बागलुङ, ९ बैशाख
नेकपा माले बागलुङकी जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुमा कुमारी खड्का सहित मालेका जिल्लाका धेरै नेताहरु र अखण्ड नेपाल पार्टीका अध्यक्ष रुद्र महत नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले बागलुङले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नेकपा मालेकी राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुमा कुमारी खड्का, शिक्षक संगठनका केन्द्रिय सदस्य लक्ष्य रायमाझी, याम बहादुर थापा, राम बहादुर केसी, नगर कमिटि संयोजक कमल खड्का, जिल्ला सचिवालय सदस्य विर बहादुर खत्री, सोम अर्याल, ज्ञान बहादुर थापा, जंग बहादुर थापा, जय प्रसाद शर्मा, हिमाल थापा, राम बहादुर केसी विदेश सम्पर्क समाजका सदस्य सुर्य केसी, विद्यार्थीहरु सम्झना केसी, अनुल केसी र आशिष खड्का र अखण्ड नेपाल पार्टी बागलुङका अध्यक्ष रुद्र महतलाई अविर र दोसल्लाले नेकपा एमालेकी बागलुङ इन्चार्ज मनकुमारी केसी र जिल्ला तहका नेताहरुले स्वागत गरेका थिए ।
पार्टी प्रवेश अवसरमा बोल्दै नेकपा मालेकी राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुमा कुमारी खड्काले देशको विकास र निकासको लागि एमालेले लिएको सिद्धान्त र पार्टीको धाराणाले गर्दा मात्र सम्भव देखिएकोले एमालेमा प्रवेश गरेको बताइन ।
माले र एमालेको सवै सिद्धान्तहरु मिले पनि देश विकास र निकासको लागि माले अहिले पछि परेको खडकाले बताइन । उनले आफु पद भन्दा पनि देश विकासको लागि एमालेमा प्रवेश गरेका बताइन ।
उक्त अवसरमा बोल्दै अखण्ड नेपाल पार्टीका अध्यक्ष रुद्र महतले देशको स्वाभिमानको लागि एमालेले लिएको अडानले गर्दा आफु एमालेमा प्रवेश गरेको बताएका थिए । उनले भारतले नेपालमा नाकाबन्दी गर्दा पनि एमालेले देशको स्वाभिमानको लागि नझुकेको बताउँदै अब पनि देशको स्वाभिमान र विकासको लागि देशमा एमालेको आवश्यकता रेहेका बताइ ।
पार्टी प्रवेशको अवसरमा बोल्दै नेकपा एमालेकी जिल्ला इन्चार्ज मन कुमारी केसीले अहिले देशमा एमालेको आवश्यकता भएको र एमालेले मात्र देश विकास गर्न सक्ने बताएकी थिइन । उनले अहिले देश एमालेमय भएको बताउँदै स्थानीय निकायको चुनावमा एमालेलाई जिताई देश विकासमा सहयोग पु¥याउनको लागि सवैलाई अनुरोध गरेकी थिइन ।
नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मालेबाट प्रवेश गरेका लक्ष्य रायमाझीले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको संचालन जिल्ला कमिटिका सचिव लाल बहादुर थापाले गरेका थिए ।