म्याग्दी, १२ बैशाख – जिल्लाको बेनी नगरपालिका–५ को पुलाचौर स्वास्थ्यचौकी सोमबार उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा सम्मानित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गरेको अनुगमनका क्रममा स्वास्थ्य संस्थामा उपलब्ध सेवासुविधाको व्यवस्थापन तथा सञ्चालित गतिविधिका आधारमा जिल्लाभरमा सञ्चालित स्वास्थ्यचौकीहरुमध्ये पुलाचौरलाई उत्कृष्ट स्वास्थ्य चौकीका रुपमा सम्मान गरिएको हो । प्रतिक्षालय तथा स्वास्थ्य शिक्षा सूचना कर्नर, परामर्श केन्द्रको व्यवस्था, अन्तरव्यक्ति सञ्चार तथा परामर्श सिपको प्रयोग, परिवार नियोजन कार्यक्रमका अस्थायी सेवाहरु सबै उपलब्ध भएको, खोपकेन्द्र तथा गाउँघर क्लिनीक सञ्चालन, अनुगमनलगायतका स्वास्थ्यचौकीमा हुनुपर्ने र गर्नुपर्ने आधारभूत मापदण्ड सबै पुरा गरेको भन्दै सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ‘परिवार नियोजन, स्मार्ट बन्छ जीवन’ भन्ने मूल नारासहित एचसी थ्री म्याग्दीको सहयोग र स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न स्वास्थ्य संस्था सम्मान कार्यक्रमको अवसरमा स्वास्थ्यचौकी प्रमुख रामप्रसाद शर्मालाई उत्कृष्ट स्वास्थ्यचौकीको प्रशंसापत्र प्रदान गरिएको थियो । यसैगरी स्वास्थ्यचौकीलाई उत्कृष्ट बनाउन भूमिका खेलेको भन्दै स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी एवं कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपाने, अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरी, परिवार नियोजन सुपरभाईजर नारायण प्रसाद रेग्मी, एचसी थ्रीका अन्तरव्यक्ति सञ्चार विशेषज्ञ जया बुढाथोकी, जिल्ला संयोजक सरस्वती पुरी र बेनपा–५ का वडा सचिव कृष्णबहादुर बानियाँले अबिर तथा खादा लगाई सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. न्यौपानेले स्वास्थ्यका क्षेत्रमा अझै पनि धेरै कामहरु गर्न बाँकी रहेको हुँदा राष्ट्रिय लक्ष्य ६० भए पनि अहिले १३ प्रतिशत मात्रै उपलब्धि हासिल गरिएको जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले स्वास्थ्यचौकीको भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । एचसी थ्रीका अन्तरव्यक्ति सञ्चार विशेषज्ञ जया बुढाथोकीले आफ्नो संस्थामार्फत सञ्चालित कार्यक्रम खासगरी १५ देखि २९ वर्ष उमेर समूहका नवजोडीलक्षित रहेको बताउँदै युएसआईडीको सहयोगमा संस्था र व्यक्तिलाई सम्मान गरिएको बताइन् । जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले स्वास्थ्यका क्षेत्रमा भएका परिवर्तनहरुलाई दिगोपना दिन सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा परिवार नियोजन सुपरभाईजर नारायण रेग्मीले उत्कृष्ट हुनुका आधारहरु प्रकाश पारेका थिए ।
Previous Articleजेठ १९ बाट दोस्रो चरणको निर्वाचन कार्यक्रम
Next Article २०७४ बैशाख १२ गते मंगलबारको राशिफल