बागलुङ, ४ वैशाख-नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एकैचरणमा निर्वाचन गर्नुपर्ने बताएका छन् । नेपाल भूतपूर्व सैनिक संघको नवौं साधारणसभाका लागि बागलुङ आएका पौडेलले निर्वाचन नहुने अवस्था आएमा एकसय बर्षको उपलब्धी गुम्ने चिन्ता पनि व्यक्त गरे । उनले दुइ चरणमा निर्वाचन गर्ने भनि आएका टिप्पणी प्रति खण्डन गर्दै एकै चरणमा हुनुपर्ने बताए । ‘बरु प्राविधिक रुपमा सकिंदैन भने ५ देखि १० दिनपछि गरौं, तर देशभरी एउटै चरणमा चुनाव गर्नुपर्छ’ पौडेलले भने, ‘दुइ चरणमा गर्ने, पहाड र तराई छुट्टयाएर गर्ने कामले संविधान कार्यान्वयन जटिल बन्नेछ ।’ उनले देशमा उठेको विखण्डनको भूमरीमा राजनीति पनि पर्ने शंका उनले व्यक्त गरेका थिए । यस अघि नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि पौडेलले निर्वाचन हुन नदिने खेलप्रति सचेत रहनुपर्ने धारणा राखेका थिए । पौडेलले मधेसीले पटक–पटक माग राखेर निर्वाचन लाई अप्ठ्यारो पारेको पनि टिप्पणी गरेका थिए । उनले जनताको चाहना विपरित गएमा मधेसी पनि प्रजातन्त्र विरोधीको नाउमा सूचिकृत हुन सक्ने बताए । मागेको कुरा पुरा भएपछि इमान्दारीता देखाउन उनले आग्रह गरे । मधेसीलाई अप्ठ्यारो पर्दा कांग्रेसलाई दुख्ने गरेको भन्दै पौडेलले एमालेलाई पनि अप्ठ्यारो नपारी संविधान कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । ‘उत्तेजनामा गएर मात्र राष्ट्रवादी भईदैन’ पौडेलले भने, ‘राष्ट्रबादको कुरा गर्दा हिमाल, पहाड र तराईलाई समान देख्न सक्नुपर्छ ।’ अतिराष्ट्रवाद देखाएर मधेसलाई नभाँड्न उनल एमालेलाई आग्रह पनि गरे । भूपू सैनिकको कार्यक्रममा पौडेलले प्रदेश नम्बर ४ लाई नमूना प्रदेश बनाउने घोषणा पनि गरेका थिए । ‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि पर्यटनमा यो क्षेत्रनै पहिलो हुन्छ’ पौडेलले भने, ‘उर्जाको संभाव्यतालाई अधिकतम उत्पादन गरेर देशै उज्यालो बनाउने र राजश्व संकलनमा पनि उत्कृष्ठ बन्न सकिन्छ ।’ उनले हिमाल पहाड र तराई समेत भएकोले कृषि उत्पादनबाट आत्मनिर्भर बन्न सकिने उनले तर्क गरे । पौडेलले राष्ट्रिय राजनीतिको निकासका लागि प्रधानमन्त्रीले फोन गरेर छिटो छलफल गर्ने भनेपछि कार्यक्रम छोट्याएर राजधानी फर्कन लागेको पनि बताए । पौडेलले ६० बर्षको संघर्षबाट प्राप्त उपलब्धी र समावेशी अधिकार सहितको संविधान रक्षाका लागि पद छाडेर पनि निकास दिने नेता चाहिएको बताए । त्यसका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसीमोर्चाको एकता आवस्यक भएको पनि बताए । जनताको निर्वाचन प्रतिको उत्साहलाई नेताहरुको छलकपटले निरुत्साहित पार्न खोजिएको पौडेलको टिप्पणी समेत थियो । भूपू सैनिक संघका जिल्ला अध्यक्ष हरिबहादुर भण्डारीको अध्यक्षता, टोपबहादुर मल्ल र नरबहादुर किसानको संचालन तथा नारायण ध्वज मल्ल स्वागतमा सम्पनन कार्यक्रममा भूपूसैनिक संघका केन्द्रीय अध्यक्ष धनबहादुर मास्की राना कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशी, रत्ना शेरचन, सांसद प्रकाश शर्मा पौडेल, चम्पा खड्काले बोलेका थिए । साथै कार्यक्रममा पार्टी सभापति दिपेन्द्र बहादुर थापा, क्षेत्रीय सभापति चिरन्जिवि गौतम, नेविसंघका अध्यक्ष खड्ग थापा र खड्गकुमारी खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।
एकै चरणमा निर्वाचन गर्नुपर्छः नेता पौडेल
Previous Article४ वैशाख २०७३, ढोरपाटन दैनिक
Next Article एमाले काठेखोला गाउँपालिकाको बैठक