बागलुङ, ३ बैशाख – नयाँ वर्षको अवसरमा गलकोटको पर्यटकिय घुम्टे लेकमा आयोजना गरिएको गुराँस उत्सव सम्पन्न भएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा प्रत्येक वर्ष गुराँस उत्सव आयोजना गरिदै आईएको छ । गुराँस फुलको संरक्षण र घुम्टे लेकमा पर्यटन पर्वदनको लागि विगत पाँच वर्षदेखि उत्सब मनाउन थालिईएको हो ।
घुम्टे लेकलाई गुराँसको पहाड घोषणा गर्न र बैशाख १ गतेलाई राष्ट्रिय गुराँस दिवस घोषणा गर्न केन्द्रले सरकारसँग माग गर्दै आएको छ । धार्मिक ,प्राकितिक र जैविक दृष्टिकोणले महत्व पुर्ण घुम्टे लेकको पर्यटकिय विकास र प्रर्वद्वनको लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ । गुराँस उत्सवको अवसरमा केन्द्रले क्याम्प फायर, नौमति बाजा, सालैजो, झाम्रे लगाएतका सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो । धार्मिक दृष्टिकोणले परापुर्व कालदेखि नै पुजाआजाको लागि भक्तजन पुग्ने घुम्टेमा पछिल्ला पाँच वर्षमा पर्यटन विकासको लागि उल्लेखीय कामहरु अघि बढेका छन् । यहाँ रहेका सिद्ध र भैरबको पुजा गर्न हजारौ भक्तजन घुम्टे पुग्ने गरेका छन् ।
केहि वर्ष अघिसम्म चण्डि पुर्णिमामा मात्रै पुजाआज हुने गरेपनि अहिले भने वर्षभरी नै पुजाको ब्यबस्था मिलाइएको छ । साउन र माघ महिना बाहेक अन्य समयमा उत्तम तिथीमा पुजा गर्ने ब्यबस्था गरिएको पुजारी तथा गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झँकबहादुर बस्नेतले जानकारी दिए । १० हजार ९ सय ९३ फिटको उचाईमा अवस्थित सिद्ध भैरबको पुजा गर्नको लागि बागलुङ जिल्लासंगै छिमेकी जिल्लाहरुबाट समेत भक्तजन आउने गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
घुम्टेलाई धार्मिक पर्यटनको गन्तब्य बनाउनको लागि पर्यटन केन्द्र मार्फत करिब १ करोड रकम बराबरको पुर्वाधार निर्माण गरिएको छ । घुम्टे लेकसम्म पुग्नको लागि पर्यटकिय पदमार्ग निर्माण गरिएको छ । मन्दिरदेखि केहि तलबाट स्लेट ढुङगाको सिडी र रेलिङ लगाएर पदमार्ग निर्माण गरिएको छ ।
पदमार्ग निर्माणसंगै अब मन्दिर बनाउने योजना रहेको केन्द्रका बरिष्ठ उपाध्यक्ष राज थापाले बताए । घुम्टेमा मल्मका बसन्त केसीको १ लाख २० हजारको सहयोगमा सेन्सर सोलार लाईट जडान गरिएको छ । घुम्टेको पर्यटन प्रर्वद्वनको लागि गुरुयोजना बनाएर जिल्लाकै उत्कृष्ट गन्तब्य बनाईने लक्ष्य छ ।
Previous Articleमाओवादी केन्द्रको नगरभेला सकियो
Next Article गाउँ विकासका लागि करोड सहयोग