बागलुङ, २१ बैशाख – बागलुङको काठेखोला गाउँपालिकामा नेकपा एमालेका उमेदवारहरुले प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन् । उमेदवारी दर्ता गरेको भोलीपल्ट बिहानैदेखि उमेदवारहरु टोल टोलमा कोणसभा, घरदैलो, भेटघाट लगायतका कार्यक्रम शुरु गरेका हुन् । गाउँपालिकामा अध्यक्षका उमेदवार अम्मरबहादुर थापा सहितको टोलीले वडा नं. १ पालाको करिनाबाट बुधवारदेखि चुनाव प्रचार अभियान थालेको छ । अध्यक्षका उमेदवार तथा नेकपा एमालेका जिल्ला सदस्य थापा, वडा नंं १ मा अध्यक्षका उमेदवार चन्द्रकला थापा तथा वडा सदस्यका उमेदवारहरु भीमबहादुर खड््का, भूमिराज खत्री, लक्ष्मी वि.क र हरिकला राना सहित एमाले केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, काठेखोला वडा नं. १ का अध्यक्ष गोविन्द खड्का लगायतको टोलीले घरदैलो गरेको हो । चुनावी अभियानका क्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष उमेदवार थापाले नेकपा एमालेले राष्ट्रियताको संरक्षण, देशको आर्थिक विकाससंगै सामाजिक र सांस्कृतिक रुपान्तरणका क्षेत्रमा गरेका कामहरुको मूल्यांकन गरेर एमालेलाई सहयोग गर्न आव्हान गरेका थिए । उनले देश विकासको स्पष्ट खाका सहित राजनीतिको केन्द्रविन्दुमा रहेको एमालेलाई जिताउन सकेमा मात्रै हाम्रो समाजमा आर्थिक विकास, सामाजिक रुपान्तरण संभव रहेको दावी गरेका थिए । काठेखोला वडा नम्बर १ का अध्यक्षका उमेदवार चन्द्रकला थापाले महिलाहरुलाई राज्यका हरेक तहमा अगाडि बढाउनका लागि एमालेको नेतृत्व आवश्यक रहेको भन्दै आफुहरुलाई जिताएमा समाजमा रहेका विकृति र विसंगतीको अन्त्यका साथै महिला मुक्तिका लागि अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यसैबीच एमालेले काठेखोला गाउँपालिकाका सबै वडाहरुमा भेटघाट, कोणसभा लगायतका कार्यक्रम गरेको छ । उमेदवारी दर्ता गराएर वडामा फर्किएका उमेदवारहरुले प्रचार अभियानका लागि योजना निर्माण गर्ने, भेला तथा अन्तरक्रिया लगायतका कार्यक्रमलाई तिब्रता दिएको वडा नं. ८ का उमेदवार चित्रकला छन्त्याल श्रीसले जानकारी दिए । राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल गरी निर्वाचनमा जुटेको एमालेले काठेखोला गाउँपालिकाका ८ वटै वडामा निर्वाचन प्रचार अभियानका लागि कार्ययोजना निर्माण गरेको छ । अभियान अन्तरगत २१ गते वडा नं. २ भीमापोखरा, २२ गते वडा नंं ६ बिहु, २३ गते वडा नंं ३ धम्जा र २४ गते वडा नं. ४ तंग्राममा अध्यक्ष र उपाध्यक्ष तथा सम्बन्धित वडाका उमेदवारहरु सहितको टोलीले घरदैलो, भेटघाट, कोणसभा, आमसभा लगायतका कार्यक्रम गर्ने तयारी गरेको छ । यस्तै बैशाख २५ गते वडा नं. ५ विहँु, २६ गते वडा नंं ७ रेश र २७ गते वडा नं. ८ लेखानीमा कार्यक्रम गरिने एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतमले बताए ।
Previous Articleसंघीयतामा कस्तो भू–संरक्षण र जलाधार व्यवस्थापन ?
Next Article पार्टीका झण्डा बनाउन भ्याइनभ्याई