बागलुङ, २६ चैत – नेकपा एमालेले आगामी निर्वाचनलाई केन्द्रीत गरी काठेखोला गाउँपालिका बागलुङमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
शुक्रवार सम्पन्न एमाले काठेखोला गाउँपालिका संगठन समितिको पूर्ण वैठकले संगठन कमिटिका संयोजक डिल्लीराज गौतमको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।
निर्वाचन परिचालन कमिटिमा गाउँपालिका संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिल्ला सदस्य तथा सल्लाहकारहरु, प्रदेश स्तरीय विभागका सबै सदस्यहरु, वडा संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरु, जनसंगठनका जिल्ला स्तरका सबै पदाधिकारीहरु, वडा स्तरका जनसंगठनका पदाधिकारीहरु लगायत रहेका छन् ।
यस्तै निर्वाचन परिचालन कमिटिको सचिवालयमा गाउँ संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरु सहित ५० सदस्यीय रहेको नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटिका सहसंयोजक अञ्जु जि.सी. (हुमा) ले जानकारी दिइन । यस्तै वैठकले काठेखोला गाउँपालिका ६ सुल्डाडामा संगठन कमिटिको कार्यालय र वडा नं. २ अक्षेतेमा निर्वाचन परिचालन कमिटिको कार्यालय राख्ने निर्णय गरेको छ । संगठन कमिटीको सम्पर्क कार्यालय सचिवमा जिल्ला सदस्य प्रेम लामिछाने र निर्वाचन परिचालन सम्पर्क कार्यालयमा जिल्ला सदस्य श्याम पुनलाई चयन गरिएको छ ।
वैठकले निर्वाचन परिचालन, उमेदवार छनोट लगायतका विषयमा छलफल गरी कार्ययोजना निर्माण गरेको जिल्ला सदस्य अम्मरबहादुर थापाले जानकारी दिए । वैठकका निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले एमालेलाई काठेखोला गाउँपालिकामा पहिलो शक्तिका रुपमा स्थापित गर्न सम्पूर्ण नेता कार्यकर्तालाई जनताकाबीचमा पुग्न आग्रह गरे ।
एमालेले जनताको हितमा गरेका कामहरुको बारेमा जानकारी गराउन सकेमा मात्रै जनताले साथ दिने भएकाले सम्पूर्ण पार्टी पंक्ति परिचालन गर्न उनले कमिटिलाई निर्देशन दिए । कार्यक्रममा एमाले केन्द्रीय उर्जा विभागका सदस्य हिराबहादुर केसीले निर्वाचन परिचालन सम्बन्धमा मन्तव्य राखेका थिए ।
सुल्डाडामा एमालेको सम्पर्क कार्यालय
नेकपा एमालेले काठेखोला गाउँपालिका संगठन कमिटिको सम्पर्क कार्यालय वडा नं. ६ सुल्डाडामा स्थापना गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले कार्यालयको उद्घाटन गरेकी थिइन ।
काठेखोला गाउँपालिका संगठन कमिटिको निर्णय अनुसार सुल्डाडामा संगठन कमिटिको सम्पर्क कार्यालय र वडा नं. २ अक्षेतेमा निर्वाचन परिचालन कमिटिको सम्पर्क कार्यालय स्थापना गरिएको संयोजक डिल्लीराज गौतमले बताए ।
Previous Articleप्रेस सेन्टर ताराखोलाको अध्यक्षमा निउरे
Next Article यी हुन ढोरपाटनमा मेयरका आकांक्षी