बागलुङ, ५ चैत-राष्ट्रिय जनमोर्चाको राष्ट्रिय प्रचारात्मक अभियान सोमबार निसीखोला गाउँपालिकाको झिवाखोलामा सम्पन्न भएको छ । जिल्लाको पश्चिम निसीखोला गाउँपालिका समन्वय समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका जनप्रतिनिधिहरुको प्रतिवद्धता तथा घोषणा पनि गरिएको थियो । प्रजातान्त्रिक विकेन्द्रियता, संविधानको कार्यान्वयन र स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मतदान भन्ने नारा सहितको राष्ट्रिय प्रचारात्मक अभियानको कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चा निसीखोला समन्वय समितिका सह संयोजक तथा जिल्ला सदस्य थम्मनबहादुर घर्तिको अध्यक्षता रहेको राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष तथा साँसद मीना पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै ब्यबस्थापिका संसदका साँसद मिना पुनले अहिलेका ठूला दलहरुकै कारण स्थानीय तहको निर्वाचन २०औं वर्षसम्म नभएको भन्दै यो निर्वाचनलाई एकै समयमा ताकिएकै मितिमा सम्पन्न गर्नु पर्नेमा उनले जोड दिइन् । यसैबीच राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा निसीखोला गाउँपालिकामा राष्ट्रय जनमोर्चाका तर्फबाट गाउँपालिका प्रमुख पदका उमेदवार खिमबिक्रम शाहीले आफू सधै जनताकै बीचमा कामगर्दै आएको तथा विगतको संकटकाल देखि १९ वर्षै शिक्षण पेशामा रहँदासम्म पनि जनताका सामाजिक कार्यमा क्रियाशील रहँदै आएकाले जनताले आफूलाई सम्मान पूर्वक मतदान गर्ने अपेक्षा राखेको बताए । कार्यक्रममा नेकपा मसालका केन्द्रिय प्रवत्ता विमल शर्मा ,अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नारायण सापकोटा , निसीखोला गाउँपालिकाका उपप्रमुख पदका उमेदवार भाटुकुमारी चन्द, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार रामबहादुर चन्द अखिल छैठौंका केन्द्रिय महासचिव भिमलाल पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले साँस्कृतिक प्रस्तुति राखेका थिए । राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिका समन्वय समितिका ढालेन्द्र हमालको स्वागत मन्तव्य, र अखिल छैठौंका जिल्ला अध्यक्ष शीव चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच राष्ट्रिय जनमोर्चाका तर्फबाट व्यवस्थापिका साँसदमा सहभागी साँसद मीना पुनको प्रमुख आतिथ्यतामा सोमबारै निसीखोला गाउँपालिकाको कार्यालय झिवाखोलामा उदघाटन गरिएको छ । निर्वाचन केन्द्रित कार्यक्रमका शीलशीलामा आज गाउँपालिकाको कार्यालय रिवन काटेर उदघाटन गरिएको बताइएको छ । निसीखोला गाउँपालिका अन्तरगतका कार्यकर्ताहरुको उपस्थितिमा कार्यालय उदघाटन गरिएको त्यहाँबाट मिलन हमालले बताउनुभएको छ । यस्तै सोमबारै निसीखोला गाउँपालिकाको वडा नं. १, २ र ४ को सम्पर्क कार्यालय देविस्थानको खाडुमा उदघाटन गरिएको बताइएको छ ।