म्याग्दी, १८ बैशाख – म्याग्दीको गलेश्वर मन्दिर धार्मिक पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको छ ।
आर्थिक वर्ष २०७३/०७४ पहिलो नौ महिना सम्ममा १ लाख ५९ हजार ५ सय तिर्थयात्रीले गलेश्वरधामको दर्शन गरको गलेश्वर क्षेत्र विकासकोषको प्रबन्ध समितिको कार्यलयले जनाएको छ । यसै अवधिमा सहकारी, विद्यालय, क्याम्पस, आमा समुह लगायतका विभिन्न संघ संस्था गरेर २८ वटा समुहले अवलोकन भ्रमण पनि गरेको कोषको कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।
सबभन्दा बदि श्रावण र मंसिर क्रमश– ५० हजार र ४५ हजारले दर्शन गरेका छन् । श्रावण महिनाको प्रत्येक सोमवार भगवान शिवको पूजा आराधाना गरे मनोआकांक्षा पुरा हुने जनविश्वासका कारण विशेष गरि महिलाहरु गलेश्वर पुग्ने गर्दछन भने मंसिरमा वालाचतुर्दशी मेलामा सतबीज छर्न भक्तजनहरुको घुइचो लाग्ने गर्छ ।
त्यसैगरि महाशिवरात्रि, अक्षय तृतिया, आमाबुवाको मुख हेर्ने दिन, तिज, जनै पूर्णिमा, सोह्रश्राद्ध आदिमा पनि विशेष पुजा आरधाना गरिन्छ । गलेश्वरको दर्शन गर्न भारत तथा नेपालका चितवन, कास्की, काठमाडौ, पर्वत, बागलुङ, झापा लगायत जिल्लाहरुबाट आउने गरेको कोषले जनाएको छ ।
फागुन सम्म १२ सय तिर्थयात्रीले निशुल्क बसाइ तथा ४ सय ७५ जनाले निशुल्क भोजन पनि गरेका छन् । हाल मन्दिरको व्यवस्थापन गलेश्वर क्षेत्र विकास कोषले गर्दै आइरहेको छ । वि.सं. २०५४ अघि देखि वि.सं. २०७२ सम्ममा कोषको आम्दानी नेपाल सरकार तथा विभिन्न व्यक्ति एवं संघसंस्थाको सहयोगमा मुख्य मन्दिर, लक्ष्मी नारायण मन्दिर, यज्ञ मण्डप लगायतका ६० वटा भौतिक संरचनाहरु निर्माण भएका छन् ।
यस आर्थिक वर्षको नौ महिनामा २९ लाख ९४ हजार १८३ रुपैया भेटी पनि संकलन भएको कोषको कार्यालयले जनाएको छ । मन्दिरको मुल प्रवेसद्धारमा मै तिर्थयात्रीको दैनिक लगत संकलन गर्न सके यथार्थ लगत संकलन हुने देखिन्छ । साथमा गलेश्वरधामलाई अन्तराष्ट्रिय धार्मिक पर्यटन सञ्जालसँग जोडेर व्यापक प्रचार प्रसार गरेमा गलेश्वरको महिमा बदि तिर्थयात्री वृद्धि हुने छन् । कर्णबहादुर खत्री