अर्घेलो थापा
काठमाडौं, १ बैशाख – नेपाली चलचित्रमा पछिल्लो समयमा केही आशालाग्दा फिल्मकर्मी देखिएका छन् । तिनै सिनेकर्मीले नेपाली समाजमा देखापर्ने आफ्ना मौलिक कथा पनि खोतल्न थालेका छन् । नयाँ कथासँगै समाजमा देखिएका सूक्ष्म आयामलाई पनि चलचित्रको पर्दामा देखिन थालेको छ । ‘लभ लभ लभ’ पनि नयाँ परिवेशमा निर्माण गर्न खोजिएको मौलिक चलचित्र हो ।
चलचित्र ‘लभ लभ लभ’ युवापुस्तामा हुने सामान्य प्रेमकथा मात्रै हो भन्दा हुन्छ । समृद्धि (स्वस्तिमा खड्का) र सुरज (सुरज पाण्डे) बच्चैदेखिका साथी हुन् । सुरजले सुन्दर समृद्धिलाई सानैदेखि माया गर्छ । तर हेर्दामा ऊ न त्यति राम्रो छ, न उससँग कुनै खास गुण छ । त्यसैले उसले आफूले माया गर्ने मान्छेलाई पनि माया गर्छु भन्न सकेको हुँदैन ।
जब समृद्धि पढ्नका लागि विदेश जाने पक्का हुन्छ अनि बल्ल सुरजले उनलाई धेरै नै माया गर्ने प्रस्ताव राख्छ । तर समृद्धिले प्रस्ट जवाफ दिन्नन् । त्यसपछि समृद्धिलाई आफ्नी बनाउन सुरजले के के गर्छ अनि समृद्धि उसकी हुन्छिन् कि हुन्नन्, त्यो जान्नका लागि चलचित्र नै हेर्नुपर्ने हुन्छ ।
एक वाक्यमा भन्नुपर्दा चलचित्र राम्रो छ । युवापुस्ताको मन छुने कथा छ । तर प्रौढहरूका लागि चलचित्र औसत लाग्न सक्छ किनकि चलचित्र अहिलेको युवापुस्ताको कथामा आधारित छ ।
चलचित्रमा कास्ट एण्ड क्रु त्यति ठूलो छैन । कथा जोडिँदै जाँदा केही पात्र थपिँदै जान्छन्, ती पात्रहरू बीचैमा सकिन्छन् । कमै मात्र पात्रको दोहोरो उपस्थिति छ । सुरज र स्वस्तिमा भने प्रायः स्क्रीनबाट हट्दैनन् ।
निर्देशक दीपेन्द्र के खनालले चलचित्रमा साना र चोटिला विषयवस्तु मिसाएका छन् । पोखराको लेकसाइडमा घुमिरहेका पात्रलाई कथानककै माध्यमबाट गोरखाको मनकामना र कास्कीको पञ्चासे पनि पु¥याएका छन् । प्राकृतिक दृश्यहरू सुन्दर देखिन्छन् । पूरै हरियाली देखिन्छ फिल्ममा ।
फिल्मको स्टोरीटेलिङ सुन्दर लाग्छ । यो यति सामान्य लाग्छ कि युवालाई यो मेरो आफ्नै कथा हो कि भन्ने लाग्छ । यो खनालको खुबी हो ।चलचित्रमा कलाकारको अभिनय राम्रो छ । आफ्नो पहिलो होम प्रोजेक्टको फिल्ममा अभिनय गरेका सुरज पाण्डेले ठीकै अभिनय गरेका छन् । उनले आफ्नो अभिनयलाई अझै निखार्नुपर्ने देखिन्छ ।
स्वस्तिमा खड्काको अभिनय भने राम्रो लाग्छ । उनलाई दिइएको भूमिका पनि पर्फेक्ट छ । फिल्ममा उनी मूडी केटीको भूमिकामा देखिएकी छिन् । फोटोजेनिक फेसले पनि उनलाई स्क्रिनमा क्युट देखाएको छ ।
कथा कमजोर नभएपनि निर्देशकले फिल्ममा पात्रलाई संवादमा मात्र प्रयोग गर्नुको साटो हाउभाउलाई समेत स्पेस दिएको भए फिल्म अझै उत्कृष्ट बन्ने थियो । फिल्मका कतिपय दृश्यमा यसो गर्ने प्रशस्त सम्भावना थियो ।
चलचित्रमा गीत संगीत पक्ष सुन्दर लाग्छ । पार्श्व संगीत पनि मन छुनेखालको छ । संगीतले चलचित्रमा देखिने सामान्य कमजोरीलाई पनि ओझेलमा पारेको छ । बरू छोटो फिल्ममा गीतको उपस्थिति धेरै भएको हो कि भन्ने आभास हुन्छ ।
सिनेमाटोग्राफर निरज कँडेलले फिल्मलाई आकर्षक बनाएका छन् । सामान्य शटलाई उनले प्रभावकारी रूपमा चलचित्रमा उतारेका छन् । लाइटिङ इफेक्ट पनि राम्रै छ । नामबाटै थाहा हुन्छ, यो लभ स्टोरी हो । चलचित्रमा एकरत्ति भल्गारिटी छैन ।
जसको कारणले उसले आफ्नी आमा गुमाउँछ, उसैको कारणले आफूलाई गुमाउनुपर्दा पनि पात्र खुशी छ । अहिलेको बदलिँदो पुस्तामा यस्तो स्वादिलो प्रेमकथा खनालले पस्केकै हुन् ।
फिल्मको क्लाइमेक्स, केही पात्रको औसत अभिनय, कतै दिक्कलाग्दो गरी ढिलो बगेको कथानकका बीचमा पनि चलचित्र सुन्दर बनेको छ । सबैको मन छुने प्रेमकथा नहुन सक्छ यो । तर एउटा पुस्तालाई भने पक्कै प्यारो लाग्न सक्छ । फिल्मले तपार्इंलाई बोर भने बनाउने छैन ।