बागलुङ, १२ बैशाख – नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्षमा यस आर्थिक वर्षको दोस्रो सिकार सिजन पनि सकिएकोे छ । दोस्रो सिजनको सिकारका लागि विभिन्न एजेन्सीले टेन्डर बोलेका थिए । ढोरपाटन सिकार आरक्ष कार्यलयका अनुसार, यस वर्षको दोस्रो सिजनका लागि एउटै झारलको सिकार गराउन दुई वटा कम्पनीले सरकारलाई १३÷१३ लाख रुपैयाँ बुझाएका छन् । सौखिन विदेशी सिकारीलाई झारल सिकार गराउन फागुन महिनाको अन्तिम साता खोलिएको टेण्डरमा हिमालयन सफारी प्रालि र ट्रेक्स एण्ड ट्रेल्सले एउटा झारलको १३ लाख ५ हजार रुपैयाँ तिर्ने सहमति अनुसार सिकार गरेका हुन् । उनीहरुले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागले बढी रकम तिर्न तयार भएका ती दुई कम्पनीलाई चैत्र महिनाको पहिलो साताकै लागि झारल सिकारको अनुमति लिई सिकार गरेर फर्केको सिकार आरक्ष कार्यालय प्रमुख अणनाथ बरालले बताए । ‘हिमालयन सफारीले ढोरपाटन सिकार आरक्षको फागुने ब्लकमा एउटा र ट्रेक्स एण्ड ट्रेल्सले गुस्तुङ ब्लकमा दुईवटा झारलको सिकार गरेको आरक्ष कार्यालय प्रमुख बरालले बताए । ढोरपाटन सिकार आरक्षमा झारल सिकारका लागि बढी रकम पहिलोपटक हो । दुई वर्षअघि झारलको सिकारका लागि एउटा कम्पनीले ९ लाख रुपैयाँ तिरेको थियो । ट्रयाक्स एण्ड ट्रेल्सका कम्पनीले एउटा झारल र एउटा नाउरको सिकार गराएको छ र उसले दुईजना अमेरिकी सिकारीलाई चैत महिनाको दोस्रो हप्ता सिकार गराएको कम्पनी संचालक दीपक शमसेर राणाले बताए । विदेशी सिकारीले एउटा वन्यजन्तुको सिकारमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको सिकार एजेन्सीे कम्पनी सञ्चालकहरुले बताएका छन् । सिकारका लागि बन्दुक र गोली भने सिकारीहरु आफैले ल्याउँने गरेका छन् । ढोरपाटन सिकार आरक्षमा सिकारका लागि बन्यजन्तु विभागले हरेक वर्षमा दुई पटक (असोज–मंसीर पहिलो सिजन र फागुन–वैशाख) मा दोस्रो सिजन गरि बन्यजन्तु सिकारका टेण्डर खोल्ने गरेको छ । सिकार एजेन्सी कम्पनीहरुले टेण्डरमा प्रतिस्पर्धा गर्छन् । दोस्रो सिजनमा ९ वटा नाउर र ३ वटा झारल र २ वटा रतुवा मृगको सिकार गराइएको आरक्ष कार्यालयका सहायक वार्डेन पशुपति सुवेदीले बताए । उनका अनुसार यसअघि असोजदेखि मंसिरसम्मको पहिलो सिजनमा ९ वटा नाउर र ३ वटा झारल गरि १२ वटा बन्यजन्तुको सिकार कोटा तोकिएको थियो । अघिल्लो सिजन (असोज–मंसीर) मा सिकार अनुमति, सिकार अनुमतिबाट ३३ लाख ६८ हजार ९ सय रुपैयाँ राजश्व जम्मा भएको थियो । यो सिजनमा सिकार अनुमपतिबाट १ करोड १३ लाख ८५ हजार २ सय ५० रुपैयाँ राजश्व जम्मा भएको ढोरपाटन सिकार आरक्ष कार्यालय प्रमुख बरालले जानकारी दिए । यस सिजनमा हिमालयनले एक झारलसहित एक नाउर, ट्रयाक्स एण्ड ट्रेल्सले दुई झारल सहित दुई नाउर, नेपाल वाईल्डलाईफ सफारी प्रा.लि.ले तीन नाउर र ग्लोबल सफारिज नेपाल प्रा.लि.ले चार नाउरको सिकार अनुमति पाएको ढोरपाटन सिकार आरक्षका वार्डेन प्रमुख अणनाथ बरालले बताए । अर्का वार्डेन सुवेदीका अनुसार, यसवर्ष अमेरिका, स्पेन, बेल्जियम, ताजकीस्थान, फ्रान्स र स्वीडेन गरि ६ वटा देशका १९ नागरिकले सिकार गरेका छन् ।
Previous Articleब्रोकर नम्बर ५९ प्रा.लि.को शाखा
Next Article १२ बैशाख २०७४, ढोरपाटन दैनिक