पर्वत, १० बैशाख – यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्वतको कुस्मा नगरपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवारका लागि दुई जनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।
सिफारिस हुनेमा एमाले संघीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी र एमाले पर्वतका पूर्वक्षेत्रीय अध्यक्ष शान्त पौडेल छन् । एमाले कुस्मा नगर कमिटीको बैठकले दुई जनाको नाम प्रदेश कमिटीलाई पठाउने निर्णय गरेको नगर कमिटीका संयोजक याम गुरुङले जानकारी दिए । पार्टीका जिल्ला अध्यक्ष पदम गिरीको पहलमा प्रमुख पदका आकांक्षी मनोहरबी पौडेल, मेघनाथ सुवेदी, गोविन्द पहाडी र शान्त पौडेल समेतको छलफलमा सहमति कायम भएपछि बैठकले अन्तिम रुप दिएको हो । त्यसैगरी नगर उपप्रमुखका लागि पनि चार जनाको दाबी रहेको छ । उपप्रमुखका विषयमा थप छलफल गरी प्रदेशमा सिफारिस गरिने बताइएको छ । उपप्रमुख उम्मेदवार दाबेदारमा जिल्ला सदस्य गंगा रिमाल, सरिता भण्डारी, मुगा पोखरेल र सीतादेवी देवकोटा रहेका छन् । एमाले पर्वतले जिल्लाका अधिकांश वडामा पनि सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । चुनावमा आफ्नो पक्षमा जित हासिल गर्नका लागि सर्वसम्मत रुपमै उम्मेदवारी चयनलाई जोड दिइएको पार्टीले जनाएको छ । जिल्लाका दुई नगरपालिका, पाँच गाउँपालिकाका ६१ वडामध्ये ४० भन्दा बढीमा सर्वसम्मत रुपमा उम्मेदवार चयन भएको एमाले पर्वतका प्रचार विभाग सचिव किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार, कुश्मा र फलेवास नगरपालिका बाहेक अन्य गाउँपालिकाका वडामा उम्मेदवारी चयन भइसकेको छ ।
एमाले वडिगाडमा सर्बसम्मत
एमालेले आगामी स्थानिय तहको निर्वाचनका लागि बडिगाड गाउँपालिकाबाट उम्मेद्वार सर्बसम्मत चयन गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्ष र सदस्यको पनि नाम टुङ्ग्याईएको हो । गाउँपालिका स्तरिय कमिटिको बैठकले सर्बसम्मत उम्मेद्वार चयन गरेको क्षेत्रीय सदस्य दिनेश शर्माले बताए । गाउँपालिका अध्यक्षमा मेयरसिंह पाईजा र उपाध्यक्षमा उषा घिमिरेलाई चयन गरिएको हो । यसअघि गाउँपालिका अध्यक्षमा ३ जना र उपाध्यक्षमा ६ जनाको दाबी रहेको थियो । छलफलपछि सर्बसम्मत गरेर १/१ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको शर्माको भनाई छ । बैठकले वडा १ को अध्यक्षमा बिना थापा, २ को अध्यक्षमा विष्ष्णु भुषाल र ३ को अध्यक्षमा खडकबहादुर पुनलाई सर्बसम्मत गरेको छ । त्यस्तै वडा ४ मा प्रेम गलामी, ५ मा कमलराज आचार्य, ६ मा भने मनकुमारी श्रेष्ठ र फौजबहादुर केसी गरि वडा अध्यक्षमा दुई जनाको नाम जिल्लामा सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।
कांग्रेसमा १० आकांक्षी
फलेवास नगरपालिका प्रमुखमा अन्य दलभन्दा बढी आकांक्षाी नेपाली काँग्रेसमा देखिएको छ । काँग्रेसबाट प्रमुखमा लागि दश र उपप्रमुखमा पाँच जना आकांक्षी छन् । नगर प्रमुखका लागि काँग्रेसबाट गंगाधर तिवारी, राधाकुमारी क्षेत्री, गंगाराज शर्मा, युक्तप्रसाद श्रेष्ठ, थमानसिंह थापा, कृष्ण गौडेल, शैलेन्द्र शर्मा गौडेल, ढकप्रसाद तिवारी, ख्यामबहादुर क्षेत्री र अच्चुत तिवारीलगायत तथा उपप्रमुखका लागि रेखा गुरुङ, मिलन सुवेदी, मुना भुसाल, पीताम्बर पौडेल र जितबहादुर नेपालीले दाबी गरेका छन् । प्रमुखमा महिलाले दाबी गरेपछि उपप्रमुखमा पुरुषले पनि आकांक्षा देखाएको काँग्रेस पर्वतले जनाएको छ ।
Previous Article२०७४ बैशाख १० गते आईतबारको राशिफल
Next Article स्वच्छ वातावरण मौलिक हक