म्याग्दी, ८ वैशाख – आगामी वैशाख ३१ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीब्र पारिएको छ । स्वयंसेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनालगायत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सबै तयारीलाई तिब्रता दिइएको हो । हालसम्म मतदाता विवरण अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र निर्धारण, म्यादी प्रहरी भर्ना, नियुक्ति र तालिम, निर्वाचनमा खटाइने कर्मचारीको विवरण सङ्कलन र अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीमा स्थानीय तहको निर्वाचनका लागि जम्मा ७२ ओटा मतदानस्थल र १०२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए । निर्वाचन आयोगमार्फत प्राप्त सूचना र पछिल्लो जानकारीका विषयमा समेत जिल्लास्थित राजनीतिक दल, सरकारी अधिकारीलगायतसँग वैठक बसिएको उनले बताए । उनका अनुसार यही वैशाख १६ गते उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिने र १७ गते दावी विरोध दर्ता गर्ने चुनाबी कार्यतालिका रहेको छ । यसैगरी १८ गते मनोनयपत्रमाथी जाँचबुझ, सोही दिन उम्मेदवारको नामावली प्रकाशन र नामावली फिर्ता लिन पाउने, १९ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाब चिह्न प्रदान एवं ३१ गते मतदानको कार्यक्रम तय भएको निर्वाचन अधिकारी पौडेलको भनाई छ । यसैबीच म्याग्दीका राजनीतिक दलहरु नगरपालिका, गाउँपालिका र वडाको उम्मेदवार छान्न व्यस्त रहेका छन् । जिल्लादेखि गाउँ तहसम्म चुनाबी सरगर्मी बढेको छ भने दलहरु चुनावकेन्द्रीत अभियानमा जुटिरहेका छन् ।
मतदाता ७१ हजारः
म्याग्दी जिल्लामा २०६८ सालको जनगणनाअनुसार १ लाख १३ हजार ६ सय ४१ कुल जनसंख्या रहेको छभने तीमध्ये १३ हजार विदेशमा रहेको तथ्याङ्क छ । स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता ७१ हजार ४ सय ६३ जना रहेको निर्वाचन अधिकारी पौडेलले बताए । तीमध्ये ३७ हजार ६ सय ७२ जना महिला र ३३ हजार ७ सय ९० पुरुष तथा १ जना तेस्रोलिङ्गी मतदाता रहेको उनको भनाई छ । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कुल ५६ हजार ५ सय ५३ मतदाता थिएभने ४१ हजार १ सय ९६ मत खसेको थियो ।
१२ ओटा दल दर्ताः
स्थानीय तहको निर्वाचनमा भाग लिन भन्दै म्याग्दीमा विभिन्न १२ ओटा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, अखण्ड नेपाल पार्टी, नेकपा माले, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र नेपाल दलित पार्टी दर्ता भएको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अरविन्द झाले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाः
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि म्याग्दी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यक्रमअनुसार आइतबार म्याग्दीमा पनि जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश रामप्रसाद शर्मालाई नियुक्त गरिएको छ । यसैगरी म्याग्दीका पाँचवटा गाउँपालिकामा निर्वाचन अधिकृतहरुको कार्यालय भने यही वैशाखको १२ गते स्थापना गरिने बताइएको छ ।
१०२ जना स्वयंसेवक परिचालनः
स्थानीय तह निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा १ सय २ जना स्वयंसेवकहरु परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाको १ नगरपालिका र ५ वटा गाउँपालिकाको ४५ ओटा वडा र टोलहरुमा मतदाताहरुलाई मतदाता शिक्षा दिनका लागि स्वयंसेवकहरु परिचालन गरिएको बताइएको छ । सामाजिक परिचालक, प्रारम्भिक बाल शिक्षाका सहयोगी कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मतदाता शिक्षा प्रदान गरी गाउँगाउँमा खटाइएको निर्वाचन अधिकारी पौडेलले जानकारी दिए । खासगरी यसपालीको निर्वाचनमा एउटै मतपत्रमा धेरै छाप लगाउनुपर्ने भएको हुँदा मत बदर हुन सक्ने सम्भावना बढी भएकोले स्वयंसेवकहरुले मतदातालाई मत हाल्ने तरिका र मत बदर हुन नदिन सिकाउने छन् ।
चारसय म्यादी प्रहरी छनोटः
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ४ सय १८ जना म्यादी प्रहरीहरु छनोट गरिएको र तीमध्ये ६६ जना महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सामान्य, संवेदनशील र अतिसंवेदनशील निर्वाचनस्थलमा क्रमशः ४, ५ र ६ जनाका दरले म्यादी प्रहरी खटाइने म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताइन । नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र राष्ट्रिय अनुसन्धानसहित चारवटै सुरक्षा निकायले म्यादी प्रहरीलाई साथमा लिएर चुनावलाई भयरहित, शान्त बनाई सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरिएको उनले बताईन् । म्यादी प्रहरीमा भर्ना भएका प्रहरीहरुलाई सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरबाङ बजारमा दुई समूहमा बाँडेर सैद्धान्तिक र प्रयोगात्मक तालिम सञ्चालन गरिएको छ । उक्त तालिममा निर्वाचन आचारसंहिता, लाठीको प्रयोग, व्यवहार प्रदर्शन तथा आचरण, आफ्नो र मतदाताको सुरक्षालगायतका विषयमा सहजीकरण गरिएको प्रनाउ खडकाको भनाई छ । म्यादी प्रहरीमा अधिकांश युवा पुस्ताको उत्साहजनक सहभागीता रहेको प्रहरीले बताएको छ ।
Previous Articleएक दिने सहकारी शिक्षा तथा सचेतना कार्यक्रम
Next Article २०७४ बैशाख ८ गते शुक्रबारको राशिफल