बागलुङ, १४ वैशाख – धौलागिरी अञ्चल अस्पताल घोषणा भएपछि पहिलो पटक आवस्यक दरवन्दीका लागि अधिकांस डाक्टर र अन्य स्वास्थ्यकर्मी भित्राएको छ । अञ्चल अस्पताल विकास समितिले बुधवार गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मञ्जेषबम मल्ल र मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले अहिले सम्मकै सफलता भएको बारेमा जानकारी गराएका थिए ।
अस्पतालको अध्यक्ष भएर आएपछि तीन महिना अघि मल्लले तीन महिनामा न्युनतम दरवन्दी अनुसारका चिकित्सक भित्राउने, ट्रमा सेन्टर संचालनमा ल्याउने लगायतको प्रतिवद्धता जनाएका थिए । सोही अनुसार अस्पतालमा चिफ कन्सल्ट्यान्ट मेडिकल जनरलिष्ट, कन्सल्ट्यान्ट फिजिसियन, कन्सल्ट्यान्ट सर्जन, कन्सल्ट्यान्ट एनेस्थेसोलोजिष्ट, कन्सल्ट्यान्ट गाईनोक्लोजिष्ट, कन्सल्ट्यान्ट रेडियोलोजिष्ट र कन्सल्ट्यान्ट अर्थोपेडिक समेत आएका हुन् ।
अस्पताल विकास समितिले उप प्रादेशिक अस्पतालको रुपमा विकास गर्न चाहेको बताएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको मल्लले बताए । जनशक्ति भित्राएपछि ल्याब सेवामा थप गुणस्तरीयता बढाउने, आकस्मिक सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन कोइकाको सहयोगमा ३० लाख रुपैयाँमा उपकरण जडान गर्ने सम्झौता भैसकेको डा. राजभण्डारीले बताए ।
अस्पतालमा डायलाइसिस सेवा शुरु गर्न ५० लाख रुपैयाँ रकम निकासा गरी उपकरण खरिदप्रकृया शुरु भएको, हरिखड्का ट्रमा सेन्टरका लागि सामाग्री टेन्डर भैसकेको र असार पहिलो साता देखि उपचार सेवा शुरु गरिने समेत बताइएको छ । अस्पतालले बुधवारबाटै आफ्नै फार्मेसीमा सेवा शुरु गरेको छ । केही महिनादेखि अनौपचारिक रुपमा शुरु गरेको सेवा बुधवार अध्यक्ष मल्लले औपचारिक उद्घाटन गरेका हुन् ।
अस्पतालमा अधिकृतम सेवा सहित सर्जरीलाई ध्यान दिइएको, गर्भवतीको शल्यक्रिया, हाइड्रोसिल, हर्निया, एपेण्डीसाईट लगायतको अपरेशन शुरु भैसकेको बताइएको छ । अपरेशन लगायतका उपचारमा विद्युत सेवा पटक पटक अवरुद्ध भएर समस्या पेपछि ५२ किलोवाटको सोलार जडान गरेर नेपाल विद्युत प्राधिकरणको बिजुली प्रयोग गर्न समेत छाडिएको बताइएको छ । यी सबै काम भएर पनि नर्सिङ तर्फ ६ वटा दरवन्दी खाली रहेकोले पुरा गराउने गरी लविङ भैरहेको बताए ।
सरकारले ल्याएको सामाजिक स्वास्थ्य सुरक्षा विमा कार्यक्रमलाई समेत प्रभावकारी बनाउने अभियान अस्पतालले थालेको छ । बिमाका विरामीलाई ध्यानमै राखेर अस्पतालभित्रै फार्मेसी समेत स्थापना गरिएको हो । उक्त फार्मेसीमा १० देखि ५० प्रतिशत छुटमा औषधि वितरण भएको समेत बताइएको छ । जसका कारण विरामीहरु उपचारका लागि आउने संख्या बढ्दो दरमा रहेको पनि राजभण्डारीले बताए । अस्पतालको क ब्लक निर्माण भएर ५ बर्ष अघि सेवा थालिएपनि ख र ग ब्लक अझै बनेको छैन । जसका कारण अस्पतालले दिने सेवासुविधा चाहेजति गर्न नसकेको मल्लले बताए ।
भवन डिभिजन र शहरी विकास मन्त्रालयमा समेत पुगेर तत्काल भवन निर्माणको काम पुरा गर्न लविङ गरेपछि दुइसातामा काम थाल्ने प्रतिवद्धता आएको उनले बताए । त्यस्तै अस्पतालले भवन अभावमै मेडिकल सुपरिटेन्डेन्ट र अध्यक्ष तथा प्रशासनिक कामका लागि राखिएका कार्यालयलाई बाहिर सारेर पनि उपचारका कामलाई प्रभावकारी बनाउन लगाइएको समेत बताइएको छ ।
स्थानीय भएकोले मेसु राजभण्डारीले समेत आवास नलिइकन नयाँ आएका डाक्टरलाई दिने व्यवस्था मिलाएको पनि उनले जानकारी गराए । राजभण्डारीको अध्यक्षता, सूचना अधिकारी तीर्थराज गौतमको संचालन र जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालको स्वागतमा सम्पन्न कार्यक्रममा अस्पतालका अध्यक्ष मञ्जेषबम मल्ल, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए ।
Previous Articleपत्रकारको दिप प्रज्वलन
Next Article बागलुङमा यसरी हुदैछ निर्वाचनको तयारी