अमृत सुवेदी
कास्की, १९ वैशाख – पोखरा महानगरपालिका पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने तीन वटा प्रदेश र देशकै सबैभन्दा ठुलो महानगरपालिका हो। कस्ता छन् सबैभन्दा ठूलो महानगरमा उम्मेदवारी दिएका मुख्य ५ पार्टीका प्रमुखहरुसँग पोखराको विकासका सपनाहरु ?
नेपाली कांग्रेस
पोखरा महानगरपालिका प्रमुखमा कांग्रेसको तर्फबाट टिकट पाएका उम्मेदवार रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले मनोनयन पत्र दर्ता गराएका छन्। कुँवर नेपाली मजदुर आन्दोलनलाई केन्द्रमा राखेर राजनीतिमा क्रियाशील छन् भने गुरुङ कांग्रेस राजनीतिमा लामो समय सक्रिय नरहे पनि सरल र लोकप्रिय छिन्।
गुरुङ सञ्चारकर्मी पनि हुन्। पार्टीको १० औं महाधिवेशनदेखि कुँवर लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्। २०३६ सालबाट प्यारामेडिकल आन्दोलनमा लागेका कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका सस्थापक केन्द्रीय सदस्य हुन्। अहिले उनी उक्त संस्थाको वरिष्ठ केन्द्रीय उपाध्यक्ष हुन्। उनी पार्टीको आमन्त्रित केन्द्रीय सदस्य भइसकेका छन्।समृद्ध पोखराको सपना
–रामजी कुँवर
तपाईंका चुनावी एजेन्डा कस्ता छन् ?
– पोखरा सम्भावनायुक्त सहर हो। यसलाई पर्यटन मात्र हैन शिक्षा र स्वास्थ्यको केन्द्र बनाउनमा मेरो जोड रहनेछ। पोखरा अब छिटै ३ पूर्वाधारका लागि अघि बढ्दैछ। पहिलो त पोखरा प्रादेशिक राजधानी बन्दैछ, दोस्रो कोराला नाकाले पोखरालाई जोड्ैछ र तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ। यी ३ पूर्वाधारले समग्र पोखरा विकासका ढोका हुन्। वर्षौदेखि उठाउँदै आएको बसपार्क, बाटोको सुधार लगायत धेरै काम हामीले गर्नुपर्ने छ। स्थानीयस्तरबाटै धारणा संकलन गरेर विकास कहाँबाट सुरु गर्ने मेरो योजना छ। समृद्ध पोखरा मेरो सपना हो, यसलाई म पूरा गरेरै छाड्छु।
तपाईंले जित्ने आधार के हो ?
– पोखरामा नेपाली कांग्रेसका इमेज निकै राम्रो छ। स्थानीय विकासको नारा लिएर पार्टीको निदेएशनमा म अघि बढेको छु। पोखरामै जन्मे हुर्केको भएकाले म यहाँको माटोसँग भिजेको छु। लोकल एजेन्डा लिएर म चुनावमा होमिएको छु। नेपालका हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको छ । यो नागरिकबीच छिपेको छैन। अब समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्छ । पोखराको मेयरका लागि पार्टीबाट आकांक्षी सबै साथीहरुले मलाई शुभकामना दिइसक्नु भएको छ। टिकट पाउने लाइनमा धेरै जना हुनुहुन्थ्यो, मैले टिकट पाएको छु, एकल रुपमा नभएर सबै साथीहरुको सहयोगबाट नै म अगाडि बढ्नेछु।
पोखरा उपमहानगर उपमेयरको अनुभव छ, कसरी प्रयोग गर्नुहुन्छ ?
हो, म पोखराको उपमेयर भइसकेको छु । अब मेयरमा पनि पक्कै आउनेछु। त्यतिबेला हामीले पोखरामा धेरै राम्रो काम थालेका थियौं। यहाँको विकासको लागि विदेशी दातृ निकायलाई भित्र्याउने काम त्यतिबेला भएको। एसियाली विकास बैंकको सहयोगले पोखरामा हामीले धेरै विकास गर्न सफल भएका थियौं । स्थानीय स्रोत साधनले मात्र यहाँको पूर्वाधार विकास सम्भव छैन । विदेशी लगानीले यहाँको सुन्दरतामा सुगन्ध थप्ने छ।
नेकपा एमाले
यस्तै नेकपा एमालेबाट मानबहादुर जिसीले मेयर र मञ्जु गुरुङले उममेयरमा मनोनयन दर्ता गराएका छन्। जिसी २०३७ सालदेखि एमाले राजनीतिमा संक्रीय छिन् भने मञ्जु पनि एमाले राजनीतिमा लामो समयदेखि सक्रिय छिन्। जिसी पार्टी कास्की जिल्ला इन्चार्ज तथा केन्द्रीय कमिटीका वैकल्पिक सदस्य हुन्। जिसी २ कार्यकाल साविकको कालिका गाविस अध्यक्ष भएका जिसी गाविस राष्ट्रिय महासंघको अध्यक्षसमेत भएका थिए। गाविस, इलाका, क्षेत्रीय, जिल्ला सचिव, अध्यक्ष हुँदै राजनीतिक गति बढाउँदै लगेका जिसी दोस्रो संविधान सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट सभासद्का उम्मेदवार थिए।
महानगरको अनुभूति दिन्छु
–मानबहादुरी जिसी
मेयरको टिकट त पाउनुभयो, के छन् त जित्ने एजेन्डा ?
नयाँ संविधानअनुसार स्थानीय सरकारलाई संस्थागत विकास गर्न गर्नुपर्ने चुनौती हाम्रो अगाडि छ। स्थानीय सरकार भएकाले यसलाई संस्थागत गर्ने र नागरिकलाई महानगरको अधिकार र दायित्व बुझाउन आवश्यक छ। पहिलेको स्थानीय निकाय अब स्थानीय सरकारको रुपमा आएको छ । नयाँ परिवेशमा नयाँ महानगरपालिका भएका कारणले महानगरवासीलाई त्यसको अनुभूति दिन जरुरी छ। एमालेको स्पष्ट योजना र स्रोत छ, म त्यसको कार्यान्वयन गर्ने पात्रमात्र हुँ। स्थानीय सरकारले जनताका आधारभूत आवश्यकतालाई पूरा गर्दै पोखरालाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर लाग्नेछौं । त्यहाँका सम्भावना र चुनौतीको पहिचान गर्न जरुरी छ। म त्यसमा सचेत र योजनागतरुपमै प्रस्तुत हुनेछु।
विकास निर्माणमा नयाँ र प्राथमिकताका एजेन्डा के हुनेछन् ?
महानगरका ३ मनोविज्ञान छन्। एउटा पोखरा पुरानो सहर भएकाले सहरी मनोविज्ञान, दोस्रो लेखनाथ नगरपालिकाबाट भर्खरै महानगर भएकाले लेखनाथको अर्को मनोविज्ञान छ। तेस्रो गाउँहरु पनि मिसिएकाले गाउँको अर्को मनोविज्ञान छ। यी तिनै कुरालाई जोड्दै सामूहिक अपनत्व जगाउँदै विकास निर्माणलाई जोड दिनुछ। गाउँ र सहरी बस्ती जोड्नु छ। सडक सञ्जालले जोड्दै अन्य विकासका प्राथमिकतालाई सबै ठाउँमा पु¥याउनु पर्नेछ। यो पर्यटकीय हब पनि भएकाले एकदुई दिन बस्ने पर्यटकलाई कसरी धेरैभन्दा धेरै दिन कसरी राख्न सकिन्छ भन्ने प्लानिङ गरेर जान जरुरी छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सहर हो यो यसलाई कसरी अगाडि बढाउने भन्ने सोचेर हामी बढ्छौं । अव्यवस्थित पार्किङ, अव्यवस्थित बाटोहरु छन् । यसलाई व्यवस्थित गर्नुछ। भित्री र बाहिरी रिङ रोड र लिंक रोडको आवश्यकता छ। फेवाताल, बेगनास ताल लगायत ९ तालको लिंकेज रोडहरु बनाउन जरुरी छ। स्वरोजगारको वातावरण बनाउनु छ।
जित्ने ग्यारेन्टी के छ त ?
विगतका नतिजाहरुलाई पनि हेर्दा एमालेलाई जित्न गारो छैन। अहिले पनि महानगरमा हामीलाई कुनै शंका छैन।
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रका मेयरका उम्मेदवार विश्वप्रकाश लामिछाने र उपमेयरमा गोमा लामिछानेले मनोनयन दर्ता गराएका छन् । लामिछाने पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष र पोखराका विकास प्रेमी हुन् भने ढकाल पोखरा बालबालिकाको क्षेत्र, हस्तकला व्यवसाय र पोखरा उद्योग वाणिज्य संघको सदस्य हुन् ।
पोखरेलीको सपना पूरा गर्नेछु
–विश्वप्रकाश लामिछाने
पहिलो मेरो एजेन्डा पोखरा महानगरपालिकाको भूमिकाको वर्गीकरण हो। वर्गीकरणको आधारमा म मास्टर पाल्न तयार गर्छु। जसमा दीर्घकालीन र अल्पकालीन योजना हुने छन्। अहिले हेर्ने हो भने हाम्रा सुन्दर खेतीयोग्य जमिन विनायोजना प्रयोग गरी हामीले अस्तव्यस्त बनाएका छौं। वर्गीकरणकै आधारमा खेती योग्य जमिन छुट्याउँछौं।
खेतीयोग्य जमिनमा आधुनिकीरण र यन्त्रीकरण गर्दै हामी औद्योगिकरण गर्छौ। त्यसपछि व्यवस्थित आवासतर्फ जमिन वर्गीकरण गर्ने छु। यो महानगरमा अन्तर्राष्ट्रिय स्तरको आवास निर्माण गर्ने योजना अघि बढाएर सिस्टमेटिक तरिकाले काम गर्ने छु। प्रदेश नम्बर ४ को केन्द्र भएको हुनाले अन्तर्राष्ट्रिय स्तरको भवन निर्माण गर्ने योजना बनाएर अघि बढ्ने छु।
पोखरालाई उत्कृष्ठ सहर बनाउन हामीले धेरै सपना देखेका छौं र म मेयर भएर यो सपना पूरा गर्ने छु । हाम्रा भिजन र योजनालाई पोखरेलीले स्वागत गरेका छन्। मैले मेयरमा जितें भने पोखराको विकासका लागि कुनै कमी, कमजोरी रहन दिने छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टी
चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयमा गीता गुरुङ र उपमेयरमा रमेश खत्रीले मनोनयन पत्र दर्ता गराएका छन्।
पोखरालाई उत्कृष्ट सहर बनाउँछौं
गीता गुरुङ
पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिन्छु। पोखराको सडक राम्रो बनाउने छु। अहिले पोखरामा आवश्यक परेको बसपार्क तत्काल बनाउने छु। पोखरामा रिङरोडको अवधारणलाई छिटो पूरा गर्छु। विश्वले चिनेको पर्यटकीय सहर पोखरालाई अझै सुन्दर बनाउने प्रयत्न गर्छु । पर्यटकका लागि आवश्यक पर्ने सबै कुरा पूरा गर्ने छु।
पार्टीको एजेन्डा अनुसार पोखरालाई स्मार्ट सिटीको रुपमा स्थापना गराउने छु । सबै क्षेत्रलाई समेटेर अघि बढ्ने छु। सबैको सल्लाह, सुझाव र साथ जुटाएर म पोखरालाई उत्कृष्ट सहर बनाउने छु। पोखराको विकासका निम्ति कुनै कमी, कमजोरी हुन दिने छैन्। यसपटक मेरो पार्टीले महिलाले गर्न सक्छन् भनेर मलाई अघि सारेको छ।
पोखरेली जनताको सहयोगले मैले जित्ने विश्वास छ। मैले जितें भने अहिलेसम्मका मेयरले पूरा गरेका जिम्मेवारीभन्दा अझ बढी जिम्मेवारी भएर लाग्ने छु। जसरी पार्टीले विश्वास गरेर मलाई अघि सारेको छ, त्यसै गरी पोखरेली जनताले मलाई मेयर बनाउने मलाई विश्वास छ।
संघीय समाजवादी फोरम-नयाँ शक्ति नेपाल
यस्तै चुनावी तालमेल गरेको संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालले मेयरमा संघीय समाजवादीका हुमबहादुर तमु र उपमेयरमा नयाँ शक्तिकी लक्ष्मी खतिलाई उठाएको छ ।
पोखराको पहिचानलाई जोगाउँदै विकास
–हुमबहादुर गुरुङ
हिजोदेखि विभेदमा पारेको क्षेत्र, लिंग र समुदायलाई सामूहिक रुपमा अघि ल्याउने छौं। सबैलाई समेटेर समृद्ध पोखरा बनाउने छौं। राज्य र यसलाई सञ्चालन गरेका पार्टीहरूले पोखराको विकासका निम्ति राम्रोसँग पहल गरेका छैनन्। हामी एक भएर पोखराको विकासमा लाग्ने छौं।
पोखराको पहिचानलाई कायम राख्दै संसारमा चिनाउन पहल गर्ने छौ। पोखरा धेरै अधिकारबाट बञ्चित भएको छ। जनताका अधिकारमात्र होइन, पोखराकै अधिकार लुटिएका बेला म मेयर भएँ भने त्यो अधिकार दिलाउने छु। पोखरामा आउने राम्रो योजना सफल हुन नदिने प्रवृत्तिलाई रोक्ने छु । अबको संघीयतामा पोखरालाई विकासमा अधिकार, पहुँचमा अधिकार, सहभागितामा अधिकार र हरेक ठाउँमा सबैको समान अधिकार दिलाउन पहल गर्ने छु।
समृद्ध पोखरा निर्माण गर्न सबैलाई मेरो पोखरा, राम्रो पोखरा भन्ने महसुस गराएर अघि बढ्ने छु। त्यतिमात्र होइन, पोखरालाई कल्चर सिटी र मोडल सिटीको रुपमा स्थापित गराउन पहल गर्ने छु। पोखरालाई व्यवस्थित सहरको रुपमा अघि बढाउन आवश्यक पर्ने हरेक कुरा निर्माण गर्न योजनावद्ध तरिकाले अघि बढ्ने छु।