बागलुङ, ३१ चैत-यतिवेला हरेकले आफ्नो छलफलमा गाउँ र नगरका सम्भावित उम्मेदवारहरूको नाम सुनाउन थालेका छन् । कोही–कोही त यो चुनावमा फलानो उठ्नुको विकल्प नभएको जिकिर गर्न थालेका छन । दलहरूले उम्मेदवार छनोटको विधि र समयसिमा निर्धारित गरेपछि कैयौं ब्यक्तिले उम्मेदवार बन्न राजनीतिक सक्रियता देखाउन थालेका छन । लोकतन्त्रमा कानुनले तोकेको र योग्यताभित्र रहेका सबैले प्रतिस्पर्धामा उम्मेदवार बन्ने चाहना राख्न र टिकटका निम्ति सक्रिय हुन्छन् । तर चुनावमा उठ्ने र समाज बदल्छु भन्ने आकांक्षा देखाएकाहरूले यतिका वर्षसम्म समाजका निम्ति के गरे भनेर समीक्षा गुर्नपर्छ र तिनको पृष्ठभूमि खोतल्नु पर्दछ । मुलुक, समाज र छिमेकमा आईपरेका समस्या र संकटका बेला उम्मेदवारका आकांक्षीहरु बोलेका थिए कि थिएनन्, इमान र नैतिकताको परीक्षाको घडीमा तिनीहरू कुन कित्तामा उभिएका थिए भनेर खोजी गर्नुपर्ने यतिवेला नै हो । शक्तिको अनेकन स्वरुपमा रहेका धेरैलाई राजनीति गर्ने रहर छ । सबैभन्दा अधिक वितृष्णा राजनीति र दलहरूप्रति नै छ । तर पनि निर्वाचनमा सम्भावित उम्मेदवारको महिमा गाउने, आफू कुनै उम्मेदवारको निकट रहेको वा कुनै मान्छेलाई चुनावको मुखमा बोकी हिँड्नसके त्यसको प्रतिफल चाख्न पाइएला भन्ने ब्यक्ति सबैतिर हावी छन् ।
शान्ति प्रक्रियापछिका दस वर्षमा मुलुकमा सामु कति धेरै संकट आइपरे । कति धेरै पेचिला विषय हाम्रो समाजले झेल्नुर्पयो । कस्ता–कस्ता प्राकृतिक विपत्ति सामना गर्नुर्पयो । त्यस्ता संकट र अप्ठ्यारामा हामीले उम्मेदवार बनाउनुपर्छ भनेका वा उम्मेदवार हुन्छु भनेका व्यक्तिले कस्तो भूमिका खेलेका थिए ? तिनीहरू कुनै गुट र उपगुटका सारथी भएका थिए कि सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत गरेका थिए ? तिनीहरू कुनै नेताको फेरो समातेर राजनीतिको वैतरणी तर्ने सपनामा मात्रै व्यस्त थिए कि खुला र आलोचनात्मक सोचका साथ छलफल र बहसका चौतारीहरूमा देखिएका थिए ? विपत्तिको समयमा तिनीहरू सक्रिय भएका थिए कि आफ्नो र आफ्नाहरूको मात्रै सुरक्षाका निम्ति दौडधुप गरेका थिए ? राष्ट्रिय मुद्दामा नबोल्ने, स्थानीय मुद्दामा कुनै गुटको फेरो समात्ने मान्छे हाम्रो उम्मेदवार हुनसक्छन् कि सक्दैनन् ? सवैले गम्भीरतापूर्वक सोच्नु पर्दछ । बोल्यो भने विवादमा परिन्छ भनेर वा नबोली बस्यो भने चोखो भइन्छ भनेर वा घुमाउरो भाषामा यता पनि ठिक्क उता पनि ठिक्क हुनेगरी बोलेर आफ्नो दायित्व पुरा गरेको सम्झिनेहरूले गतिशील समाजको सपना पुरा गर्न सक्दैनन् । उम्मेदवार बन्छु भनेर खुट्टा उचालेकाहरूले यतिका वर्षसम्म समाजका निम्ति के–के गरे ? कस्ता–कस्ता जोखिमहरू उठाए ? कस्ता–कस्ता दायित्वहरू पुरा गरे र अहिले आफुलाई उम्मेदवारको दावी गरीरहेका छन मतदाताले पनि गम्भीर भएर सोच्नु पर्दछ ।
राजनीतिलाई गाली गरिराख्ने तर आचरण र नैतिकताको कसीमा उत्तीर्णसम्म हुन नसक्ने मान्छेलाई मेरो वा हाम्रो उम्मेदवार भनिराख्ने हो भने हाम्रो समाज कहिल्यै पनि सुध्रिन सक्दैन । वास्तवमा यतिवेला मूलधारका दलहरूको झण्डा र चुनाव चिन्हमात्रै फरक देखिएको छ । तिनीहरू आफ्नो स्वार्थ मिल्ने मुद्दामा सधंै मिल्छन, दुख पाउने सधैं पिँधका जनताले हो । दलका विगतका गतिविधी हेर्ने हो भने मूलधारका दलको नेतृत्वमाथि प्रश्नहरू धेरै गर्न सकिन्छ । तर तत्काल उनीहरूको विकल्प पनि हाम्रोअघि छैन । तर यतिवेला बिग्रे–भत्केको राजनीति सुधार्ने साँचो आममतदाताको हातमा छ । कसैलाई खुसी पार्न वा कसैको नजिक हुन फलानो उम्मेदवार बन्नुपर्छ भन्दै नभनौं, भन्नै परे पनि सबै प्रश्नको उत्तर आउनेगरी उनीहरुमा समाज बदल्ने खुबी छ भनेर पुष्टि गर्न सकौं ।
Previous Article‘चुनावमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्छ’
Next Article युवापुस्ताको मन छुने कथा ‘लभ लभ लभ’