कृष्ण प्रसाद शर्मा
अहिले हुन गईरहेको चुनाव स्थानिय निकायको चुनाव मात्र नभई स्थानिय सरकारको चुनाव हो । गणतन्त्रको पहिलो फल भन्दैछन् यसलाई । फल अझै फाकेको छैन । सबै मिलेर फकाउँदैछन् । बिषादीमुक्त पाक्छ या बिषादीयुक्त हेर्दै जाउँ ।
ठूला मिडियालाई त्यति धेरै चुनाव लागेको देखिंदैन । च्याउ पत्रिकाहरूलाई खुव लागेको छ । चुनावको दुई हप्ता बाँकी छँदा सम्म ठूला दलहरूले देशका मुख्य मुख्य ठाउँमा उमेदवार तोक्न सकेका छैनन । कतै कतै उमेदवारका कारण पारिवारिक कहल आईपनि सकेको छ भने कुनै कुनै ठाउँमा सासु–बुहारी, लोग्ने–स्वास्नीको भिडन्तै समेत छ । अब चुनावका लागी पार्टिहरूले घोषणा गरेका घोषणापत्र तिर लागौ । नेपालमा घोषणापत्र हेरेर भोट हाल्नेको संख्या १ प्रतिशत पनि छैन । बा फलानो पार्टिको हो त्यही विरासत थाम्न छोरो लगोको देशमा थप कुरा के गरौं तर पनि अहिले चुनावलाई मध्येनजर गरेर पार्टिले निकालेका घोषणापत्र हेर्दा नेपाली राजनीतिमा कल्पना गर्न सक्ने शक्तिको धेरै बिकास भएको देखिन्छ ।
सपना देख्नु पर्छ । त्यही सपना देख्दा पनि कसैले देखे ठीक कसैले देखे बेठीक देख्ने हाम्रो दृष्टिकोण पनि बेठीक छ । हाल सम्म रा.प्र.पा, एमाले र काँग्रेसले घोषणापत्र जारी गरि सकेका छन् । सबैका घोषणापत्र धुलाएर पढ्नु भयो भने नेपाल समृद्ध देश बनाउने खाका बिश्वका कुनै पनि देशमा नहोला । अधिकांशका घोषणापत्रमा स्मार्ट सिटि छुटेको छैन ।
घोषणापत्रमा यति गुलिया बचन र वाक्य छन् । जुन पढ्दा लाग्छ हाम्रो सुखका दिन धेरै पर छैनन् अब । रा.प्र.पा.को घोषणापत्र हेर्दा लाग्यो यो कुनै अल्छीलाई जिम्मा दिए जस्तो । योजना अल्छी लाग्दा होईनन् कि लेखनमा अल्छी लाग्दो । यसमा शासकिय सुधार र मुलुकी ऐन अलिकति हुबहु सारेका छन् । राष्ट्रियता, प्रजातन्त्र र उदारबाद मुल मन्त्र भनिएको छ । राप्रपाले प्रजातन्त्रको रक्षा गर्ने दिन आयो अब । पृथ्वी नारायणशाहको जन्य जयन्ति मनाउने पनि भनिएको छ । लाग्छ पृथ्वी नारायण शाह राप्रपाका लागी जन्मेका थिए । पाठ्यक्रमा राष्ट्रियताका बिषय राख्ने समेत भनेको छ । राष्ट्रियताका बिषय के के हुन त्यो अमुक तर गुलियो कुरा हुन । हिन्दुत्वको रक्षा अब अरूले गर्ने कुरा भएन । यस पटक पनि पुन पहिले जस्तै बन्द हडताल नगर्ने भनेर पुन लेखिएको छ । आफु सरकारमा भएकै बेला भर्खर मात्र सडकमा पलेंटी कसेर बसेको कसले भुलेको होला र खोई । मृगौला पीडित र क्यान्सर पीडितलाई जनही एक लाख दिने कुरा पनि राखेको छ । तर नेपालमा मृगौला पीडितको संख्या कति छन् त्यो बुझौ पहिला । फ्री डाईलसिस शुरु भई सके पछि यो गुलियो शब्द नराखेकै राम्रो । बिपन्न शिशु र स्वमंसेविका भत्ताका कुरा गरिएको छ जुन संभव छैन किन कि नेपालमा बिपन्न वा गरीब कसलाई भन्ने यसको कुनै ठोस आधारै छैन । त्यसैले यो गरीब बन्न प्रेरित गर्न काम मात्रै हो । समग्रमा राप्रपाले मुलुकी ऐन, नेपालका केही कानुनको अधिकांश हरफ हालेको छ । यो ह्वाईट डकुमेण्टका कुरा के गरौ तर खुशीको कुरा कानुनका कुरा राख्नुले कानुन पालन गर्छु भनेको बुझिन्छ तर बन्द हडताल नगर्ने प्रतिवद्धता पटक–पटक गरेकोले यो सब आँखामा छारो मात्र होलान् । साथै नैतिक शिक्षाको कुरा पनि गरेका छन् । गणेश थापाको चलखेल भएको पार्टिमा नैतिक पाठ र शिक्षा दिएको अलि सुहाएको छैन तर यसको मतलब अरू पार्टिमा नैतिकबान छन् भनेको चाही पक्कै होईन ।
अब काँग्रेसको घोषणापत्रमा जाउँ । काँग्रेसको घोषणापत्रको भित्र पछि चर्चा गरौला पहिला खोलमा रेलको चित्र पक्कै देख्नु भए होला । पत्रकार केदार शर्माले खोल देखे पछि ट्वईट गरेका थिए हावामा कसरी चित्र बनाउने भनेर खोल नै पोस्ट गरेका थिए । माथी एक ठाउँमा भनि सकेको छु । सपनाका कुरा । यो सरकार फाल्नु अघि के.पी ओलीका सपना मध्ये एउटा रेल कुदाउनु पनि थियो । त्यो बेला जब उनले रेलको सपना बाँढे काँग्रेसका र नेवि सघंका केही मान्छेहरू कागजका रेल बनाएर रत्नर्पाकमा उनलाई हावादारी बनाउन कसिंदै थिए अहिले फेरी घोषणापत्रको खोलमा चुच्चो मुख परेको रेलको चित्र देख्दा घोषणापत्रलाई अलिकति लाज पनि लागे होला । यहाँ काँग्रेसले रेलको सपना देख्न नपाउने भन्ने आसय होईन तर यहि सपना अरूले देख्दा हावा भन्न हुने थिएन भन्ने भनाई मात्र हो ।
काँग्रेसको घोषणापत्र पढ्दा लाग्छ यिनिहरू पहिलो पटक सत्तामा पुग्दै छन् तर यो देशमा पटक पटक सत्तामा पुगेर काम गरेको पार्टिको घोषणापत्र र भिडियो प्रचार कुनै नयाँ शक्ति भन्दा कम छैन । काँग्रेसलाई जनताले धेरै पटक ठाउँ दिए तर निराशा धेरै दियो काँग्रेसले । घोषणापत्रमा भनिएको छ प्रत्येक वर्ष पाँच लाख युवालाई रोजगारी दिने । यति ठूलो पार्टिले वर्षमा ५ लाखलाई रोजगार दिन नसक्ने कुरा होईन दिन सक्ला तर काँग्रेसको निजिकरणले डुबेका करीब २ दर्जन कलकारखानाको जिम्मा कसले लिने ? विवेकशीलले कि साझा पार्टिले ? त्यसैले काँग्रेसले वैदेशिक रोजगारका कुरा गरेको हुनु पर्छ । प्लाई अभोर, टनलमार्ग र आकाशेपुलको निर्माण देखी मोनो रेलका कुरा पनि । सुन्दा धेरै नै आनन्द महसुस हुन्छ । “हामी भित्र म” भनेको एउटै घरमा ससुरा र ज्वाई मन्त्री हुने भनेको हो कि के ? युवा चुनौती कोष पनि भनेको छ जुन शुरुमा काँग्रेसले ल्याएको कार्यकर्ता पाल्ने सांसद बिकास कोष जस्तो त हुँदैन ? त्यस्तै रेमिट हाईड्रो, रेमिट पुवाककधार र रेमिट आवास यो सबै विदेशमा पढेका बौद्धिकले दिएका फ्रीका टिप्स मात्र हुन किनकि यो अहिलेको एउटा सिमाङकन र सामुहिक बस्ती निर्माण गर्न योजना नभएको शहरमा केवल नारा मात्रै हुन । त्यस्तै किसान क्लाब भनिएको छ । किसानले खोलेका अहिलेका दुग्ध बिकास सहकारी र उब्जाएका तरकारीले भाउ नपाएर राजमार्गका बीचमा पोखेर हिड्न पर्ने ठाउँमा क्लबका कुरा हावादारी नै हुन ,जसरी केही पहिला माओबादीले किसानलाई पेन्सन दिने घोषणा गरे जस्तै । शत प्रतिशत साक्षरता को अर्को नारा छ जसको कार्यावयन गरे पनि उमेदवार संधै लेप्चेलाई नै दिने भए पछि यो लेखेर काम छैन । एक वडा एक लाईब्रेरी भन्ने एउटा बुँदा राखिएको छ तर अहिले काँग्रेसमा केहि दर्जन व्यक्तिहरू बाहेक संचार माध्यममा गएर आफ्नो धारणा स्पष्ट राख्न सक्ने कोही छैन । गाउँ गाउँमा पाठ्यपुस्तक समयमा पु¥याउने काम पहिला राखौ त्यसपछि लाईब्रेरीका कुरा गरौला । एक घर एक रुख यो कुरा हाल सम्म कसको पालामा सबै भन्दा बढी बन फंडानी भएको छ त्यो हेरेर यो अमृत बचन राख्दा राम्रो हुने थियो । २५ वर्षमा गरेका काम भनेर दिएका फेरहिस्ता गरिएको एक पाना छ तर त्यहाँ नेपालमा हाल भएका सबै पुर्वाधार र काम काँग्रेसले गरेको राखिएको छ यो चोर नीति हो नकी घोषणापत्र । १० बर्षमा नेपाल भन्ने सपना अधिकांश मनोगत छन् त्यसका लागी नीतिगत कुरा कही कतै गरिएको छैन । काठमाडौं मधेश एक्सप्रेस हो अर्को नारा । मधेश केन्द्रित दलहरू मिलेर मधेश शब्दै फालि सकेर राष्ट्रिय जनता पार्टि भनि सकेको बेला मधेश रेल नभई तराई रेल राख्दा राम्रो होला ।
खास गरी राप्रपा र काँग्रेसको घोषणापत्र मध्ये काँग्रेसको घोषणापत्र अलि बढी गुणमय छ । हामीले सुगर फ्री घोषणापत्रको अपेक्षा गरेका थियौं । बस्तुगत विश्लेषण बिना यस्ता हावादारी घोषणाले जनतामा थप निराशा ल्याउँछ यदि यो पुरा गर्न सकिएन भने । अब अर्को अंकमा बामपन्थीको घोषणापत्रका बारेमा लेख्ने छु । पक्कै पनि बामपन्थीका घोषणापत्रमा गुणको मात्रा अझ अधिक नै हुन्छ होला । घाँटी हेरी हाड निलौं । घोषणापत्र देखावटी नबनाऊ ।। जय देश । जय सन्देश ।