बागलुङ, १२ बैशाख – दिव्या सेक्युरिटिज एण्ड हाउस स्टक ब्रोकर नम्बर ५९ प्रालिले बागलुङमा शाखा बिस्तार गरेको छ । कम्पनीको पहिलो शाखाको रुपमा स्थापित बागलुङ शाखाको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ ‘बासु’ले बिधिवत रुपमा सोमवार उद्घाटन गरे । उद्घाटनपछि बोल्दै केन्द्रिय सदस्य श्रेष्ठले परिवर्तित पुँजी बजारका बारेमा बुझ्न र कारोवार गर्न धौलागिरीबासीलाई सहज हुने बिश्वास व्यक्त गरे । ‘आर्थिक परिचालन र शेयर किनबेचका लागि शाखा मार्फत पैसालाई चलायमान बनाउन महत्वपूर्ण अवसर सिर्जना भएको छ,’ उनले भने, ‘अब यसले आर्थिक परिचालन मार्फत आम्दानी बृद्धिमा थप टेवा दिनेछ ।’ बागलुङ बजारमा शाखा विस्तारले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी पुँजी निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीका प्रवन्ध निर्देशक रामप्रसाद आचार्यले बताए । ‘मोफसलमा ब्रोकर कम्पनीको विस्तारले जनतामा पुँजी बजारसँग सम्वन्धित ज्ञान सिपको विकास तथा शेयर कारोवारमा उत्साह जगाउनेछ, उनले भने, ‘यसका साथै बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका लगानीकर्ताहरुको सहज रुपमा दोस्रो बजारमा पहुँच पुग्नेछ ।’ शाखा विस्तारले बागलुङ जिल्लाका लगानीकर्तालाई मात्र नभई धौलागिरीका शेयर लगानीकर्तालाई समेत बाहिरी जिल्ला, प्रदेश र केन्द्रमा जानुपर्ने बाध्यात्मक अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बिगत चार बर्षदेखी काठमाण्डौंमा रही शेयर ब्रोकरको रुपमा कारोवार गर्दै आएको छ । बागलुङबाट पहिलो शाखा स्थापना गरेको कम्पनीले बजार सम्भावना हेरी लगानीकर्ताको चाप तथा माग अनुसार अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने योजना रहेको प्रवन्ध निर्देशक आचार्यले बताए । कार्यक्रमको सञ्चालन बागलुङका पुनमप्रसाद शर्माले गरेका थिए ।