शरीरको कुनै पनि अंग प्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्व, खाना, नास्ता वा औषधिको रूपमा मुखबाट नै लिइने भएकोले नै मुखलाई शरीरको प्रवेशद्वार मानिन्छ । मुखको स्वास्थ्य भन्दा प्रत्यक्ष रूपमा मुख वा यस वरपरको अंगप्रत्यंगलाई बुझाए पनि परोक्ष रूपमा शरीरको सम्पूर्ण अंगप्रत्यंगको स्वास्थ्यसँग सम्बन्धित रहन्छ । सफा मुखले पौष्टिक पदार्थ खाएमा मात्र शरीर स्वस्थ भई एउटा सफल जीवनको कल्पना गर्न सकिन्छ । एकातिर मुख र दाँतमा देखिने रोगहरू मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने अर्कोतिर शरीरका अंग प्रत्यंग वा प्रणालीसँग सम्बन्धित रोगहरूको प्रतिविम्व हुनसक्छन । मुखले शरीरका अंग प्रत्यंगमा लाग्नसक्ने वा लागेका विभिन्न प्राणघातक रोगहरूको पहिचान गर्न सहयोग पु¥याइरहेका हुन्छन् । दादुरा आउने बेला २–४ दिन पहिले नै मुखमा कप्लिक स्पट देखिनु, एड्स रोगमा मुखमा कापोसिस सार्कोमा आउनु र मधुमेहका रोगीमा दाँत निकालेको घाउ र अन्य रोगहरू निको नहुनु यसका उदाहरण हुन् । मुखको समस्याको उचित निदान र उपचारले शरीरका प्रणालीका रोगलाई समेत निदान, निराकरण र उपचार हुने गर्दछ ।
सरकारले दन्तचिकित्सालाई महत्व नदिएको कारण केन्द्रीय स्तरमा दन्त अस्पताल, महाशाखा गठन तथा प्रा. स्वा. केन्द्रको कुरा त छोडौँ जिल्लामा समेत दन्त चिकित्सकको व्यवस्था हुन सकेको छैन । नेपालमा तीन वर्षअघि राष्ट्रिय मुख स्वास्थ्य नीति आए पनि त्यसको एक प्रतिशत पनि कार्यान्वयन हुन सकेको छैन भने अर्कोतिर मुख सम्बन्धी रोगका बारेमा चेतनाको अभाव, सरकारी उदासिनता र दुर्गममा दन्तचिकित्सा सेवा र प्राविधिज्ञहरूको अपर्याप्तता तथा दन्तरोग बढाउने आदत र जीवनशैलीका कारणले रोगीको संख्या दिन प्रतिदिन बढ्दैछ । दन्त स्वास्थ्यका प्रमुख रोगहरूमा दन्त सड्न, दन्त हर्षा, पाइरिया, दाँत सिरिङ– सिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरङ्गी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखिन्छन् । जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते हुने गरेका थुप्रै छन ।
दाँत किराले खाने, दन्तहर्षा र पाइरिया जस्ता रोगबाट स्पेस संक्रमण हुनगई पछि खाद्यनली र सास फेर्ने नली थिचिने र सास फेर्न नसकी मृत्यृ हुनसक्छ । सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिससम्म हुन सक्छ । गिजा तथा मुख सम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वास सम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । गर्भवती महिला भए समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ । धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउ खटिरा, रोग, फोहर साथै सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर हुन सक्छ । यसवाट वच्नका लागि दैनिक दुईपटक खाना पश्चात् नरम ब्रस र केराऊ आकारको फ्लोेराइड भएको दन्त मञ्जन प्रयोगलाई जोड दिनुपर्दछ । दाँत माझेपछि मुख कुल्ला नगर्ने, खाने कुरामा नियन्त्रण र नियमित दन्त परीक्षण गर्नुपर्दछ । सफल जीवनका लागि सबल दाँत भन्ने कुरालाई विर्सिनु हुदैन । भोक लागेको बेला खानेकुराको जत्ति महत्व हुन्छ, खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्व दिनु पर्दछ । साथै सरकारले राष्ट्रिय मुख स्वास्थ्य नीतिलाई कार्यान्वयनमा लैजानु पर्दछ । स्वास्थ्य जीवनसंग राष्ट्रिय मुख स्वास्थ्य नीति जोडिएको छ भन्ने कुरालाई विर्सिनु हुदैन ।
Previous Articleयुवा संघ भीमापोखरा–बागलुङ सम्पर्क कमिटी गठन
Next Article वडा सदस्य होलीन चमेली !