पर्वत, ११ बैशाख – नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले बजेट पारित भएलगत्तै सरकार परिवर्तन हुने बताएका छन् । पूर्वमन्त्री शर्माले माओवादी नेतृत्वकै सरकारले जेठ १५ गतेको बजेट ल्याउने बताए । ‘पहिलो चरणको निर्वाचन र बजेट यहि सरकारले ल्याउँछ’ उनले भने, ‘बजेट पछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ र दोस्रो चरणको चुनाव हुन्छ ।’ उनले संविधानमै व्यवस्था भएकाले चुनावकै बीचमा बजेट सार्वजनिक गर्न कुनै आचारसंहिता नलाग्ने समेत स्पष्ट गरेका थिए । उनका अनुसार, वैशाख तेस्रो साता देउवाको नेतृत्वमा सरकार निर्माण हुने भएको छ । अर्को प्रसंगमा शनिवार भएको मोर्चा र सरकारबीचको सहमतिलाई एमालेले पनि समर्थन गर्ने दावी गरे । पर्वत सदरमुकाम कुश्माबजारमा आएका शर्माले स्थानिय तहको निर्वाचनको ग्यारेण्टी गर्नका लागि दुई चरणमा गर्ने सहमति भएको दावी गरे । उक्त सहमति नमाने एमाले निर्वाचन बिरोधी ठहरीने उनको भनाई छ । उक्त सहमतिसँगै सबै दल निर्वाचनमा सहभागि हुने बातावरण बनेको बताउँदै यो सवैभन्दा ठुलो उपलव्धी भएको उनले बताए । स्थानिय तहको निर्वाचनलाई ग्यारेण्टी गर्नका लागि मोर्चा र सरकारबीच तीन बँुदे सहमति भएको बताउँदै शर्माले यसमा एमालेले बिरोध जनाउनुपर्ने कारण नभएको बताए । ‘एमालेजस्तो जिम्मेवार पार्टी चुनावबाट भाग्न सक्दैन जसरी पनि सहमतिमा आउनुको विकल्प छैन’ उनले भने । स्थानिय तहको चुनाव दुई चरणमा गर्न आयोगसमेत लचिलो देखिएकाले बाँकी प्रदेशमा पछाडि गर्न कुनै समस्या नभएको उनले बताए । उनले बाबुराम भट्टराई लगायत साना दलको बिरोधले कुनै असर नगर्ने पनि बताए । आफैले बनाएको संविधान विपरित हिड्न खोज्नु बाबुराम भट्टराईको राम्रो नियत नभएको समेत उनले आरोप लगाए । सवै दलको सहमतिमा निर्वाचन भयोभने मुलुक र जनताका लागि समेत राम्रो हुने भएकाले सरकार निरन्त प्रयन्नशिल गरिरहेको पनि शर्माको भनाई छ । उनले भने ‘जेठभित्र स्थानिय तहको चुनाव गरिसकेपछि आगामी माघ महिनाभित्र अन्य दुईवटा चुनाव गर्न सकिन्छ ।’ लामो संघर्षपछि प्राप्त संविधानको सफल कार्यान्वयनका लागि चुनाव आवश्यक रहेको बताउँदै उनले मुलुक नै चुनावमय भैसकेको अवस्थामा कतै हुँदैन कि भनेर आशंका लिनुपर्ने अवस्था नभएको बताए ।
Previous Articleराष्ट्रपतिलाई भारतमा अपमान र राष्ट्रवाद
Next Article वर्षा पम्प निर्माणसंगै संचालनमा