पर्वत, २९ चैत – आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नर्गन, विद्यालयमा आमसभा नराख्न तथा मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
जिल्लामा क्रियाशील नागरिक संगठनहरु जिल्ला नागरिक समाज सञ्जाल, पर्वत बार इकाई, गैसस महासंघ, इन्सेक, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वत, नेपाल पत्रकार महासंघ, नेपाल अपाङ्ग उत्थान समाज पर्वत, राष्ट्रिय मतदाता अधिकार मञ्च पर्वत र फेकोफन पर्वतले संयुक्त रुपमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा लामो समयदेखि स्थानीय जनप्रतिनिधिको अभावमा खल्लो महशुस हुँदै गएको लोकतन्त्रलाई जनमैत्री, समृद्ध तथा सबल बनाउन हुन लागिरहेको निर्वाचनमा बालबालिका तथा विद्यालय शान्ति क्षेत्र घोषणा गरी ‘‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका– २०६८’’ जारी गरिसकेको सन्दर्भमा कुनै पनि दलहरुले चुनावको प्रचारप्रसारमा बालबालिकालाई प्रयोग नगर्न नपाउने उल्लेख गरिएको छ । आमसभा गर्न विद्यालय परिसरलाई प्रयोग गर्न सक्ने भएकाले निर्वाचन आचारसंसहिता २०७२ को परिच्छेद–२ अन्तर्गत उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालन गर्नुपर्ने आचरणमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने सामान्य आचरणको (ङ) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनी किटान गरिएबमोजिम सो दफाको कार्यान्वयनका लागि जिल्लामा रहेका सरोकारवाला राजनैतिक दलहरुलाई आग्रह गरिएको छ ।
यसैगरी मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन, विद्यालयका भित्ता वा पर्खालमा निर्वाचन सम्बन्धी पोष्टर नटाँस्न, भित्तेलेखन नगर्न, निर्वाचनका सन्दर्भमा विद्यालयको भौतिक संरचनामा पुगेको हानीनोक्शानी वा क्षतीको क्षतिपूर्ति सम्बन्धित निकायबाट गर्ने व्यवस्था मिलाउनका लागि गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको छ । पर्वत जिल्लामा ८ सय भन्दा बढी अपाङ्गता भएका मतदाताले निर्वाचनमा मताधिकार प्रयोग गर्ने भएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जिल्लामा क्रियाशील राजनैतिक दलहरुको संयुक्त बैठक राखेर ध्यानाकर्षण पत्रमा उल्लेख भएका कुराहरु लागू गर्न गराउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीले सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।