पर्वत, १९ बैशाख – नेकपा (एमाले)को तर्फबाट पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा पार्टीका सुर्य ध्वजाबहाक उमेदवारको टुंगो लगाएको छ । नेकपा(एमाले)को ४ नम्बर प्रदेश कमिटीले कुस्मा र फलेबास नगरपालिका तथा पाँच वटै गाउँपालिकामा उमेदबार टुंगो लगाएको हो । एमालेबाट कुस्मा नगरपालिकामा मेयर पदमा मेघनाथ सुबेदी र उपमेयर पदमा मुगा पोखरेललाई उमेदवार बनाएको छ भने फलेबास नगरपालिकामा पदमपाणी शर्मा मेयर र मञ्जु अधिकारीलाई उपमेयर बनाउने निर्णय गरेको छ । यस्तै गरि जलजला गाउँपालिकामा अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा अनिता शर्मालाई उमेदवार बनाएको छ भने मोदी गाउँपालिकामा प्रेम पौडेल अध्यक्ष तथा सेती महतलाई उपाध्यक्षमा उमेदवार बनाएको छ । बिहादी गाउँपालिकामा अध्यक्षम कमल भुसाल र उपाध्यक्षमा डम्बरकुमारी गुरुङ्ग उमेदवार भएका छन । पैंयु गाउँपालिकामा भने यस अघि गाउँपालिका संगठन कमिटीले मित्रलाल बस्यालको नाम मात्रै पठाएपनि प्रदेश कमिटीले भने महेन्द्र श्रेष्ठ र बस्यालको बिचमा बिबाद टुंगो लगाउने जिम्मा दिएको छ । प्रदेश संयोजक किरण गुरुङ्गले बस्याल र श्रेष्ठ मध्ये एकलाई उमेदवार बनाउने छन उपाध्यक्षमा भने गोमताकुमारी शर्मा उम्मेदवार बन्ने लगभग पक्का भएको छ । उनको हकमा बिबाद नरहेको बताइएको छ । महासिला गाउँ पालिकामा यसअघि नै अध्यक्षमा राजु पौडेल र उपाध्यक्षमा हिरा थापा सर्वसम्मत भैसकेका छन । यसैगरी कुस्मा नगरपालिकाको वडा नं ६ मा रुद्र गिरी अध्यक्ष, वडा नं ११ पिपलटारीमा अम्मर बिक(सुजन), वडा नं १२ मा राजेन्द्र पौडेललाई उमेदवार बनाउने निर्णय पनि जिल्ला कमिटीले गरेको छ । एमालेको तर्फबाट बाजुङ्गमा अध्यक्ष पदमा निर्णय गर्न बाँकी छ । यता पार्टीमा नगरपालिकामा मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष छनौटमा प्रदेश कमिटीले एकलौटी गरेको भन्दै असन्तुष्टि समेत देखिएको छ । जलजलामा उदय सुबेदी र मोदीमा भक्त कुवँर सशक्त दाबेदार भएपनि प्रदेशले एकलौटी गरेको गुनासो असन्तुष्टहरुको छ । बिबाद नै नभएको पैंयुमा समेत बिबाद खडा गर्ने काम प्रदेशले गरेको छ । यस्तै नेपाली कांग्रेसले पर्वतका स्थानिय तहमा आफ्ना उमेदवार छनौट गरेको छ । नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिले उमेदवारको अन्तिम रुप दिएको हो । नेपाली कांग्रेस स्रोतले दिएको जानकारी अनुसार कुस्मा नगरपालिकामा मेयरमा रामचन्द्र जोशी र उपमेयरमा सिता काफ्ले लामिछाने, फलेबास नगरपालिकाको मेयरमा गंगाधर तिवारी र उपमेयरमा राधा कुवँर क्षेत्री उमेदवार भएका छन । यस्तै जलजला गाउँपालिका प्रमुखमा राजु आचार्य र उपप्रमुखमा सिमा गर्बुजा पुन, मोदी गाउँपालिकाको प्रमुखमा बिश्वप्रकाश प्रसाई र उपप्रमुखमा मिना केसी, महासिला गाउँपालिकाको प्रमुखमा उज्ज्वल गुरुङ्ग र उपप्रमुखमा सृजना मल्ल, बिहादी गाउँपालिकाको प्रमुखमा प्रबिण गुरुङ्ग र उपप्रमुखमा बिण्णुमाया खड्का उमेदवार बनाएको छ । यसअघि नै पैंयु गाउँपालिका प्रमुखमा खगेन्द्र तिवारी र उपप्रमुखमा जसमति गुरुङ्ग उमेदवार बनिसकेका छन । नेपाली कांग्रेस केन्द्रले उमेदवारको टुंगो लगाएपनि आधिकारीक रुपमा जिल्लामा भने पठाएको छैन । केन्द्रले पत्र नपठाउँदा सम्म उमेदवारमा केही परिर्वतन हुन सक्ने बताइन्छ ।
नेकपा एमालेबाट म्याग्दीको मेयरको उम्मेदवार श्रेष्ठ
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । निर्वाचनमा सहभागि हुने उम्मेदवारको मनोनयन दर्ताको अघिल्लो दिन पार्टीले उम्मेदवारको टुंगो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुंगो लागेको पार्टीले जनाएको छ । नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी ३ जना प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हँुदै प्रदेश नम्बर ४ को कमिटीमा सिफारिस गरिएको थियो । प्रदेश कमिटीमा निकै प्रतिस्पर्धा मानिएका श्रेष्ठ र केसीको नाम अन्तिम चरणसम्म चर्चामा रहेपनि श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लागेको स्रोतको भनाई छ । मंगलबार उम्मेदवारको मनोनयन दर्ता हँुदैछ । यसैविच नेपाली कांग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुंगो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा रहेको बेनी नगरपालिका भित्र पुरुष ८ हजार ५०३, महिला ९ हजार ८४२ गरी कुल १८ हजार ३४५ जना मतदाता रहेका छन् ।