- बागलुङ, १४ बैशाख –
आसन्न बैसाख ३१ गतेको स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले अधिकांस काम पूरा गरिसकेको बताएको छ । बुधवार पत्रकार सम्मेलन गरेर जिल्ला निर्वाचन अधिकारी विकास चन्द्र पौडेलले निर्वाचनका लागि आवस्यक सामग्री, उपकरण समेत जिल्लामा आईसकेको जानकारी दिए । ती सामाग्री मध्ये महत्वपूर्ण र अति संवेदनशिल गरी विभाजन गरेर ६ गाउँ र ४ नगरपालिकामा पठाउने तयारी भैरहेको हो । ती सामाग्रीलाई प्याकिङ गरेर पठाईने व्यवस्था मिलाईदैछ ।
निर्वाचन अधिकृतको कार्यालयमा पठाउने संवेदनशिल सामाग्री बाहेकका अन्य सामान भने मतदान अधिकृतहरुले बुझेर लैजानेछन् । निर्वाचन गराएपछि अधिकृतको कार्यालयमै गनेर फैसला गर्ने तथा प्रमाणपत्र वितरण गरेर मात्र फर्कने व्यवस्था समेत मिलाईएको छ । अहिलेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भैसकेका छन् ।
त्यस्तै मतदाता नामाबली प्रकाशन भएको, कर्मचारीको नामाबली र संख्या तयार भएको र आवस्यक खटनपटनको काम शुरु हुने पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्लामा १ हजार ७ सय ४६ जना कर्मचारी र स्वयंसेवक आवस्यक पर्ने समेत जनाइएको छ । त्यसका लागि २ सय ११ जना अधिकृत, ५ सय ७६ जना सहायक स्तर कर्मचारी, ३ सय ८४ जना सहयोगी चाहिनेमा १ सय ४० अधिकृत, ५ सय ८९ सहायक स्तर कर्मचारी र १ सय ८१ जना सहयोगी मात्र रहेका छन् ।
अपुग भएको संख्याका लागि मावि तहका १ सय ७५ शिक्षक, आधारभूत तहका २ सय ११ र प्रावि तहका ९ सय ५२ शिक्षक पनि खटाईने बताइएको छ । साथै ५ सय ७५ जना स्वयंसेवक पनि खटिनेछन् । बागलुङमा ७३ हजार ९ सय ६३ जना पुरुष र ८२ हजार ८ सय ३९ महिला मतदाता रहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।
यो निर्वाचनले स्थानीय सरकारको स्वरुप दिने भएकोले उत्साहजनक मतदान गर्न र निर्वाचनको मर्म बुझाउनका लागि स्वयंसेवकहरु खटाइएको उनले जानकारी दिए । दुइ दिनसम्म तालिम दिएर कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवकहरु खटाएको हो । यो निर्वाचनले राज्यको संघिय संरचनामा तल्लो तहको सरकारको अनुभूति दिनेछ ।
गाउँ तथा नगर पालिकाका प्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष र प्रत्येक वडाबाट ४ जनाका दरले सदस्य निर्वाचित भएपछि गाउँ भए ३ र नगर भए ५ जना दलित तथा अल्पसंख्यकलाई अर्को निर्वाचन गरेर ल्याएका विधायक थपेपछि मात्र गाउँ र नगर कार्यपालिकाकाको निर्वाचन हुने बताइएको छ । कार्यपालिकामा निर्वाचित हुनेले सरकारको जिम्मा पाउँछन् । भने कानूनी रुपमा उपप्रमुखको नेतृत्वमा कानूनी अधिकार भएको न्यायिक समिति पनि बन्ने बताइएको छ ।
बागलुङमा यसरी हुदैछ निर्वाचनको तयारी
Previous Articleतंग्रिदै छ धौलागिरी अंचल अस्पताल
Next Article लमजुङमा एमाले र माओवादी केन्द्रबीच तालमेल