बागलुङ, २८ चैत – जिल्ला निर्वाचन कार्यालय बागलुङले बिहीबारदेखि निर्वाचन तथा मतदाता शिक्षा स्वयमसेवकहरुका लागि दुई दिने तालिम आइतबारदेखी सुरु गरेको छ । २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको बारेमा समुदाय स्तरमा जनचेतना र सन्देश प्रवाह गराउन खटिने सामाजिक परिचालक, बालविकास केन्द्रका सहजकर्ता र स्वास्थ्य स्वयम्सेविकाहरुका लागि तालीम सुरु गरिएको हो । तालिमको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले उद्घाटन गरेका थिए । उद्घाटन पछि बोल्दै जिशिअ मिश्रले नयाँ संरचना र पद्धतिमा हुन लागेको निर्वाचन धेरैका लागि कौतुहल र द्धिविधाको बिषय भएकाले नागरिकलाई प्रभावकारी हिसावले हरेक घर दैलोमा सूसुचित गर्न सहभागीलाई आग्रह गरेका थिए ।
तिन चरणमा दुई दिनका दरले १ सय ९१ जनालाई तालीम दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तालिम लिएपछि उनिहरुले मतदाताको घरघरमा पुगेर स्थानीय तह निर्वाचनको महत्व, मतदान गर्ने तरिका, मतदाताको भुमिका, आचार संहिता, मतपत्र बदर हुन नदिन अपनाउनुपर्ने साबधानीको विषयमा जानकारी गराउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । पहिलो चरणमा बागलुङ नगरपालिकाका क्षेत्रका लागि आइतवारदेखी दुई दिने तालिम सञ्चालन गरिएको र आगामी चैत्र २८ र २९ गते तथा २ र ३ गते बाँकी नगरपालिका र गाउँपालिकाका मतदाता शिक्षा कार्यकर्ताका लागि तालिम सञ्चालन गरिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले निर्वाचनलाई निश्पक्ष र बदररहित बनाउन मतदाता शिक्षा कार्यकर्ताको भुमिका महत्वपूर्ण हुने भएकाले आफ्नो भुमिका इमान्दारि पूर्वक निर्वाह गर्न आग्रह गरेका थिए । तालिमको जिल्ला निर्वाचन अधिकारी शर्मा, क्षत्रीय प्रशिक्षक सरितादेवी शर्मा, गिता श्रीस लगायतले सहजिकरण गर्ने जनाइएको छ । १ सय ३ वटा मतदान स्थल कायम गरिएको बागलुङमा १ हजार मतदाता बराबर १ जना मतदाता शिक्षा स्वंयमसेवक खटाइनेछ । ८५ वटा वडा रहेको बागलुङमा आगामी स्थानीय तह निर्वाचनबाट ४ सय ४५ जना जनप्रतिनिधि निर्वाचीत हुनेछन् । बागलुङमा चार नगरपालिका र ६ गाउँपालिका छन् । जसमा ८५ वटा वार्ड छन् । एउटा वार्डमा ५ उम्मेदवार उठाउदा ४ सय २५ जना, प्रमुख र उपप्रमुख २० गर्दा ४ सय ४५ जना प्रतिनिधि चयन हुने कार्यालयले जनाएको छ ।
बागलुङमा ७३ हजार ९ सय ६३ पुरुष र ८२ हजार ८ सय ३९ महिला गरि कुल १ लाख ५६ हजार ८ सय २ मतदाता निर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मतदान गर्न पाउने गरि अन्तिम मतदाता नामावली आएको छ ।