बागलुङ, ४ वैशाख-मुलुकको समग्र आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट नीति र दृढ अडान भएको एमालेको नेतृत्व आवश्यक पर्ने एमाले नेताहरुले बताएका छन् । नेकपा एमाले काँठेखोला गाउँपालिका संगठन कमिटिले उम्मेदवार छनोटका लागि आयोजना गरेको विस्तारित बैठकका सहभागीले यस्तो बताएका हुन् । छोटो समय सरकारको नेतृत्व गर्दा पनि देशलाई आमुल परिवर्तन गर्न सक्ने योजना ल्याउने एमालेलाई जिताउन सकेमा मात्रै मुलुकलाई समृद्ध र आत्मनिर्भर बनाउन सकिने उनीहरुको दाबी थियो । स्रोत साधनले पूर्ण काँठेखोला गाउँपालिकाको समृद्धका लागि दिगो विकासको परिकल्पना गर्ने पार्टीका उमेदवारलाई निर्वाचनमा जिताउनु पर्नेमा उनीहरुको जोड थियो । काठेखोला गाउँपालिकाको समग्र विकासका लागि एमालेको नीति र एमालेकै नेतृत्व केन्द्रदेखि गाउँपालिका र वडासम्म आर्थिक विकास र सामाजिक रुपान्तरणका विषयमा एमालेको नीति र नेतृत्व सबल, सक्षम र संवेदनशिल रहेकोले एमालेलाई अगाडि बढाउन वक्ताहरुले आव्हान गरेका हुन् । एमालेका उम्मेदवारले निर्वाचन केन्द्रित अभियानमा जनताका बीचमा लैजाने प्रतिवद्धता तथा निर्वाचन पछि गर्ने कामका बारेमा पार्टीको केन्द्रले बनाएका योजनासंगै काँठेखोलाका बारेमा छलफल भएको थियो । नेकपा एमाले काँठेखोला गाउँपालिकाका ८ वटै वडाका अध्यक्षहरुले आ–आफ्नो वडाको अवस्था, विकास निर्माण लगायत समग्र परिवर्तनका लागि एमालेको नेतृत्व आवश्यक पर्ने धारणा राखेका थिए । कार्यक्रममा काँठेखोला गाउँपालिकाको आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि एमालेले अगाडि बढाउने योजनाका बारेमा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले जानकारी गराएका थिए । यसैबीच स्थानीय तह निर्वाचनका क्रममा काठेखोला गाउँपालिकाको अध्यक्षमा ८ जना र उपाध्यक्षका लागि ३ जनाले आफ्नो चाहना व्यक्त गरेका छन् । एमाले जिल्ला सदस्य अमर थापा, क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिका संगठन कमिटिका संयोजक डिल्लीराज गौतम, पूर्वजिल्ला सल्लाहकार परमानन्द कँडेल, पूर्वजिल्ला सचिवालय सदस्य बालकृष्ण कँडेल, पूर्वजिल्ला सदस्य भीमबहादुर थापा, इञ्जिनियरिङ एशोसियसनका खिमानन्द कँडेलले अध्यक्षमा आकांक्षा प्रस्तुत गरेका थिए । त्यस्तै गाउँपालिका उपाध्यक्षमा जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका सह–संयोजक अञ्जु जि.सी.(हुमा), जिल्ला सदस्यहरु गगांकुमारी शर्मा र कोपिला पुनले आकांक्षा प्रस्तुत गरेका थिए । पहिलो चरणमा चाहना बुझ्दा ८ जनाले अध्यक्षमा र ३ जनाले उपाध्यक्षमा दावी गरेको र गाउँपालिका सचिवालय कमिटिले छलफल गरेर जिल्लामा उमेदवारको नाम सिफारिस गर्ने जनाइएको छ । उमेदवार छनोटका लागि आयोजित विस्तारित बैठकको अध्यक्षता काँठेखोला गाउँपालिका संगठन समितिका संयोजक डिल्लीराज गौतमको अध्यक्षता र सहसंयोजक अञ्जु जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleएकै चरणमा निर्वाचन गर्नुपर्छः नेता पौडेल
Next Article बस दुर्घटना हुँदा बागलुङको बिहुँमा १५ जना घाईते