स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर राजनैतिक दलले आ–आफ्ना घोषणा पत्र सार्वजानिक गरिरहेका छन । प्रमुख ठुलो पार्टी नेपाली काँग्रेसले आफ्नो घोषणा पत्र सार्वजानिक गरेको केही समयपछि दोस्रो ठूलो दल नेकपा एमालेले पनि सोमवार आफ्नो पार्टीको घोषणा पत्र सार्वजानिक गरेको छ । सत्तारुढ काँग्रेसलाई उछिन्दै एमालेले लोकप्रिय कार्यक्रम सहित स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजानिक गरेको छ । घोषणा पत्रमा दलहरुबीच सामाजिक सुरक्षा भत्ता बढाउने होड नै चलेको छ । कांग्रेसले सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गरेका थियो भने एमालेले त्यसलाई आफ्नो स्वामित्व लिदै ५ हजार पुराउने बाचा नै गरेको छ । सबै स्थानीय तहमा जेष्ठ नागरिक आवासगृह निर्माण गर्ने र त्यहाँ विश्राम, मनोरञ्जन र निःशुल्क आवासको सुविधा उपलब्ध गराउने एमालेले घोषणा गरेको छ । सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिने र कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी विदा दिने एमालेले घोषणा गरेको छ ।
अनिवार्य स्वास्थ्य बीमामा, हरेक गाउँपालिकाको केन्द्रमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैय्याका अस्पताल र प्रत्येक वडामा दक्ष नर्ससहितको प्रसुती केन्द्र स्थापना गर्ने, उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगहरूको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क गर्ने एमालेको दाबी छ । सामाजिक सुरक्षामा एमालेले विशेष महत्व दिएको छ । १० बर्ष्भित्र नेपालीको प्रति व्यक्ति आय ५००० डलरभन्दा बढी पुराउने महत्वकाक्षी घोषणा उसको छ । नेपाललाई पाँच वर्ष्भित्र नेपाललाई विकासशील र दस वर्षभित्र मध्यम आय भएका मुलुकहरूको तहमा स्तरोन्नत गर्ने एमालेको योजना छ । स्थानीय सरकार गठन भएको १ वर्ष्भित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने र गरिबीको रेखामुनि रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराउने दावी एमालेको छ । एमालेले आगामी १० वर्षमा थप १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सारेको छ । नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने एमालेले वताएको छ । त्यसका लागि ‘घर घरमा बिजुली–जनजनमा शेयर’को नारा लिएको एमालेले जलविद्युत परियोजनाहरूमा जनता र सरकारको संयुक्त लगानी गर्ने बताएको छ । आयोजनाहरूमा स्वदेश र प्रवासमा रहेका नेपाली तथा गैरआवासीय नेपालीलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न दिइनेछ ।
एमालेले सडक र रेल यातायातका क्षेत्रमा पनि महत्वकांक्षी योजना अघि सारेको छ । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि पनि अपनाइने छ । आधुनिक प्रविधिको प्रयोग गरी पाँच वर्षभित्र सबै राजमार्गको विस्तार गर्ने, काठमाडौं–तराई द्रूतमार्ग बनाउने र हुलाकी राजमार्ग निर्माण गर्ने एमालेले बताएको छ । पूर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, पाँच वर्षमा मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनको बनाउने र तराईका सबै जिल्लामा पूर्व पश्चिम राजमार्गदेखि नेपाल भारत सीमासम्म चार लेनका राजमार्ग बनाउने, हिमाली जिल्लाहरूका सदरमुकामदेखि नेपाल चीन सीमानासम्म न्यूनतम दुई लेनका सहायक राजमार्ग निर्माण गर्ने एमालेले भनेको छ । एमालेको घोषणापत्रमा पूर्व पश्चिम राजमार्ग र मध्यपहाडी राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने र काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गर्ने एमालेले बताएको छ । मुस्ताङमा यूरिनियम, दैलेखमा पेट्रोलियम र नवलपरासीमा फलामखानी सञ्चालनमा ल्याउने एमालेको योजना छ । यसरी एमालेले आफ्नो घोषणा पत्रलाई अन्य दलको भन्दा पृथक र महत्वकाँक्षी बनाएको छ । उसले आफ्नो नेतृत्वमा सरकार रहदा ल्याएको वजेट अनुसार कार्यान्वयनमा लैजानेमा जोड दिएको छ । घोषणा पत्र जसरी आएपनि यसलाई कार्यान्वयनमा लैजाने कुरा नै मुल विषय हो । चुनावी घोषणा पत्रलाई ब्यवहारमा जोड्न सकेमा मात्रै यसको सार्थकता हुनेछ ।
Previous Articleस्थानीय निर्वाचनमा कस्तो उम्मेदवार चुन्ने ?
Next Article घोषणापत्रमा गुलियो बढी भयो