पाउने अधिकार रहन्छ ।
समितिको कार्यालयले आगामी बर्षदेखि कम्तिमा १ निर्वाचन क्षेत्रका एकसय जना युवाहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम बनाउने बताइएको छ । ती युवाहरुले स्वदेशमै कुनै न कुनै रोजगारीका अवसर खोल्ने बनाउने लक्ष राखिएको छ । सिलाई, प्लम्बिङ, हाउस वायरिङ, कपाल काट्ने, मोवाईल मर्मत जस्ता तालिम गरेर बसेका युवालाई सरकारी र गैरसरकारी निकायले पनि रोजगारीका लागि माग गर्ने उपाध्यायले बताए ।
रोजगारीको अभावमा पछिल्लो समय बागलुङका सयौं युवाहरु विदेश पलायन भएका छन् । उनीहरुले बिदेशमा गएर पनि चाहेजस्तो रोजगारी पाएका छैनन् । बरु विभिन्न घटनामा परेर मृत्यु भएको, उपचार पाउन नसकेका जस्ता दर्दनाक घटनाको बारेमा समाचार आइरहन्छ । ‘युवालाई आफ्नै देशमा रोजगारीमा लगाउन सकेमा सामाजिक, राजनीतिक लगायतका क्रियाकलापमा पनि सहभागि बनाउन सकिन्छ’ उपाध्यायले भने, ‘युवा बस्दा श्रम र पैसा पनि स्वदेशमै रहन्छ ।’ रोजगारीका लागि अन्य संस्थाले पनि युवा लक्षित कार्यक्रम ल्याएमा बैदेशिक रोजगारीमा हरेक दिन जाने सयौं युवालाई रोक्न सकिने उनको विश्वास छ ।