बागलुङ, ९ बैशाख – नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष प्रमोदकुमार श्रेष्ठ र चन्द्र ढकालले पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणमा सहयोगको प्रतिवद्धता जनाएका छन् । शाखाले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै दुवै उपाध्यक्षले भवन निर्माण लगाएतका कार्यमा पत्रकार महासंघसँग सहकार्य गर्ने बताएका हुन् । सोही अवसरमा जिल्ला–नगरतर्फका उपाध्यक्ष श्रेष्ठले रु. २५ हजार सहयोगको घोषणा समेत गरेका थिए । उनले पत्रकारिता पेशाको उत्थानमा उद्योगी, व्यवसायीहरु सँधै साथ रहने उल्लेख गरे । उपाध्यक्ष श्रेष्ठले पत्रकारहरुलाई सकारात्मक समाचार सम्प्रेषणमा विशेष जोड दिन आग्रह समेत गरे । एशोसियट तर्फका उपाध्यक्ष चन्द्र ढकालले पनि पत्रकार महासंघको भवन निर्माणमा यथोचित सहयोग गर्ने वचन दिएका छन् । ढकालले व्यवसायिक र सामाजिक काममा आफू सँधै साझेदार बन्न चाहेको बताए । ‘धवलागिरि क्षेत्रमा हुने कुनैपनि व्यवसायिक र सामाजिक गतिविधिमा म संलग्न हुन चाहन्छु’ ढकालले भने । उनले पत्रकार महासंघ जस्तो समाजको पवित्र र जिम्वेबार संस्थालाई सबै पक्षको साथ, सहयोगको खाँचो औंल्याए । कार्यक्रममा शाखाका अध्यक्ष दिल शिरीषले भवन निर्माणको लागत योजनासहित सहयोगको प्रस्तावनापत्र श्रेष्ठ र ढकाललाई प्रदान गरेका थिए । सो क्रममा बोल्दै अध्यक्ष शिरीषले भवन निर्माणमा उद्योगी, व्यवसायीहरुबाट पनि सहयोगको अपेक्षा गरिएको बताएका थिए । ‘यहाँहरु निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको उच्च नेतृत्वमा पुग्नुभएको छ’ अध्यक्ष शिरीषले भने ‘पत्रकार महासंघको भवन बनाउने कार्यमा यहाँहरुको सहयोग र समन्वयको अपेक्षा गरिएको छ ।’ विभिन्न संस्था, सरकारी निकाय, व्यक्ति लगाएतबाट रु. २५ लाख संकलन भइसकेको भन्दै भवनको निर्माण कार्य शिघ्र सुरु हुने अध्यक्ष शिरीषले जानकारी दिए । सोही अवसरमा शाखाका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पत्रकार महासंघको भवन निर्माणको उद्देश्यबारे प्रकाश पारेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष द्वय र केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठलाई महासंघका अध्यक्ष शिरीष लगाएतका पदाधिकारीहरुले स्वागत गरेका थिए । महासंघको इतिहासमा धवलागिरि क्षेत्रले पहिलोपटक केन्द्रीय नेतृत्व पाएको हो । उपाध्यक्ष श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्ष, केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष पदमा पुगेका हुन् । मुलुककै प्रतिष्ठित उद्यमीको रुपमा परिचित ढकालको गृहजिल्ला पनि बागलुङनै हो । बागलुङ निबासी केन्द्रीय सदस्य श्रेष्ठ यसअघि पनि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य थिए । महासंघको ५१ वार्षिक साधारण सभाबाट हालै निर्वाचित भएका उपाध्यक्षद्वय र केन्द्रीय सदस्य श्रेष्ठलाई शुत्रबार बागलुङ उद्योग वाणिज्य संघले पनि सम्मान गरेको छ ।