बागलुङ, २८ चैत – निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलको प्रचार अभियान र उमेदवार छनौटको क्रमले तीव्रता पाएको छ । यद्यपी आइतवारसम्म आधिकारिक रुपमा उमेदवारहरुको नामाबली भने बाहिर आएको छैन । उमेदवार छनौटमा पर्नका लागि वडा भेलाबाटै सिफारिस भएर आउनुपर्ने प्रावधानले जिल्लाका क्रियाशिल दलहरुले वडातहमै पुगेर भेला र छलफल गरिरहेका छन् । नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिकाको प्रमुख र उपप्रमुखको उमेदवारीका लागि केही चर्चित नेताहरुको नामाबली बाहिर आएको छ । तर वडा तहको भने नाम चर्चामा नभएपनि छलफलमा व्यस्त भैरहेका छन् । काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाको चुनावी अभियान अलि बढीनै देखिएको छ । ठूला दलमा वडा तहमै दर्जनबढीले वडा अध्यक्ष तथा सदस्यको चाहना राखेको पाइएको हो । काँग्रेस र एमालेमा यो क्रम अझै बढी छ । आकांक्षिको ठूलै लर्को लागेकोले नेताहरुलाई निर्णयमा पुग्न निकै कठिन भएको छ । काँग्रेस सभापति दिपेन्द्र थापाले जिल्ला दौडाहा गरेर फर्केपछि उमेदवारको अन्तिम तयारीमा जुटेको बताए । वडा अध्यक्ष देखि प्रमुख उपप्रमुख सम्मको उमेदवार टुंग्याउन क्षेत्रीय समितिलाई अधिकार दिएकोले काँग्रेस जिल्ला कार्यसमितिले क्षेत्रलाई छिटो उमेदवार छनौटका लागि दवाव दिइरहेको हो । क्षेत्रले गरेको सिफारिसलाई जिल्लाले अनुमोदन गर्नेछ । विवाद आएको खण्डमा जिल्लाले पनि समन्वयन गर्ने बताइएको छ । एमाले र राष्ट्रिय जनमोर्चाको यलायन्सको संभावना बढी भएकोले काँग्रेसीजनमा माओवादी केन्द्रसँग एलायन्स गर्नुपर्ने चर्चा पनि चलेको छ । चुनावी एकता भएमा कुन क्षेत्रमा पद दिने भन्ने यकिन नभएकोले जिल्ला समितिको बेठक समेत बसिरहेको हो । एमालेमा पनि संभावना भएका स्थानमा लर्को लागेको छ भने असंभव जस्तो देखिएको स्थानमा न्युन आकांक्षि छन् । ‘लामो समयपछि निर्वाचन हुन लागेको र ठूलो पार्टी भएकोले चाहना राख्ने धेरै हुनु स्वभाविक हो’ एमाले अध्यक्ष इन्द्रलाल सापकोटाले भने, ‘तर हामीले मिलाएर लैजाने धेरै आधारहरु बनाएका छौं ।’ वडातहबाटै छलफल र भेलाबाट आकांक्षिको नाम सिफारिस गरेर ल्याउन लगाएकोले चैतको ३० गते सम्म उमेदवारी आउने उनले बताए । सबै वडा अध्यक्ष र सदस्यको उमेदवारी जिल्ला कमिटिले टुंगो लगाउने उनले बताए । नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको हकमा भने प्रदेश कमिटिले टुंगो लगाउने एमालेले विधि बनाएको छ । बढी प्रतिष्ठाको रुपमा हेरिएको बागलुङ नगरपालिकामा एमालेका कार्यकर्ताले मेयर देखि वडा तहमा पनि दर्जनबढीले आकांक्षा देखाइरहेका छन् । केही वडाले आएका सबै नाम सिफारिस गरेको चर्चा भएपनि त्यो आधिकारिक नभएको उनले दावी गरे । माओवादी केन्द्रको चुनावी अभियान पनि अहिले गाउँगाउँमा पुगेको छ । सबै नगर र गाउँका वडा भेलाहरु सकिएकोले नगर र गाउँभेलाको योजना बनाइरहेको जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले बताए । वडा अध्यक्ष र सदस्यको वडा समितिले सिफारिस गर्ने, गाउँ वा नगरले निर्णय गर्ने र जिल्लालाई अनुमोदनका लागि पठाउने नीति रहेको उनले बताए । त्यस्तै नगर र गाउँ प्रमुखको सिफारिस सम्बन्धित गाउँ र नगरलेनै गर्ने र निर्णय जिल्ला कमिटिले गर्ने तथा अनुमोदनका लागि प्रदेश कमिटिमा पठाउने पनि उनले बताए । निर्णय गर्ने स्थानको व्यक्तिनै उमेदवार रहेको खण्डमा निर्णय प्रकृयामा उसलाई बाहिर राखिने माओवादीले बतायो । काँग्रेस र एमालेमा जस्तो आकांक्षि धेरै नभएको उनले बताए । राष्ट्रिय जनमोर्चाले भने नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाको प्रम्ख र उपप्रमुखको ३/३ जनाको दरले केन्द्रीय कमिटिमा सिफारिस गरिसकेको अध्यक्ष अमर थापाले बताए । ‘हामीले केन्द्रमा पठाइसकेका छौं, केहीदिनमै निर्णय भएर आएपछि सार्वजनिक गर्छौ’ थापाले भने, ‘वडा तहको भने जिल्लाले निर्णय गर्ने भएकाले अझै भेला चलिरहेका छन् ।’ चैत मसान्त सम्म दुवै तहको उमेदवारको नामाबली आउने उनले बताए । नगर र गाउँप्रमुखमा कसको नाम सिफारिस गरिएको छ भन्ने उनले खुलाउन चाहेनन् ।