बागलुङ, ११ बैशाख – नेकपा एमाले जिल्ला कमिटी बागलुङको आईतवार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनका लागि बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरी पठाएको छ । बैठकले बागलुङ नगरपालिकाको मेयरमा जनक पौडेल, ममतादेवी शर्मा र सुवास राजभण्डारी र उपमेयरमा गीता शर्मा एक जनाको मात्र नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव लालबहादुर थापाले जानकारी दिए । जैमिनी नगरपालिकाको मेयरमा निवर्तमान जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मालाई सिफारिस गरिएको छ भने उपमेयरका लागि सावित्रा राना र इन्द्र शर्माको नाम सिफारिस गरिएको छ । बैठकले गल्कोट नगरपालिकाको मेयरमा यामबहादुर श्रीस र उपमेयरमा रत्ना भण्डारीलाई सिफारिस गरेको छ । बुर्तिवाङ नगरपालिकाको मेयरमा लक्ष्मण पुन, डिलबहादुर विक, मनकुमारी गैरे, उपमेयरमा सीता कँडेल, करमती पुन र चिन्तामणी कँडेलको नाम सिफारिस गरेको छ । यस्तै, काँठेखोला गाउँपालिकाको अध्यक्षमा अमर थापा, डिलबहादुर कार्की र परमानन्द कँडेल तथा उपप्रमुखमा कोपिला पुन, गंगाकुमारी शर्मा र हुमाकुमारी जिसी ‘अन्जु’ को नाम सिफारिस गरिएको सचिव थापाले बताए । ताराखोला गाउँपालिका प्रमुखमा सञ्जय श्रेष्ठ र उपप्रमुखमा हिरादेवी घर्ती तथा बरेङ्ग गाउँपालिकाको अध्यक्षमा धनिश्वर पौडेल र उपाध्यक्षमा दुर्गा थापाको नाम सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी, निसीखोला गाउँपालिका प्रमुखमा लालवीर लोप्चन, रुद्र पौडेल र उपप्रमुखमा दुर्गा पौडेल, छमी घर्तीको नाम सिफारिस भएको छ भने तमानखोला गाउँपालिका प्रमुखमा उदीम छन्त्याललाई सिफारिस गरिएको छ ।
Previous Articleजैमिनी नगरपालिकामा केन्द्रबाट जो उठ्दैछन्
Next Article जेठ १९ बाट दोस्रो चरणको निर्वाचन कार्यक्रम