तीते करेली
कृष्णराज शर्मा
पहिले ०१५/१६ सालतिर तेरो घरमा काँग्रेस पसोस् भन्थे,पछि ०२८ सालतिर माले पसोस् भने र पछिल्लो समयमा तेरो घरमा माओवादी पसोस् भनियो । तर अहिले आएर तेरो घरमा “राजनीति“ पसोस् भन्न थालिएको छ । गाउँगाउँमा यसो भन्न थालिएको छ । गाउँगाउँमा यसो भन्न थालिएको छ । मुख्य र बलिया पार्टीका नेता र कार्यकर्ताको घरमा राजनीति पस्नु स्वाभाविकै हो । तर साना र नगन्य पार्टीमा लागेका सामान्य जनताको घरमा राजनीति पस्नु ऊ बेला काँग्रेस,माले र माओवादी पसे भन्दा खतरनाक बन्दैछ । त्यसैले अहिले तेरो घरमा राजनीति पसोस् भन्न थालेका छन् मान्छेहरूले । राजनीति पसेको घरमा विघ्न हुन थालेको छ । राजनीति पसेका धेरै घर असन्तुष्ट छन् । घरेलु अशान्ति छ । पारिवारिक कलह शुरू भएको छ । सुनियो, सम्बन्ध बिच्छेद सम्म भए । किन यसो भैरहेको छ ? मान्छेका मन मनमा यो प्रश्नले खेदो खन्न थालेको छ । किनकि, दुःखै दुःखले आर्जन गरेको संपत्ति विघ्न पार्ने पनि राजनीति हुन थालेको छ । सम्पत्ति विघ्न परेपछि पारिवारिक विघ्न र कलह पार्ने पनि राजनीति हुन थालेको छ । गासस र नसस पद पाउन पनि दुईचार लाखको जोहो कसरी जुटाउने भन्ने चिन्ता उमेदवारका घरघरमा व्याप्त छ । ऊ बेला माथी उल्लेखित लुटेराले घरमा पसेर धन सम्पत्ति लुट्थे । अहिले राजनीति नै घरमा पसेर आँफा आँफै लुटिदैंछन् । यही भएर पुराना र ईमान्दार पार्टीका कार्यकर्ताले चुनावि मैदान छोड्दै भन्न थालेका छन्– “हाम्रो वडामा उमेदवारको टिकट त मैलेई पाएको थिएं । खर्चै पुर्याउन सकिन्न, के गर्ने ? ठेकेदार र डाईबर चिटिक्क परेर वल्लो गाउँ पल्लो गाउँ डुल्छन् । पैसा पनि तिनीहरू सँग छ । सबैले पत्याउँछन् । पार्टीका नेतालाई उनैले घरमा लगेर खुवाउँछन् पाल्छन् । एउटा सदस्यको टिकट ठेकेदारले पायो, अर्को सदस्यको टिकट डाईबरलाई दिए । मैले छोडि दिएँ । वडाध्यक्षमा उठ्नेले पनि मुखले उठ्छु भन्छन् तर उठ्ने मन छैन । चुनाव जित्ने होईन खर्च मात्रै किन गर्ने भन्दैछन् ।’’ यो भनाई बनावटी होईन । खुसुक्क कानेखुशी गरौं त उमेदवारका दावेदार सबैमा यही व्यथा छ । यो मनोदशाले भरिएको छ अहिलेको राजनीति । माथी उल्लेख भए जस्तै यतिबेला घरघरमा पसेका काँग्रेस, एमाले, माओवादी र अरूवादी देखि जनता आत्तिएका र डराएका छैनन् । बर्षौं पार्टीमा खटेर लाग्दापनि पैसाको अभावमा वडानेता पनि हुन नसक्ने राजनीति देखेर चकित पर्न थालेका छन । गाउँका जनताको बिहान बेलुका सेवा गरेर भन्दा साउदी कतार चार बर्ष बसेर फर्केका गाउँका नेता बन्ने अवस्था आयो । दशनँग्रा खियाएर बचाएको धन राजनीतिमा लाग्दा सकिने चिन्ताले पिरोलिन थालेका छन् घरहरू । अनिवार्य रूपमा उठाउन पर्ने समावेशी वाध्यताका आवाजहरू हुन यिनीहरू । नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाऊको अनुहार भनेजस्तै गाउँको वडाध्यक्ष देखि गाउँ वा नगर सदस्यको उमेद्वारको दावी गर्नेहरू सबैमा यही मनोदशा रहेको छ । गाउँका शशीधर भाई विपक्षि दलको उछितो काढ्न माहीर छन् । उछितो काढे काढ्नु सम्म विपक्षिलाई तथानाम कुतर्क गरेर । तर आर्थिक अवस्था कमजोर बोली मात्र बलियो भएका शशी ऐन मौकामा पद प्रतिष्ठा मिल्ने बेलामा पार्टीले दुईलाख खर्च गर्न सक्छौ कि सक्दैनौ भन्ने प्रश्न तेर्सिंदा मुखमा लगेको गाँस खोसिए झैं पार्टीले टिकट दिएन । येनकेन गुजारा चलाउँदै चियापानी खाई पल्केकाले कसरी दुईलाख खर्च गर्नु ! आँटै निकालेनन् । बरू उनैले अरूको नाम सिफारिस गरे । गाउँको विकास निर्माणमा आएको बजेटलाई ठगठाग पारेर ठेकेदारी गर्न जान्ने झिल्केलाई नाम सिफारिस गर्न पुगे । घरमा सँधै पार्टीको कार्यक्रममा जान्छु मिटिङ छ भन्दै श्रीमतीका अगाडी ठालु बनेको आज पर्दाफास हुने भयो भन्ने चिन्ता शुरूभयो । आफ्नो बुढो ठूलो नेता हुने आशामा खाई नखाई एक्लै जोतिएकि श्रीमतीले पटुकामा बाँधेको शयको नोट पनि सुट्ट निकालेर दिन्थिन् । म एक दिन वडाध्यक्ष हुन्छु बुढी ढुक्क भै ! पल्लो गाउँको डाँडाघरे जस्तो म पनि बन्छु भन्दा कति खुशी हुन्थी बुढी । आज आएर भोट हालेर भन्दा पैसा खन्याएर मात्र डाँडाघरे जेठो भईने देखेर बुढीको मन कस्तो हुने हो थाहाछैन । भरे बेलुकि बुढी र बुढाको रडाको मच्चिने वाला छ । यो घर भित्रको कलह कहिले साम्य हुने हो थाहाछैन । शशीधरको घरमा पसेको राजनीतिले बुढेसकालमा कस्तो बेमेलको जरा गाड्ने हो ?
उता अलिकति बोल्न टाँठी चमेलीको घरबार के कसो हुने हो यसै भन्न सकिन्न । थुप्रै चमेलीहरू चाहिएको छ यो गाउँको चुनावमा । पार्टीलाई महिला अनिवार्य चाहिएको छ । शहर बजारजस्तो गाउँ होईन । फुर्स्दिला चमेलीहरू गाउँमा छैनन । घरमा बाहिर चल्तिफूर्ती गरेको मनपराएका छैनन् चमेलीलाई । चुल्हो चौको नाघेर महिला शसक्तीकरणमा लोभिएकी चमेली यसपाला वडासदस्यको अफर आएपछि जस्तो पर्ला उस्तै टर्ला भन्ने शुरमा छिन् । घरमा भने लौ यो त कसको बहकाउमा लागि,कता आँखालाई भन्ने निश्चित छ । चुनावमा पैसा कहाँबाट ल्याई र खर्च गरि भन्ने शँका उसैछ । सदस्य भई भने दिनैभरि उतै हराउँछे । चुनाव जित्ने नाम निशान छैन तर,शंका उपशंका नौमुरी खडा हुन्छन् । उसो त,चमेलीले सपनामा पनि वडासदस्य बन्दिनन् । राजनीतिको भूत चमेलीको मनमा कसले हुल्यो ? यस्तोमा कहिले बन्लिन चमेली वडासदस्य ? चमेलीको घरमा पसेको यो राजनीतिले त्यो रमाईलो परिवारमा कस्तो भाँजो पर्ला ? यस्तो राजनीति सामान्यजनकोमा कहिल्यै नपसोस् । कसैका घर बिघ्न नपरून् ।
आगामी चुनाव हुने आशा नमारिकन भन्दा गाउँका गाउँ राजनीतिमा चुर्लुम्म डुबेको अवस्था छ । बजारमा भन्दा गाउँमा राजनीति चर्को हुन्छ । अहिलेको नयाँ पद्दतिमा गराउन खोजिएको समावेशीताले सहभागिता भन्दा धेरै नै पारिवारिक फाटो उत्पन्न गराउन सक्छ । परिवारमा फाटो उत्पन्न हुनु समाजमा नै आगो सल्कनु हो । सनैसनै समाजमा डढेलो लाग्न पनि बेर लाग्दैन । सामाजिक मनस्थिति र मानसिकतालाई विस्तारै उच्च बनाउनु पर्ने हो । चमेली र शशीधरको महत्वाकांक्षा र शशीधरको पिरलो क्रमशःनिदान हुने ढङ्गले राजनीति अगाडी बढ्नु पर्दछ । विपक्षिले फट्याईं गर्ने र आगामी चुनावमा आफ्नो पोल्टामा परिणाम हातपार्न चमेलीहरूलाई कपोल्कल्पित लाञ्छना लाग्नबाट जोगाउन र शशीभाईको परिवारमा पलाउन सक्ने मानसिक असन्तुलनलाई राजनीतिले विघ्न नपारोस् । आसन्न चुनाव होला नहोला,जे होला । तर चुनावले गाउँ समाज तहस नहस नहोस् । त्यस्तो तहस नहस हुने राजनीति कसैको घरमा नपसोस् । यो लेखको आशय राजनीतिमा महिला तथा सामान्य तथा गरिब निमुखाको पहुँच नहोस् भन्ने हुँदै होईन । राजनीतिमा सबैको पहुँच हुनुपर्छ । तर नेताहरूको निहित स्वार्थका खातिर परिवारको मनोविज्ञान नबुझिकन स्वर्ग जस्तो घरलाई ध्वस्त हुने ढङ्गबाट परिवारको अनिच्छुक सदस्यलाई जवर्ज्स्ति राजनीतिमा लतार्नु गलत हुनसक्छ भन्न खोजिएको मात्रै हो ।
Previous Articleमुख स्वास्थ्य नीति कार्यान्वय गर
Next Article २०७४ बैशाख १७ गते आईतबारको राशिफल