ईश्वर पोखरेल
म आमासँग जम्माजम्मी नौ वर्ष जति सँगै बसेँ हूँला । त्यस अवधिका सबै सम्झनाहरू त्यति ताजा छैनन्, तर धेरैजसो सम्झनाहरू भने अहिले पनि मेरो मानसपटलमा ताजै छन् । ती सबै दिमागमा त्यसै–त्यसै सल्वलाएर आउने गर्छन्–केहीकेही घटना–प्रसंगहरू । उहाँको वात्सल्यजन्य ब्यबहार, घरायसी समस्याहरूको आगोमा पिल्सिदै गएको उहाँको अनुहार सम्झन्छु । समस्याहरूको आकाशले किच्न खोजे पनि त्यससित मुकाविला गर्ने आँट सहित समाजमा पौंठेजोरी खेल्ने किसिमले समाजरूपी मैदानमा हेलिनुभएकी वीरङ्गना जस्तो लाग्छ–मेरी आमा ।
जीवनको अन्तिम कालखण्डका केही दिन, लगभग आठ महिनाजति, म आमा सँगै बस्न पाएँ । म त्यसबेला बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछिको खुला राजनीतिक वातावरणमा आफ्नो खुला राजनीतिक र सामाजिक परिचयका साथ उभिदै थिएँ । अझ पछि गएर त म राष्ट्रियसभाको सदस्यको रूपमा काम गर्न थालिसकेको थिएँ । २०५६ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट म प्रतिनिधिसभामा विजयी वनेपछि केही समय म आमा सँगै वस्न पाएँ । चन्द्रगढी, झापा दाजुकोमा वस्दै आउनुभएकी आमा मेरो विजयपछि मलाई भेट्न, शायद सँगै वस्न आउनुभएको थियो ।
८५ वर्षमा हिंड्दै गरेकी आमालाई एक्लै चन्द्रगढीबाट हवाइजहाजमा चढाइदिएका थिए । केही पोका र झोलाहरू वोकेर आमा काठमाडौं ओर्लनुभयो । छोरो लिन आएको छ कि भनेर यताउता खोज्नुभयो, तर भेट्नुभएन । सँगै आएका यात्रुहरू र स्टाफहरूको सहयोग लिएर आफूले ल्याएका सामानहरू जम्मा गर्नुभयो र वाहिरिने गेटकै मुखमा पर्खेर वस्नुभयो । म लिन पुग्दा केही ढिलो भैसकेको थियो तर त्यहाँ आमा मलाई पर्खेर वसिरहनुभएको थियो । आमालाई त्यसरी पर्खेर वसेको देखेपछि म खुसी त भएँ, तर आफ्नै चाल देखेर रिस पनि उठ्यो । ‘छोरो अवश्य पनि लिन आउँछ’ भन्ने दृढ विश्वासमा प्रतीक्षारत आमालाई देखेपछि ममा एकैपटक धेरै किसिमका प्रतिकृयाहरू पैदा भएका थिए । नजिकै पुगेपछि उहाँले मलाई नियालेर हेर्नुभयो, मेरो ढिलाइप्रति खास केही टिप्पणी गर्नुभएन, केवल ‘आइस् बाबू !’ मात्र भन्नुभयो । आमालाई लिएर घरमा आउञ्जेल बाटोभरि आमाको महानतालाई मनमनै गुनिरहेँ ।
मैले त्यो जिम्मेवारी पाएको त्यस अवधीलाई आमाले कसरी लिनुभयो कुन्नी..? तर मैले भने धैरै महत्वपूर्ण मानेको छु, त्यो क्षणलाई । आएपछि आमा मसंँगै रहनुभयो । म त्यसबेला घरमा त त्यति धेरै समय दिन सकिरहेको हुन्नथेँ, वाहिर काम परिरहन्थ्यो । तर मेरो विगतको एक किसिमको असुरक्षित र अनिश्चितताको असहज र पीडाजनक स्थितिको तुलनामा उहाँले धेरै सहज र खुसी वोध गरिरहनुभएको थियो । त्यसबेला उहाँले मसित त्यस वर्षको दशैं परिवारका सबै सदस्यहरू एकै ठाउँ वसेर मनाउने आफ्नो एउटै धोको रहेको कुरा राख्नुभएको थियो । वास्तवमा त्यसबेलासम्म त्यस्तो संयोग कहिल्यै परेको थिएन । आमाकै प्रस्ताव वमोजिम मैले झापाबाट दाइ–भाउजु र अरू केटाकेटीहरूलाई पनि वोलाएको थिएँ । जीवनमा पहिलोपल्ट आमा सहित परिवारका सबै सदस्यहरू मिलेर दशैं मनाउने योजनामा हामी लागेका थियौं । परिवारका सबै सदस्यहरूमा नयाँ खुशी छाउँदै थियो । म त्यसै हिसावले आवश्यक जोरजाममा लागेको थिएँ ।
केही समयपछि आमालाई अचानक उच्च रक्तचाप देखापर्यो, त्यसले चौतर्फी आक्रमण गर्यो, हामीले आफूसक्दो कोशिस गर्यौं । काठमाडौंको शिक्षण अस्पतालमा विशिष्ट चिकित्सकहरूको देखरेखमा उपचार गराउन सम्पूर्ण रूपमा लागियो तर पनि आमालाई हामीले बचाउन सकेनौं । उहाँमा उच्च रक्तचाप र रगतमा क्लटहरू वन्ने प्रकृयाले गम्भीर समस्या उत्पन्न हुनपुगेको थियो । यसबाट मष्तिष्क लगायतका शरिरका विभिन्न महत्वपूर्ण अंगहरू पक्षघात हुने डरलाग्दो सिलसिला शुरू भएको थियो । यो क्रम निरन्तर बढ्दै गएपछि आमाले २०५६ साल कार्तिकमा हामी सबैलाई छोडेर जानुभयो । आमाको दुःखद निधन भएकोमा अत्यन्त मर्माहत वने पनि उहाँको जीवनको अन्तिम क्षणमा उहाँको सेवा र आफूसक्दो उपचारको कोशिस गर्नसकेकोमा गर्व पनि लागिरहेको थियो । अहिले मसँगै आमा त हुनुहुन्न, तर उहाँसित सम्वन्धित केही अविष्मरणीय क्षणहरू सम्झनाका रूपमा रहेका छन् । आमासित सदासदाका लागि बिछोडिनुपरे पनि, यो विछोडको अन्तराल लामो–ला…मो… हुँदै गए पनि, ती संंस्मरणहरू झन्–झन् गाढा र आविष्मरणीय बनिरहेका छन् । मेरो जीवन– यात्रामा यी सबै कुरा मसित छुट्याउनै नसकिने गरी अविभाज्य वनेका छन् ।
मेरो वाल्यकाल खस्कँदो मध्यम वर्गीय किसान परिवारमा बितेको हो । मेरो जन्मका समयमै मेरो पारिवारिक स्थिति यही थियो । आफ्नो खेतिपातीबाट राम्ररी खान समेत पुग्दैन्थ्यो । त्यो अभाव पूरा गर्न मेरो परिवारका सदस्यहरू कोही पनि अरूकोमा जन बनी (मजदूरी) गर्न भने जाँँदैनथ्यौं । सामान्य सरसपाट वा ऋणपान गरेर टार्ने गरेका थियौं । पछि त, आफूसित भएको जग्गाजमीनमा खनजोत गर्नसमेत कठिनाई हुने गरेको थियो । हाम्रो परिवारका कोही सदस्य चलन वा परम्पराका कारण खेतमा हलो जोत्न सक्तैनथ्यौं । किनभने, हामी उपाध्याय बाहुन परिवारका थियौं । त्यसैले, घर धानेर बसेकी मेरी आमा हली खेताला खोज्न बिहान सखारै टोल छिमेकमा पुग्ने गर्नुहुन्थ्यो । खेताला के खोज्नु थियो, आफ्नो लाचार पारिवारिक स्थितिबारे जानकारी गराउनुहुन्थ्यो । अनुनयन विनय गर्नुहुन्थ्यो, सहयोगका लागि छिमेकीहरूसित अनुरोध गर्नुहुन्थ्यो– मेरी आमा । ‘आफ्नो खेतवारी बाँझै रहने, त्यसो हुँदा अन्न उब्जनी केही हुन नसक्ने’ कुरा बताउनुहुन्थ्यो । आमाको अनुरोध र आग्रहलाई सहानुभूति पूर्वक लिने गर्थे, सहयोगका लागि आउने गर्थे, सहयोगी गाउँँलेहरू । उनीहरूकै सहयोगमा हामी खेतीपाती लगाउँथ्यौं, बाली उठाउने बेलामा पनि यस्तै क्रम दोहोरिने गथ्र्यो । हामी घरका केटाकेटीहरू यी काममा सामान्य सघाउने भने गथ्र्यौं ।
पूर्वतिरका पोखरेल खलकलाई विगतमा नेपालका शासकहरूले विर्ता दिएको कुरा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । नेपालको एकीकरण अभियानका अगुवा राजा पृथ्वीनारायण शाहलाई उनको एकीकरण अभियानमा पोखरेलहरूले समर्थन र सकृय सहयोग पुर्याएका थिए । त्यसवापत अभियानको सफलताको क्रममा उनले विर्ता तथा अन्य सहयोग पोखरेल खलकहरूलाई दिएका थिए । इतिहासको त्यही प्राप्तिको सिलोबिलो मेरो परिवारले पनि पाएको थियो । तर, मैले थाहा पाउने बेलासम्ममा त्यो स्थिति कायम थिएन । त्यसका केही प्रसंगहरू, मात्र चर्चा–परिचर्चाका विषय हुनेगरेका थिए । र, हाम्रो स्थिति भने दिनदिनै खस्कँँदो थियो, दयनीय बन्दै थियो । गरीबी, विपन्नता, अभाव, निराशा आदिले हाम्रो परिवारलाई नराम्ररी गाँज्दै लगेको थियो । यही स्थितिका बीचमा परिवारका मुलीका रूपमा रहनुभएका मेरा बा गम्भीर रूपमा अस्वस्थ बन्नु भो, त्यही गम्भीर अस्वस्थताकै बीचमा उहाँको दःखद निधन भयो । उहाँको निधन हुनेबेलामा उहाँँँको र परिवारको पनि स्थिति सारै दयनीय बनिसकेको थियो । हामी आरु उपाय केही नभएका निरीह बनिसकेका थियौं । बाको निधनका बेलाको दृश्य मेरो दिमागमा अहिले पनि ताजै छ । ‘लोग्नेको रोग निको पार्न मैले औषधी समेत गर्न पाइनँ’ भन्दै आमा डाँको छाडेर रूनु भएको थियो । दिदी र दाइसँगै आमाको सारीको फेर समाउँदै म पनि रोएको थिएँ । बाको मृत्युको पीडावोध भन्दा पनि त्यसबेलाको मेरो वाल मस्तिष्कले त्यो पीडादायी कोलाहललाई पचाउन सकिरहेको थिएन ।
काठमाडौंमा बीएडको पढाइ सकेर म जनकपुर दाइकोमा पुगेँ । केटाकेटीदेखि नै त्यहीँ बसेकाले वास्तवमा त्यसलाई नै मैले आफ्नो घर मानेको पनि थिएँ । आमाले त्यसबेलासम्म पहाडको घर तथा खेतीपाती अरूलाई नै जिम्मा लगाएर कहिले ठूलो दाइ बस्नुभएको जनकपुर र कहिले माहिला दाइ बस्नुभएको झापा चन्द्रगढीमा बस्ने गर्न थाल्नुभएको थियो । अर्थात्, यी दुई ठाउँमै आमाको बसाइको सिलसिलामा मेरो आउजाउ चलिरहन्थ्यो ।
म पढाइ सकेर जनकपुर पुगेका बेला भने आमा जनकपुर हुनुहुन्थ्यो । मैले पढाइ सकेर आएको थाहा पाएपछि उहाँले खुसी मान्दै सँगै आएर सोध्नुभएको थियो– ‘पढाइ सकिछस् बाबू, अब के गर्छस् त ? तैंले काम गर्न थालेपछि त म तैं सँग बस्छु है, मलाई सँधै यताउती हिंडिरहने नपार है बाबू ! मैले बुढेसकालमा कति दुःख पाउनु !’ आमाले यी कुरा भनिरहँदा म केही नबोली उहाँको अनुहार मात्र हेरिरहेको थिएँ । आमाका यी कुराले मेरा मनमा आँधी चलाइरहेको थियो, केही नबोले पनि डाँको छोडेर रून मन लागिरहेको थियो । मलाई र मेरो अनुहारलाई एकोहोरो नियालेर आफ्ना मनभित्रका कुरा पोखिरहनु भएकी आमालाई म समाज परिवर्तनको संकल्प बोकेर क्रान्तिको अनन्त यात्रामा हिंड्नै लागेको थिएँ भन्ने के थाहा ! आमाका आशा र सपनाहरू मेरो आसन्न क्रान्तिकारी महायात्राले धूजाधूजा पार्दैछन् भन्ने सच्चाइ आमालाई म बताउन सक्दिन्थेँ । मैले त त्यसबेला कहिल्यै नफिर्ने क्रान्तिको बाटो रोजिसकेको थिएँ । क्रान्तिकारी राजनीति बोकेर भूमिगत जीवन सुरूवात गर्ने अन्तिम तयारी भैसकेको थियो । म त त्यसबेला पढाइ छोडेर, पाएका सर्टिफिकेटहरू समेत च्यातेर, स्वीटजरलैण्डका लागि पाएको पाँच वर्षे छात्रवृत्ति समेत त्यागेर क्रान्तिकारी बाटोमा लाग्न संकल्प गरेर हिंडिसकेको थिएँ ।
काठमाडौंबाट पढाइ सकेर हिड्ने बेलामा रत्नकुमार वान्तवा र मैले संयुक्त रूपमा संकल्प गरेका थियौं । पार्टी काम–पार्टीको भूमिगत काममा लाग्ने, यसका लागि आफूसित सम्वन्धित सबै निजी कुराहरू छोड्ने–त्याग्ने । पढाइका सबै प्रमाणपत्रहरू, घर परिवारसित सम्वन्धित सबै कुराहरू, निजी मित्रता र लाभहानीका सबै कुराहरू छोड्ने संकल्प गरिसकेका थियौं । स्विटजरलैण्डमा पाँच वर्षे प्लान पाएको र त्यसका लागि सबै प्रकृया पूरा भएको आदि सबै कुराहरू हामीले संयुक्त रूपमा छोड्ने निर्णय गरेका थियौं । यी सबै निर्णय गरिरहँदा हामी वेस्सरी दोमनमा पनि परेका थियौं । एकातिर आफ्नो व्यक्तिगत ‘क्यारियर’को कुरा थियो, निजी सपनाहरू थिए भने अर्कोतर्फ क्रान्तिकारी परिवर्तनका सपनाहरू पनि थिए । एक किसिमले तानातानको मनस्थिति पनि वनेको थियो, सन्तान पैदा गर्नुभन्दा अगाडि आमाहरूले भोग्नुपरेको प्रसव पीडा जस्तो भएको थियो । तर निर्णय सहितको संकल्पमा पुगेपछि हामी दुबैजना आल्हादित वनेका थियौं ।
म जनकपुर दाइकोमा त आएँ । तर मेरो लवाई–खवाई, बोली–ब्यबहार, सम्पर्क–सम्बन्ध आदि स्वभाविक हुन छोडेका थिए, त्यसबेला । एक किसिमले दिवाना । क्रान्तिको दिवाना भएको थिएँ म । जनवादी–क्रान्तिकारी गीतहरू गुनगुनाउने । त्यस्तै गीत कविताहरू लेख्ने । जहाँसुकै जतासुकै पनि त्यस्तै अर्थात् क्रान्ति, परिवर्तन, विद्रोहका कुरा गर्ने बनेको थिएँ, म । विद्यार्थीहरू, खासगरी कलेजमा पढ्ने विद्यार्थीहरूलाई ‘क्याम्पस पागलखाना !’ शीर्षकको आफ्नो प्रिय कविता सुनाउने गर्थें । मेरो यस किसिमको गतिविधि पारिवारिक–सामाजिक परिवेशमा स्वभाविक थिएनन् र हुन सक्तैनथे पनि । यसै आधारमा मेरो यस किसिमको अस्वभाविकताका वारेमा कतिपयले टिप्पणी समेत गर्न थालेका थिए । त्यस्तो स्थितिमा म झनझन् एक्लिंदै गएको थिएँ । आमा मेरो यो स्थिति देखेर अचम्मित र दुःखित बनिरहनुभएको थियो । एकाध पटक त ‘तँलाई के भो बाबू !’ भनेर रूनू पनि भो । आमालाई म केही जवाफ दिन सक्दिन्थँे, यस्तो अवस्थामा म घरबाट भाग्न अर्थात् भूमिगत जान चाहन्थेँ । त्यसै अनुसार मैले भूमिगत पार्टीका साथीहरूसितको सम्पर्कलाई बाक्लै बनाउन थालेको थिएँ । एकदिन, साँझसाँझ पर्न लागेका बेला एउटा सानो कपडाको झोला, त्यसमा एउटा लुंगी, माओ त्सेतुङका रचनाहरू, एउटा लेख्ने कापी र एउटा कलम बोकेर हिंडेँ । त्यसबेला मैले एउटा सूतीको पेन्ट र कमिज मात्र लगाएको थिएँ । आमाले हिड्नेबेलाको मेरो चालामाला हेरिरहनुभएको थियो ।
मैले अप्ठेरो मान्दै आमालाई भनेको थिएँ– ‘आमा…, साथीकोमा बोलाएको छ, म गएँ हैं !’ यसो भनिरहँदा मैले आमातिर हेर्न सकिरहेको थिइनँ । सायद, उहाँले मेरो अवस्थालाई सामान्य देखिरहनुभएको थिएन । उहाँले मेरा हात च्याप्प समात्नु भयो । रूनरुन खोज्दै भन्नुभयो– ‘भन् त बाबू ! तँलाई के भो ? तँ कहाँ जाँदैछस ?’ आमाको यो आग्रह र प्रश्नको साँँचो उत्तर दिने साहस ममा थिएन । मैले आमातिर पनि नहेरी झारा टार्ने हिसावले ‘कहीं होइन, स्कूलमा सँगै पढ्दाको साथीले बोलाएकोले जान लागेको, आइहाल्छु क्या !’ भनेको थिएँ । यसो भनिरहँदा मैले आफ्ना हातलाई च्याप्प समाइरहेका उहाँका हातलाई एक किसिमले झट्का दिएर छुटाउनु परेको थियो । म फटाफट निस्केर घर पारीको बाटोमा पुगिसकेको थिएँ । घरतिर फर्केर हेर्न पनि सकिरहेको थिइनँ । तर, आमाले केही ठूलो तर रूँदै गरेको स्वरले मलाई केही भन्दै गरेका कुरा भने मेरा कानमा परिरहेका थिए– फर्केर मतिर त हेर बाबू ! केही खा’र त जा !’ आदि यस्तै आग्रह र अनुनय विनय गरिरहनु भएको थियो । म घरतिर, आमातिर फर्केर हेर्दै नहेरी अँध्यारो हुँदै गरेको क्षितीजतिर हेर्दै फटाफट हिंडिरहेको थिएँ ।
आमाको स्वर मेरा कानमा गुञ्जिरहेको थियो– ‘ए बाबू ! जहाँ गए पनि एक पटक फर्केर त हेर ! तँलाई आमाको माया लाग्दैन बाबू !’ हिंड्दै गरेको बाटो वरपरका घरहरूमा ठोक्किएर प्रतिध्वनित भएको आमाको त्यो आवाज गुञ्जिरहेको थियो । म भने उज्यालोको खोजीमा अँध्यारोमा निलिंदै थिएँ…! हिंडिरहेको थिएँ, हिंडिरहेको थिएँ…!! (पोखरेलको प्रकाशोउन्मुख कृति मेरी आमाका अंश)