पर्वत, १८ बैशाख – पर्वतका तीन कम्युनिष्ट घटकहरुले स्थानीय चुनाव उपयोगको लागि तीन दलीय गठबन्धन निर्माण गरेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त बैठकले आईतबार तीन दलीय मोर्चा गठन गरेका हुन । मोर्चाको नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेलले नेतृत्व गरेका छन् ।
नेकपा क्रान्तिकारी (माओवादी) पर्वतका जिल्ला ईन्चार्ज पौडेल, नेकपा मालेका केन्द्रीय सदस्यद्वय यम विक, हरिहर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव वालकृष्ण पौडेल र नेकपा मालेका जिल्ला सचिव लालबहादुर हरिजन सहितको उपस्थितिमा संयुक्त मोर्चा गठन भएको हो । मोर्चा गठनपछि जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा मोर्चाको तर्फबाट साझा उम्मेदवार चयन गर्ने निर्णय भएको बैठकपछि राष्ट्रिय जनमोर्चाका सचिव बालकृष्ण पौडेलले जानकारी दिए ।
बैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि ठुला भनिएका दलहरुलाई टक्कर दिन निरन्तरका छलफल र वार्ताबाट संयुक्त मोर्चा गठन गर्न सफल भएको नेकपा मालेका केन्द्रिय सदस्य यम विकले बताए । मोर्चाले पकड क्षेत्र निर्धारण गरि दुई नगरपालिका र पाँच गाउपालिकाका वडा समेत विभाजन गरेको जनाइएको छ ।
बैठकपछि जानकारी दिदैं मोर्चा सम्बद्ध नेताहरुले पर्वतमा तीनदलीय मोर्चा निर्णायक शक्ति भएको समेत दाबी गरेका छन् । तीन दलको संयुक्त मोर्चामा आवद्ध नेताहरुले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने माग राखेका छन् ।
Previous Articleधार्मिक पर्यटनको केन्द्र बन्दै गलेश्वरधाम
Next Article २०७४ बैशाख १८ गते सोमबारको राशिफल