म्याग्दी, ७ बैशाख – जिल्लाको बेनी नगरपालिका–९ घतानको नेप्टेचौर र काउलेगौंडामा सञ्चालित दुईवटा व्यवसायको बुधबार अनुगमन भएको छ ।
गरिबी निवारण कोषको आर्थिक सहयोग र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी)को प्राविधिक सहयोगमा सञ्चालित व्यवसायको स्थलगत अनुगमन गरिएको हो । परम्परागत सिप तथा व्यवसायिकता विकास कार्यक्रमअन्तर्गत सिस्नो पाउडर तथा आरन व्यवसायको अनुगमन एवं निरीक्षण गरिएको डिसीआरडिसीले जनाएको छ ।
नेप्टेचौरमा १६ जना महिलाहरुलाई गलेश्वर सिस्नो पाउडर उत्पादन समूहमाआबद्ध गराई विभिन्न समयमा तालिम दिनुका साथै आवश्यक बजेट सहयोग र व्यवस्थापन गरिएको छ ।
यसैगरी काउलेगौंडामा आदर्श कृषि औजार उत्पादन समूहमार्फत परम्परागत आरन व्यवसाय गर्दै आएका १७ जनालाई सहभागी गराई तालिम तथा आवश्यक अनुदान सहयोग गरिएको बताइएको छ । परम्परागत आरन व्यवसायलाई आधुनिकीकरण, व्यवसायिकरण र व्यवस्थित बनाउन थप औजार तथा बजेटको आवश्यकता रहेको समूहका अध्यक्ष विदुर विश्वकर्माले बताएका थिए ।
Previous Articleविपन्न विद्यार्थीलाई जुत्ता प्रदान गरियो
Next Article २०७४ बैशाख ७ बिहीबारको राशिफल