बागलुङ, २८ चैत – जिल्ला प्रसाशन कार्यालय बागलुङ तथा जिल्लाका बिषयगत कार्यालयको आयोजनमा एकीकृत घुम्ती शिविर ढोरपाटन नगरपालिकाको बोबाङमा आइतबार सम्पन्न भएको छ ।
शिविरमा जिल्ला प्रशासन कार्यालयाट नागरिकता प्रदान, महिला तथा बालकालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचय पत्र प्रदान, स्वास्थ्य कार्यालयबाट निशुल्क स्वास्थ्य शिविर सहित कृषिकार्यालय तथा पशुसेवा कार्यालयसँग सम्बन्धित सेवा दिर्ईएको थियो । शिविरको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले दुर्गम गाउँका नागरिकलाई गाउँकै पायक पर्ने स्थानबाट सेवा दिने उदेश्यले शिविर आयोजना गरिएको बताए । उनले स्थानिय तहको व्यवहारिक कार्यान्वयनसँगै गाउँटोल नजिकैको कार्यालयबाट धेरै सेवा प्राप्त गर्न सकिने उल्लेख गरे ।
शिविरबाट ७१ जनालाई नागरिकता प्रदान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयमार्फत १ सय ९२ कृषकका ३ हजार ३ सय ५५ पशुको उपचार तथा औषधि प्रदान गरिएको छ । शिविरबाट ज्येष्ठ नागरिक तथा अपाङ्ता परिचय पत्र, निशुल्क स्वास्थ्य जाँच र उपचार तथा कृषि कार्यालय तर्फको सेवा पनि प्रवाह गरिएको थियो । संयुक्त टोलीमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, जिल्ला प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, जिल्ला कृषि विकास कार्यालयका प्रमुख डाक्टर गोपाल गिरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख सिता अधिकारी, राष्ट्रिय अनुसन्धान बिभागका डिएसपी सुसिल महत, एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा लगायतका अधिकारी सहभागी थिए ।
प्रमुख जिल्ला अधिकारी सहितको टोली तिब्बती शरणार्थीको परिचयपत्र नविकरणका लागि आइतबारै ढोरपाटन प्रश्थान गरेको छ । सोमबार ढोरपाटनमा बसोबास गर्दै आएका शरणार्थीको परिचयपत्र नविकरण गर्ने कार्यक्रम रहेको छ ।
Previous Articleदेश खारेजको माग र हिसिला
Next Article रद्रेपिपलकी प्रअले दिईन राजीनामा