बागलुङ, १२ बैशाख – जिल्ला बाल संजालको आयोजनामा बालबालिकाको अधिकार सम्बन्धी एकदिने तालिम बागलुङमा सम्पन्न भएको छ । गाउँ तथा नगर बाल संजाल र विभिन्न क्लबमा आवद्ध भएका बालाबालिकालाई अधिकारको बारेमा जानकारी गराई क्षमता विकास गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको संजालकी अध्यक्ष सुरक्षा खड्काले बताइन् । तालिम उद्घाटन गर्दै स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बालबालिकाको क्षमता विकासबाट भोलीको समाज विकासमा पनि सहयोग पुग्ने बताए । साथै उनले बालबालिकालाई गरिएको लगानीबाट भविष्यमा राज्यले प्रतिफल पाउने पनि बताए । उक्त अवसरमा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले शिक्षाको गुणस्तर विकासका लागि पनि बालबालिकालाई अतिरिक्त क्रियाकलाप र अधिकारबारे तालिम आवस्य पर्ने धारणा राखे । संजालकी अध्यक्ष सुरक्षा खड्काको अध्यक्षता, सचिव सुपिया सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा बालअधिकार निरिक्षक घनश्याम शर्मा, पत्रकार प्रकाश बराल लगायतले बोलेका थिए । तालिममा बालबालिकालाई बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, बालमैत्री स्थानीय शासन कार्यान्वपयन कार्यविधि, बालअधिकारका विभिन्न आयाम, बाल हिंसा, बाल मजदुरी अन्य तथा निर्वाचनमा बालबालिकको प्रयोग रोक्नका लागि गरिनुपर्ने काम बारेमा पनि प्रशिक्षण गरिएको थियो । साथै नेपालको कानूनले बालअधिकारको बिषयमा गरेका केही व्यवस्थालाई पनि तालिममा समावेश गरिएको थियो । तालिममा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत भेषराज शर्मा, बालअधिकार निरिक्षक घनश्याम शर्मा र प्रकाश बरालले सहजीकरण गरेका थिए । तालिममा विभिन्न बालक्लबका ३५ जना बालबालिकाको सहभागिता थियो ।