मुस्ताङ, ९ वैशाख
मुक्तिनाथ मन्दिरबाट जोमसोमतर्फ आउँदै गरेको बस आज (शनिबार) दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दिउँसो साढे १२ बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित मन्दिर जान लागेको ना ५ ख ६०६७ नं को बस सडकमा पल्टिएको हो । बसले थिचिएर ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ३० जना घाइते छन् । बसमा कति जना यात्रु थिए भन्ने खुल्न सकेको छैन । प्रहरीको पहलमा काठमाडौंबाट घाइतेको उपचारका लागि सेनाको हेलिकप्टर मगाइएको छ । बस दुर्घटना भएको स्थान ठूलो भीर छ । संयोगले भीरबाट बस खस्नबाट बचेको प्रहरीले जनायो ।
मृतक कसैको पनि सनाखत हुन सकेको छैन । मृत्यु हुनेहरु सबै काठमाडौं उपत्यकाका हुनसक्ने प्रहरी अनुमान छ । केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा उपचारका लागि ल्याइएको छ । दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट २३ किमि उत्तरमा पर्छ ।