काठमाडौं, २८ चैत -सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी संसदमा दर्ता भएको विधेयकलाई फिर्ता लिएर नयाँ प्रस्ताव लैजाने निर्णय गरेको छ । गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले संसद्मा प्रस्तुत भएको विधेयक फिर्ता लिने र नयाँ संविधान संशोधन विधेयक दर्ता गर्ने काम एकैचोटि गर्ने तयारी भएको बताए । ‘त्यसैका लागि सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव आएको हो,’ उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचनमा सहमति जुटाउन संविधान संशोधनको प्रस्ताव सोमबारकै मन्त्रिपरिषद् बैठकमा लगेका हुन् । संविधान संशोधनलाई अन्तिम रूप दिन सोमबार बिहान सत्तारूढ दलहरूबीच छलफलसमेत भएको थियो ।
नागरिकता, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व, राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुखको भोटिङ अधिकार हटाउने र धारा २७४ मा संशोधन गर्ने गरी सरकारले सविधान संशोधनको मस्यौदा तयार पारेको छ ।
सीमांकनको विवादलाई संघीय आयोगको सुझावमा स्थानीय तहको निर्वाचनपछि गर्ने समझदारी मोर्चासँग भएको छ । आयोग गठन गर्दा समावेशी र समानुपातिक प्रतिनिधित्व हुने गरी बनाउनेसमेत सरकार र मोर्चाबीच समझदारी भएको छ ।
नयाँ संविधान संशोधन प्रस्ताव लैजाने मन्त्रिपरिषदको निर्णय
Previous Articleप्रमुख दलमा उम्मेदवार छनौट तीव्र
Next Article प्रकाश अर्याल प्रहरी महानिरिक्षकमा नियुक्त