काठमाडौं, ३ बैशाख – देशभरका १५९ स्थानीय तह निमित्त कार्यकारीका भरमा सञ्चालन भइरहेका छन्। घर नजिकै सिंहदरबारको सेवा सुविधा पाउने आशमा बसेका यी स्थानीय तहवासी एक महिनादेखि कार्यकारी अधिकृत आउने आशमा बस्न बाध्य छन्। कर्मचारी व्यवस्थापनका सन्दर्भमा स्थानीय निकायकै अवस्था दोहोरिने समस्या देखिएको छ ।
सरकारले विसं २०७३ फागुन २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी स्थानीय निकाय भङ्ग गरेको थियो। त्यसै दिनदेखि ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका सञ्चालनमा आएको थियो। चैत पहिलो साता सबै स्थानीय तहमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत खटाउने भने पनि १५९ स्थानीय तह हालसम्म निमित्तको भरमा सञ्चालन भइरहेको छ।
मन्त्रालयका उपसचिव भरतकुमार शर्मा महानगरपालिकामा सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव एवम् गाउँपालिकामा अधिकृतस्तरका कार्यकारी अधिकृत खटाउने भने पनि कर्मचारीको अभावमा ११० नगरपालिकामा अधिकृतलाई र ४९ गाउँपालिकामा नायब सुब्बालाई निमित्तका रुपमा खटाइएको बताउँछन्। मन्त्रालयमा कर्मचारीको अभाव भएपछि यसै वर्ष अधिकृतबाट बढुवा भएका ९० जना उपसचिवलाई नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी दिइएको उनले बताए।
वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि गाउँ सभा र नगरसभाले सम्बन्धित गाउँपालिका एवम् नगरपालिकामा कति कर्मचारी चाहिन्छ भनी निर्णय गरेअनुसार कर्मचारी तय हुने मन्त्रालयले जनाएको छ।
निर्वाचित जनप्रतिनिधिलाई निर्णय गर्न सजिलो होस् भनी मन्त्रालयले कर्मचारी सङ्ख्यासम्बन्धी खाका तयार पार्न मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ। कार्यदलले वैशाख मसान्तसम्म खाका तयार पार्ने मन्त्रालयले जनाएको छ । खाका तयार भएपछि ७४४ वटै स्थानीय तहमा कार्यकारी अधिकृतलाई पठाइनेछ। रासस
Previous Articleचित्रे रन-बन, हिमालसँगै हाँस्छ मेरो मन (फोटो फिचर)
Next Article जनमोर्चाको प्रचारात्मक कार्यक्रम