काठमाडौं, ११ वैशाख – निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । पहिलो चरणको कार्यतालिका समेत हेरफेर गरेको छ । आन्दोलतनर मधेसी मोर्चासँगको सहमतिपछि सरकारले बैशाख–३१ र जेठ–३१ दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।
सरकारको उक्त निर्णयलाई आयोगले स्विकार गर्दै निर्वाचनको नयाँ कार्यक्रम ल्याएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारको निर्णय र राजनीतिक वातावरण सहज बन्दै गएको अवस्थालाई आयोगले सकारात्मक रुपमा लिएको बताए ।
सोमबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने ‘राजनीतिक सहमतिपछि बनेको वातावरणलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ ।’ आयोगले जेठ ३१ को दोस्रो चरणका निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम ल्याएको छ । जेठ २२ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
आयोगले पहिलो चरणको निर्वाचन कार्यक्रमलाई हेरफेर गर्दै बैशाख १९ गते उम्मेदवार मनोनयको दर्ता दिन तोकेको छ । यसअघि १६ गते उम्मेदवारीको दिन तोकिएको थियो । मधेसी मोर्चाको माग अनुसार सरकारले आयोगलाई उक्त अवधि बढाउन आग्रह गरेको थियो ।
Previous Articleउम्मेदवारको नाम प्रदेश कमिटीमा
Next Article पुलाचौर स्वास्थ्य चौकी उत्कृष्ट घोषित