बागलुङ, २९ चैत – बागलुङमा आयोजित परम्परागत चैत्राष्टमी मेलाको प्रारम्भिक आय व्याय बिवरण सार्वजनिक गरिएको छ । मेलाका मुख्य आयोजक कालिका भगवति गुठी र मुल व्यवस्थापन समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको आम्दानी र खर्च सार्वजनिक गरेको हो । गत चैत्र १६ देखी २३ गते सम्म सञ्चालित मेलामा कुल १४ लाख ८४ हजार १ सय १० रुपैयाँ आम्दानी भएकोमा १९ लाख ८० हजार २ सय खर्च भएको मेलाका मूल संयोजक तथा कालिका भगवति गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । जसमा सबैभन्दा बढी लोक दोहोरी र अतिथी कलाकार व्यवस्थापनमा ४ लाख ६० हजार खर्च भएको छ । यसपछि भलिबलमा २ लाख २५ हजार, प्रचार प्रसारमा १ लाख ५० हजार, छपाइमा ८२ हजार, खाना खाजामा ६८ हजार खर्च भएको आयोजकले जनाएका छन् । मेला व्यवस्थापनका लागि आयोजक संस्थाहरुबाटै करिब ३ लाख ६० हजार प्रायोजक संस्थाबाट १ लाख ४५ हजार तथा अन्य १ लाख ५० हजार गरि कुल ६ लाख ५५ हजार रकम उठ्न बाँकी रहेको अध्यक्ष खड्काले जानकारी दिए । ९ दिनसम्म सञ्चालित मेलाका अवसरमा अन्तर गाविस कालिका कप भलिबल प्रतियोगिता, खुल्ला राष्ट्रिय लोक दोहोरी, चैत्राष्टमी कप अन्तर कलेज फुटबल, छेलो लगायतका प्रतियोगि तथा सांगीतिक कार्यक्रम गरिएको थियो ।