बागलुङ, १२ बैशाख – जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीले आगामी स्थानीय तहको निर्वाचनमा महिला तथा युवाहरुको निर्णायक तहमा व्यापक सहभागिताको आवश्यकता औल्याएका छन् । सहयात्रा बागलुङले सोमवार आयोजना गरेको महिला तथा युवा सशक्तिकरण सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रममा वत्ताहरुले नयाँ संविधानले महिलाहरुको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्नु सकरात्मक भएको भन्दै अब उपलब्धिलाई सही तवरले संस्थागत गर्नुपर्ने बताएका थिए । सांसद रत्ना शेरचनको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा उनीहरुले महिला तथा युवाहरुको प्रतिनिधित्व निर्णायक तहमा सुनिश्चित गर्न सके त्यसले समृद्धि, विकास र सुशासनमा परिवर्तन गर्न सक्ने बताएका थिए । कार्यक्रममा सांसद रत्ना शेरचनले अहिले पनि समाजमा महिलाहरुलाई परिवारको अभिभावक र पुरुषहरुले स्वतन्त्र रुपमा उम्मेदवार बन्न र मताधिकार प्रयोग गर्नमा बाधा सिर्जना गर्ने परिपाटी रहेको भन्दै यसमा अहिल्यैदेखी सुधार गर्नुपर्ने बताइन् । अर्का सांसद चम्पादेवी खड्काले महिला तथा युवाहरु सचेत र संगठित बन्न सकेमा मात्रै सकरात्मक परिवर्तनको आभाष समाजमा छिटो दिलाउन सकिने बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, सहयात्रा नेपालका संस्थापक संरक्षक जगदिशचन्द्र उपाध्याय, नेपाली कांग्रेसका जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बागलुङ नगर क्षेत्रका ७० भन्दा बढी महिला तथा युवाहरुको सहभागिता रहेको कार्यक्रम सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, कोषाध्यक्ष भगवति केसीको स्वागत मन्तव्य र सचिव हुमा रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।